मौसम परिवर्तनसँगै नेपालगन्ज विमानस्थल उडान प्रभावित हुन थालेको छ। साँझबिहान हुस्सु लाग्दा दैनिक उडान प्रभावित हुने गरेको हो।
बिहान लाग्ने हुस्सु र कुहिरोले उडान समयभन्दा केही ढिला हुने गरेको छ। समयमै उडान नहुँदा यात्रुहरुले सास्ती भाेगिरहेका छन्। नेपालगन्जबाट पहाडी जिल्लाहरू हुम्ला, डोल्पा, जुम्ला, रुकुम पश्चिमलगायत सुदूरपश्चिमका जिल्ला र काठमाडौं उडान हुँदै आएको छ। समयमै उडान नहुँदा आफूहरु चिसो हावामा बस्न बाध्य भएको गुनासाे यात्रुहरु गर्छन्।
‘बिहानै उडान हुन्छ भनेर एयरपोर्ट आएको हुँ, अहिलेसम्म उडान भएको छैन,’ जुम्ला जान लागेका हर्कसिंह बुढाले भने, ‘हुस्सु र कुहिरोले समयमै उडान भएन।’ आफूसँगै अन्य यात्रुहरु पनि विमानस्थलभित्र चिसोमा बस्न बाध्य भएको उनी बताउँछन्।
‘हुस्सु र कुहिरो फाट्ला (हट्ला) भनेको हटेन,’ हुम्लाका लागि आएका देउभान लामाले भने। उनीहरुको उडान घाम लागेपछि मात्र भयो। हुस्सु र कुहिरो लाग्नु प्राकृतिक कारण भए पनि त्यसबाट न्यानो हुन सरकारले विमानस्थलमा पहल गर्नुपर्ने यात्रुहरु बताउँछन्। उडान समयमै नहुँदा गन्तव्यमा पुग्न हतार रहेका यात्रुहरुमा उडान हुने नहुने भन्ने अन्योलता छाउने गरेका छन्। ‘कतिबेला घाम लाग्छ र उडान हुन्छ थाहा नै हुँदैन,’ मुगुका नरेन्द्र मल्लले भने।
पछिल्लो हप्ता दिनयतादेखि हुस्सु र कुहिरोले उडानमा समस्या ल्याएको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ। ‘बिहान हुस्सु र कुहिरोले उडान प्रभावित गर्छ,’ नेपालगन्ज विमानस्थल कार्यालय प्रमुख सुभाष झाले भने, ‘तर घाम लागेपछि हुस्सु र कुहिरो हटिहाल्छ र उडान पुनः नियमित हुन्छ।’
हुस्सु र कुहिरोका कारण उडान स्थगित भने गर्नु नपरेको उनको भनाइ छ। ‘हुस्सु र कुहिरोका कारण उडान स्थगित गरेका छैनौं,’ उनी भन्छन्, ‘बरु केही समय ढिला भएको छ।’ घाम लाग्दा भिजिविलिटी १६ सय मिटरभन्दा पुग्ने हुँदा उडान नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ।
बिहानको समसमै भिजिविलिटी ह्वात्तै घट्ने गरेको छ। हाल नेपालगन्ज विमानस्थलबाट दैनिक ३० भन्दा बढी उडान हुँदै आएका छन्।
प्रकाशित: ९ मंसिर २०७८ १२:३२ बिहीबार