१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

३८ घण्टापछि पूर्वमा विद्युत आपूर्ति सुचारु

पूर्वमा ठूलो बाढी आउँदा विद्युत आपूर्ति बन्द हुँदै आएकोमा मंगलबार रातिदेखि अवरुद्ध विद्युत ३८ घण्टापछि सुचारु भएको छ। बेमौसमी वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन बिहीबार बिहान १०ः३० बजेदेखि सुचारु भएको हो।

मंगलबार राति ८ः३० बजेबाट बन्द भएको दुहबी सबस्टेसन पानी फालेर सञ्चालनमा ल्याएको प्रमुख राजेश रेग्मीले बताए। निरन्तर रुपमा सवस्टेशनभित्र पसेको पानी फालेर चार्ज गरेपछि विद्युत आपूर्ति सुचारु भएको उनले बताए।  

दुहवी सवस्टेसन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको थियो। ‘प्रायः धेरैजसो स्थानको विद्युत सुचारु भइ सकेको छ, केही समस्या भएको स्थानमा युद्धस्तरमा बनाउने काम भइरहेको छ,’ प्रमुख रेग्मीले नागरिकसँग बिहीबार साँझ भने। दुहवी सवस्टेसनमा रहेका ४ वटा पावर ट्रान्सर्फमरको क्षमता २१९ एमभिए छ।

त्यसो त पूर्वमा जहिले जहिले ठूलो बाढी आउने गर्छ, विद्युत आपूर्ति बन्द हुँदै आएको छ। २०७४ साउन २७ गते आएको बाढीले दुहवी सवस्टेशन डुबान हुँदा पाँच दिनसम्म पूर्वमा विद्युत आपूर्ति बन्द भएको थियो।

त्यस्तै, २०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोसी गाउँपालिकाका चारवटा बस्ती डुब्दा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए। त्यो बेला पनि केही दिनसम्म विद्युत आपूर्ति बन्द हुन पुगेको थियो। त्यतिखेर तीन महिनाको निरन्तर प्रयासपछि कोशीलाई पुरानै धारमा फर्काइएको थियो। तत्कालीन समयमा पूर्वका मेची र कोशी अञ्चलको सम्पर्क देशका अरु भागसँग पूरै टुटेको थियो।

प्रकाशित: ४ कार्तिक २०७८ १३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App