६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

कोरोना महामारीपछिको करिब डेढ वर्ष निरन्तर बढेको रेमिटेन्स चालु आर्थिक वर्षको पहिलो महिनामा भने घटेको तथ्यांक सार्वजनिक भएको छ।

महामारीको बेला वैदेशिक रोजगारीमा जान नपाउँदाको असर बल्ल देखिन थालेको विज्ञहरूले बताएका छन्। यद्यपि एक महिनाको रिपोर्टकै आधारमा रेमिटेन्स घट्न थाल्यो भनिहाल्न नमिल्ने विज्ञहरूको मत छ। कोरोना महामारी सुरु भएपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा निकै घटेको छ।

महामारीका कारण बन्द भएका मलेसिया, कोरिया लगायत गन्तव्यमा रोजगारी अझै सुरु भएका छैनन्। यस अवधिमा साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स लगायत मुलुकमा केही नेपाली रोजगारीका लागि गए पनि त्यो संख्या निकै थोरै छ। नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह २३ प्रतिशतले बढेको थियो। चालु वर्षको पहिलो महिनामा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिनेको संख्या वृद्धि भई १३ हजार ८ सय पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले बढेर ११ हजार ६ सय २८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८० प्रतिशतले घटेको थियो। वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएपछि विस्तारै रेमिटेन्स आप्रवाह वृद्धि हुने अपेक्षा गरिएको छ।

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई ८५ अर्ब २१ करोड रूपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो। यस्तै, समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा करिब २२ प्रतिशतले घटेको थियो।

शोधनान्तर ३८ अर्बले घाटामा

वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्समा गिरावट आएपछि चालु वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ३८ अर्ब रूपैयाँले घाटामा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा ५१ अर्ब ४६ करोड रूपैयाँले शोधनान्तर बचतमा थियो।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खाता पनि ४७ अर्ब ९० करोड रूपैयाँले घाटामा गएको छ।अघिल्लो वर्षको साउनमा चालु खाता २४ अर्ब ८९ करोड रूपैयाँले बचतमा थियो।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले बढेर एक खर्ब २९ अर्ब रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष साउन महिनामा व्यापार घाटा २२ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात करिब एक सय १६ प्रतिशतले बढेर २० अर्ब ७६ करोड रूपैयाँ पुगेको छ। वस्तु आयात ७५.७ प्रतिशतले बढेर एक खर्ब ५० अर्ब ७३ करोड रूपैयाँ पुगेको छ।

पुनर्कर्जा कार्यविधि संशोधन

यसैबीच, राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गरेको छ। संशोधित कार्यविधि अनुसार पुनर्कर्जाको सीमा र दायरा बढाइएको छ। संशोधित कार्यविधि अनुसार पुनर्कर्जाको सीमा दुई खर्ब १२ अर्ब ८८ करोड रूपैयाँ पुगेको छ। संशोधित कार्यविधि अनुसार विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाको लागि पुनर्कर्जा दिने व्यवस्था मिलाइएको छ।

पुनर्कर्जाको लागि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरू योग्य हुनेछन्। पुनर्कर्जाका लागि रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा जानेलाई प्रवाह भएको कर्जा, कोभिड–१९ बाट अति प्रभावित बैंकले तोकेका क्षेत्रमा प्रदान गरिएका कर्जा तोकिएको छ।

त्यस्तै, दस मेगावाटभन्दा साना जलविद्युत् आयोजनामा प्रदान गरिएका कर्जा, सर्वसाधारणमा इन्टरनेट पहुँच पुर्‍याउने गरी दुर्गम स्थानमा सेवा पुर्‍याउने संस्थामा प्रवाह भएका कर्जालाई समेटिएको छ।

साथै जलविद्युत् परियोजना, कृषि, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, उत्पादनमूलक, पर्यटन, निर्माण, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन, हवाई, सार्वजानिक यातायात, औषधि लगायतका उद्योगमा प्रवाह भएका कर्जा पनि समेटिने उल्लेख छ। जसका लागि लघु, घरेलु तथा साना उद्यमको लागि ब्याजदर ५, विशेष पुनर्कर्जाको ३ र साधारण पुनर्कर्जाको ५ प्रतिशत ब्याजदर तोकिएको छ। 

प्रकाशित: ८ आश्विन २०७८ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App