काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले तीनकुनेस्थित वाग्मती नदीमा कमसल आर्च ब्रिज निर्माण गर्ने ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनलाई करिब ६ करोड रूपैयाँ तत्कालै भुक्तानी गर्न निर्देशन दिएको छ। आयोजनाले बुधबार सार्वजनिक सूचना जारी गरी ठेकेदार कम्पनीलाई एक साताभित्रै कार्यालयमा उपस्थित भएर ठेकेदार कम्पनीले तिर्नुपर्ने जरिवाना तथा हिसाब फरफारक गर्न निर्देशन दिएको हो।
आयोजनाका प्रवक्ता तथा इन्जिनियर अशोक यादव ठेकेदार कम्पनीले आयोजनाको पत्र बारम्बार बेवास्ता गरेकाले सार्वजनिक सूचना जारी गरी हिसाब फरफारक गर्न निर्देशन दिएको बताउँछन्। ‘आयोजनाले यसअघि विभिन्न मितिमा हुलाकमार्फत पत्राचार गर्दा ठेगाना फेला नपरेको भनी पत्रहरू फिर्ता आउने गरेको भन्दै एक साताभित्रै ठेकेदार कम्पनीका आधिकारिक व्यक्तिलाई कम्पनीको छाप र परिचयपत्रसहित कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएका छौं,’ उनले भने, ‘एक साताभित्र नआएको खण्डमा प्रचलित ऐन, कानुन बमोजिम कारवाही गर्नेछौं।’
आयोजनाका अनुसार ठेकेदार कम्पनीले ५ करोड ८३ लाख ६४ हजार रूपैयाँ आयोजनालाई भुक्तानी गर्नुपर्ने देखिन्छ। ठेकेदार कम्पनीले हालसम्म आयोजनाबाट ६ करोड ६२ लाख रूपैयाँ लिएर खर्च गरेको छ। ठेकेदार कम्पनीले मोबिलाइजेसन बापत २ करोड ७६ लाख रूपैयाँ र हालसम्मको खर्चको भुक्तानी बापत ३ करोड ६२ लाख रूपैयाँ लिएको हो।
आयोजनाले अहिले ठेकेदार कम्पनीबाट ५ करोड ८३ लाख रूपैयाँ असुलउपर गर्न लागेको हो। आयोजनाका प्रमुख गुरु अधिकारीले ठेकेदार कम्पनीले वाग्मती नदीको दाँया र बाँया निर्माण गरिने दुईवटा आर्च बिज्रमध्ये एउटाको फाउन्डेसनको काम स्वीकार गरेको बताए। ‘पप्पुले निर्माण गरेको चारवटा फाउन्डेसनमध्ये एउटा मात्रै फाउन्डेसनको जग नियमपूर्वक रहेकोले स्वीकार गरेका छौं,’ उनले भने, ‘तीनवटा फाउन्डेसनको जग भत्काएर फेरि निर्माण गर्नुपर्ने देखिन्छ।’
काठमाडौंको तीनकुनेमा पुल बनाउन २०७१ पुस ४ मा आयोजना र ठेकेदार कम्पनीबीच ठेक्का सम्झौता भएको थियो। यो पुल डिजाइन एन्ड बिल्ड विधिबाट निर्माण गर्न लागिएको थियो। तर ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले सम्झौता बमोजिम काम नगरेको भन्दै आयोजनाले २०७६ मंसिर ३ गते ठेक्का तोडेको थियो। आयोजनाले ठेक्का तोडेपछि बारम्बार हिसाब फरफारक गर्न निर्देशन दिए पनि आलटाल गरेपछि एक साताभित्रै कार्यालयमा उपस्थित भएर फरफारक गर्न निर्देशन दिइएको हो।
संसद्को विकास तथा प्रविधि समितिले कम्पनी पप्पु कन्सट्रक्सनले पुलको फाउन्डेसन (जग) पाइल निर्माणमा रहेको गम्भीर त्रुटि सच्याउन भनेको थियो। ठेकेदार कम्पनीले बेवास्ता गरिरह्यो। संसद्को विकास तथा प्रविधि समितिको अध्ययन प्रतिवेदनले तीनकुने पुल निर्माणमा गम्भीर त्रुटि औंल्याएको थियो।
समितिले २०७६ जेठमै ठेकेदार कम्पनीलाई कारवाही गर्न सिफारिस गरेको थियो। ठेक्का सम्झौता अनुसार २९/५ मिटर गहिराइको पाइल निर्माण गर्ने गरी डिजाइन स्वीकृत भएको थियो। पप्पुले एउटा पाइल १६/५ मिटरको मात्र निर्माण गरेको अध्ययन प्रतिवेदनले देखाएको थियो।
त्यसैगरी, दुईवटा पाइल क्य्राक भएको प्राविधिक परीक्षणमा देखिएको थियो। पप्पुले तीनकुनेको आर्च पुल २०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने लक्ष्सहित जिम्मेवारी लिएको थियो। सम्झौता अनुसार वाग्मती नदीको उत्तर र दक्षिण दुवैतर्फ ८६ मिटर लामो तथा १७/२० चौडा पुल निर्माण गर्नुपर्ने थियो।
तर कम्पनीको ढिलासुस्ती समयमा काम भएन। कार्यालयले वर्षौंदेखि सडक तथा पुलका आयोजना अलपत्र पार्दै आएको कोस्टल–पप्पुलाई तीन वर्षसम्म कुनै पनि निकायको ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने गरी कालोसूचीमा राखेको छ। आयोजनाका प्रवक्ता यादवले पुल फेरि नयाँ शिराबाट निर्माण गर्न लागिएको बताए।
आयोजनाले पप्पुसँगको ठेक्का तोडेसँगै गत साउन दोस्रो साता सोही पुल निर्माणका लागि नयाँ टेन्डर आह्वान गरेको छ। आयोजनाको अनुसार अहिले नयाँ ठेक्को मूल्यांकनको काम जारी छ। अबको दुई वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम नगर्ने कोस्टल–पप्पु जेभीलाई चौतर्फी दबाबपछि कालोसूचीमा राखेर कारबाही गरिसकेको छ।
कार्यालयले कालोसूचीमा राखेर कारवाही गरेकामध्ये राजनीतिक पहुँचका हिसाबले सबैभन्दा शक्तिशाली कोस्टल–पप्पु जेभी हो। कोस्टल–पप्पुका सञ्चालक प्रतिनिधिसभाका सांसद हरिनारायण रौनियार हुन्। रौनियारको संसद पद अहिले निलम्बनमा परेको छ। पप्पुले दुई दर्जनभन्दा धेरै पुल अलपत्र पारेको छ।
प्रकाशित: ७ आश्विन २०७८ ०२:४८ बिहीबार