४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला बिहीबारदेखि

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी महासंघका पदाधिकारी ।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि सुरु हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।  

पाँच दिन चल्ने मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष रिता सिंहले महिलाहरूले उत्पादन गरेका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार, प्रवर्द्धन र बजारीकरण गर्न मेला कोशेढुंगा साबित हुने बताइन्।

महिला उद्यमीले सञ्चालन गरेका व्यवसाय विश्वव्यापी रूपमा निरन्तर बढिरहेका बेला नेपालमा पनि महिला उद्यमीले उद्यम, व्यवसायमार्फत घरायसी आम्दानी तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने भएकाले यो मेलालाई प्लेटफर्मको रूपमा हेर्न सकिने उनले बताइन्। महामारीको कारण महिला उद्यमीहरू बचत गर्न तथा व्यवसायलाई पुनर्स्थापना तथा पुनर्जीवन दिन संघर्षरत रहेको जनाउँदै उनले मेलाले उत्पादित वस्तुको बजारीकरणमा कायम चुनौतीको सामना गर्ने सघाउने दाबी गरेकी छन्।

‘महिला उद्यमीको हौसला बढाउन र व्यवसायलाई बढावा दिन मेला आयोजना गरिन लागेको हो। यसअघि चारपटक भौतिक रूपमा गरिएको आयोजनाबाट महिला उद्यमीको मनोबल बढेको छ,’ उनले भनिन्, ‘अहिलेको परिस्थितिमा आम नागरिकको दैनिकी डिजिटल बजारतर्फ आकर्षित भइरहेकोले मेला भर्चुअल रूपमा आयोजना गर्न लागिएको छ। मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देशका विभिन्न स्थानबाट उत्पादन भएका वस्तुको बजारीकरणमा बल पुग्नेछ।’

महासंघले स्थापनाकालदेखि नै महिलाको क्षमता विस्तार र आर्थिक सशक्तीकरणमा जोड दिँदै आएको जनाउँदै उनले महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवर्द्धन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सिर्जना गर्न लागेको बताएकी छन्।  मेलाबारे थप जानकारी दिँदै महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तसम्मको सम्पर्क तथा समन्वयको लागि मेला उत्कृष्ट अवसर हुने बताइन्।  

महिला उद्यमीले बजारीकरणमा धेरै चुनौतीको सामना गरिरहेको वर्तमान अवस्थामा ‘सहकार्य गरौं, सफल बनौं’ नारासहित अनलाइन बजारीकरणको लागि महिला उद्यमीलाई प्रोत्साहन गर्न समेत जोड पुग्ने विश्वास व्यक्त गरिन्।यस्तै, महासंघका प्रथम उपाध्यक्ष तथा एक्सपो फाेकल पर्सन निरु रायमाझी खत्रीले एक्सपोबारे सम्पूर्ण विवरण प्रस्तुत गरेकी थिइन्। साथै, महासंघका तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठले महिला जिल्ला उद्यमी  संघको भूमिकाबारे बताएकी थिइन्।

‘दुई दशकदेखि महिला उद्यमशीलतामा जोड दिँदै आएको महासंघले यसअधि महिलालाई आवश्यक तालिम, उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने काम गर्दै आए पनि यसपटक नयाँ अभ्यास अघि सारेको छ,’ उनले भनिन्, ‘भर्चुअल माध्यमले महिला उद्यमीका उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्रदान गर्नुका साथै सञ्जाल निर्माण तथा सीप तथा ज्ञानको आदानप्रदानमा समेत जोड दिनेछ।’  महासंघको उद्देश्य पैरवी, सञ्जाल विस्तार सूचनाको आदानप्रदान र क्षमता अभिवृद्घिको माध्यमबाट नेपालभर महिला उद्यमशीलताको विकासलाई जोड दिनु रहेको जनाउँदै उनले हरेक वर्ष आयोजना हुँदै आएका मेलाबाट महिला उद्यमशीलता राष्ट्रको आर्थिक विकास, गरिबी निवारण, सामाजिक तथा आर्थिक सबालका सबै क्षेत्रमा महिला सहभागिता र सशक्तीकरणमा समेत जोड पुग्दै आएको बताइन्।

नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै उनले सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्ध स्थापना र सञ्जालीकरण निर्माणमा समेत उद्यमीलाई थप प्रोत्साहन हुने बताइन्। चार वर्षदेखि महिला उद्यमी महासंघ नेपालले सफलतापूर्वक अन्तर्राष्ट्रिय महिला व्यापार मेला काठमाडौंमा सञ्चालन गर्दै आएको थियो। तर यसपटक कोभिड–१९ महामारीको कारणले भौतिक उपस्थितिमा व्यापार मेला आयोजना गर्न नसक्दा भर्चुअल वेबिनार तथा प्रदर्शनीहरू सञ्चालनको तयारी भएको हो। मेलाबाट उत्पादक र क्रेतालाई फराकिलो दायरामा ल्याई एउटै प्लेटर्फमबाट लाभ लिन सकिने महासंघले जनाएको छ। वुमेन इन बिजनेस ई–पोर्टलको माध्यमबाट भर्चुअल एक्सपोमा प्रदर्शित महिला उद्यमीका उत्पादनहरूको बजारीकरणलाई निरन्तरता दिइने बताइएको छ।  

मेलाको आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, एफसिए, द एसिया फाउन्डेसन, अन्तर्राष्ट्रिय श्रम संगठन लगायत संस्थाहरूले सहयोग गरेका छन्। मेला डल्फा सोलुसन्सको प्राविधिक सहयोगमा हुँदैछ। मेलाका विशेष आकर्षणका रूपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका स्टलहरू हुनेछन्। मेलामा ७९ स्टल रहनेछन् र तीमध्ये ५७ महिला उद्यमीका स्टल र २२ जिल्ला महिला उद्यमी संघलाई प्रतिनिधित्व गर्ने स्टल रहनेछन्। सधैं झैं दुईवटा स्टल अग्निपीडित र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीलाई सीप प्रदान गर्ने संस्थालाई प्रायोजन गरिएको छ।  

व्यापार मेलाले सामान्य रूपमा प्रभावशाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीलाई उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्रदान गर्न, सञ्जाल निर्माण गर्न तथा सीप तथा ज्ञानको आदानप्रदान गर्न तथा उत्पादनलाई बढावा दिन एक प्लेटफर्मको रूपमा काम गर्नेछ। मेला एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने बताइएको छ।

प्रकाशित: १५ भाद्र २०७८ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App