३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

भिमाद नगरपालिका–८, थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने गरी वर खोलमा निर्माणाधीन मोटरेबल पुल । तस्बिरः विनोद/नागरिक

बर्खामा बर्सेनिजसो सडक सञ्जालबाट विच्छेद हुने जरेवरका बासिन्दालाई योपटकको बर्खामा पक्की मोटरेबल पुलबाट खोला तर्न पाउने आस थियो। भिमाद नगरपालिका–८ थामडाँडा र शुक्लागण्डकी नगरपालिका–११ जरेवर जोड्ने वर खोलामा शिलान्यास गरेको पुल गत २२ असारमा सक्नुपर्ने सम्झौता हो। तर यो पुलको चारवटा पिलर ठडिनेबाहेक केही भएको छैन।

मुक्तिनाथ दीपज्योति ज्वाइन्ट भेन्चर, पोखराले ठेक्का लिएको यो पुलको चारवटा पिल्लर ठडिएका छन्। यतिबेला खोलामा उर्लेको भेलले काम समेत रोकिएको छ। हिउँदमा कुलो जस्तै भएर बग्ने बुडुवा खोला बर्खामा तर्न नसक्ने अवस्थामा हुन्छ। यहाँका स्थानीय घाँस–दाउरा र मेलापात गर्न निर्माणाधीन मोटरेबल पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा सकिएको छ। पुलको काम सक्न १५ प्रतिशतभन्दा बढी काम बाँकी रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेन ठकुरीले बताए। ‘यतिबेला पुल बनाएर सकिन्थ्यो होला, बाढी आएर काम रोकियो,’ उनले भने। पुल र सडकको बीचमा फिलिङ गर्ने काम बाँकी रहेको उनी बताउँछन्।

ऋषिङ गाउँपालिका–४, मधुवन र ५, रुपटार जोड्ने गरी ज्वाला खोलामा निर्माण थालिएको मोटरेबल पुलको पनि सम्पन्न गर्नुपर्ने मिति टरिसकेको छ। ठेक्का सम्झौता अनुसार गत २५ असारमा यो पुल ठडिएर मोटर गुड्न थाल्नुपर्ने हो। तर पुल तत्कालै सम्पन्न हुने छनक देखिन्न। ज्वाला खोला सहित शालिकराम करिडोरमा मात्र चारवटा पुल शिलान्यास गरिएको थियो। एउटा पनि सम्पन्न भएको छैन। रिस्ती खोलामा दुई पुल शिलान्यास भए। दुवै निर्माणाधीन अवस्थामा छ।

यी लगायत तनहुँमा गत आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारको लगानीमा मोटरेबल पुल शिलान्यासको लहर चलेको थियो। जिल्लाका १२ वटा नदी, खोलामा मोटरेबल पुल बनाउन थालिएको हो। तर तोकिएको तिथिभित्र एउटा पनि सम्पन्न नभएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। तीमध्ये ६ वटा पुल गत असारमा सकिनुपर्ने थियो। तीनवटा अबको असोजसम्म सम्पन्न गर्ने म्याद छ। बाँकी पुलको म्याद आगामी आर्थिक वर्षसम्म छ। असोजमा सकिनुपर्ने पुलको पनि गति उतिसारो अघि बढेको छैन।

कोरोना भाइरस संक्रमणका कारण पुल निर्माणमा ढिलाइ भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगाना बताउँछन्। उनी भन्छन्, ‘कोरोना कहरमा निर्माण कम्पनीले काम गर्न खोजेका हुन्। तर, लक्ष्य अुनसार सकेनन्।’ निर्माणाधीन सबै पुलको कार्य प्रगति सन्तोषजनक देखिएको उनले दाबी गरे। कोरोना कहरमा म्याद सकिएका निर्माणाधीन योजनालाई सरकारको निर्णय अनुसार अब ६ महिना म्याद थपिने उनले जानकारी दिए। निर्माणको म्याद सकिएका पुल ६ महिनाभित्र सम्पन्न हुने गरी काम गर्न निर्देशन दिने उनको भनाइ छ।

गत वर्ष शिलान्यास भएका दुईवटा पुलको काम भने अलि धेरै भएको छ। रिस्ती खोला सोती पसल र बुडुवा खोला लोकतान्त्रिक पुलको काम अन्तिम चरणमा पुगेको ढुंगानाले जानकारी दिए। ‘दुवै पुलको ९० प्रतिशत हाराहारीमा काम भएको छ। अब स्ल्याब राख्ने काम मात्र बाँकी हो,’ उनले भने। १२ पुललाई २९ करोड एक लाख २९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। यो आर्थिक वर्ष प्रदेश सरकारले ती पुललाई २६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। सबै पुल सम्पन्न गर्न ८९ करोड ६६ लाख ६१ हजार २ सय ४० रुपैयाँमा सम्झौता भएको हो।

चालु वर्षमा पनि गण्डकी प्रदेश सरकाले तनहुँका १४ मोटरेबल पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ। १४ पुललाई ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको पूर्वाधार विकास कार्यालय तनहुँले जानकारी दिएको छ। बजेट विनियोजन भए पनि पुलको उपयोगिता अध्ययन गरी माटो परीक्षण भएपछि डिपिआर तयार भई स्रोत सुनिश्चितता हुँदा बल्ल पुल निर्माणको काम थालनी हुने जनाइएको छ।

प्रकाशित: २७ श्रावण २०७८ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App