५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

इलाम नगरमा भाडा र शुल्क छुट

इलाम नगरपालिका कार्यालय । तस्बिर : नागरिक

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।  

नगरले जेठ महिनामा प्रतिधारा २० हजार लिटरसम्म खानेपानीको प्रयोग गरे शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । गत वैशाख र चैतको खानेपानी शुल्कमा लागेको जरिमाना पनि छुट गरिएको छ । नगरका सटर/पसल तथा भ्युटावरको जेठको भाडामा ४० प्रतिशत र वैशाखको जरिमाना शुल्क छुट गरिएको मेयर महेश बस्नेतले बताए । ‘कोरोना महामारीका कारण व्यवसाय ठप्प भएकाले नगरले व्यवसायीलाई सहुलियत दिएको हो,’ उनले भने, ‘नगरमा २० हजार लिटरभन्दा थोरै खानेपानी प्रयोग गर्ने उपभोक्ताको संख्या अधिक रहेकाले धेरैलाई सहुलियत दिन शुल्क छुट गरिएको हो ।’  

नगरले कोरोना परीक्षणका लागि जेठ मसान्तसम्ममा साढे ८ सय एन्टिजेन कीट खरिद गरेको छ । जेठ मसान्तसम्ममा ९ सय ६६ जनाको एन्टिजेन र १ सय ९१ जनाको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गरिएको नगरले जनाएको छ । नगरलाई दाताले समेत कीट उपलब्ध गराएका थिए । कोरोना महामारीको नियन्त्रण रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्साहन रकमसमेत प्रदान गरिँदैछ । मेयर बस्नेतले इलाम अस्पतालमा सामग्री, उपकरण, जनशक्ति थपिएको र चिकित्सक/स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरिरहेको बताए ।  

नगरले होम आइसोलेसनमा बसेका गर्भवती, ६० वर्षभन्दा माथिका तथा दीर्घरोगीलाई आयुर्वेदिक औषधि र परीक्षण कीटको सेवा घर–घरमै दिएको छ । होम आइसोलेसनमा रहेका व्यक्तिलाई फोनमार्फत् मनोसामाजिक परामर्श सेवा दिइरहेको र वडाध्यक्ष नेतृत्वको टोलीले घर–घरमै पुगेर सल्लाह पनि दिएको नगरले जनाएको छ । नगरको हेल्प डेस्कमा १ हजार १७ जनाले सम्पर्क गरी सेवा लिएको नगरको तथ्यांक छ । बजार क्षेत्रका सडकमा दमकलको सहायताले क्लोरिन छर्किने, एसएमएसमार्फत् कोभिडविरुद्ध चेतनामूलक सूचना पठाउनेजस्ता कार्य नगरले गरिरहेको छ ।  

अहिले कसैको निधन भए कोरोनाकै डरले शव व्यवस्थापन जटिल भइरहेका बेला नगरले त्यसका लागि एस्काभेटर र ट्र्याक्टर तयारी अवस्थामा राखेको छ । संक्रमित व्यक्तिको शव व्यवस्थापनका लागि क्षेत्र तोकिएको छ । आफन्त टाढा भएका व्यक्तिको निधन भए वा बेवारिसे अवस्थामा फेला परेको शव केही समय सुरक्षित राख्न इलाम अस्पतालमा मर्चरी फ्रिज व्यवस्था गरिएको छ ।  

जिल्लाका स्थानीय तहमध्ये सदरमुकाम रहेको इलाम नगरमा सबैभन्दा बढी ४ सय ५२ जना कोरोना संक्रमित छन् । तीमध्ये ३ सय ६१ जना निको भएका छन् भने १० जनाको निधन भएको छ । जिल्लामा दोस्रो लहरको कोभिड–१९ बाट १ हजार ५ सय ५४ जना संक्रमित भएकामा ९ सय ९३ जना निको भइसकेका छन् भने ३६ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

प्रकाशित: ३ असार २०७८ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App