६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार बढी विरुवा रोप्यो

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाले तीन वर्षमा ७ हजार भन्दा बढी विरुवा रोपेको छ । आयोजनाले आयोजना तथा प्रसारण लाइन निर्माणको लागि रुख कटान गरेवापत ७ हजार ३ सय ८१ वटा विरुवा रोपेको हो ।  

संरचना निर्माणस्थलमा रुख कटान गरेवापत ३ हजार ८ सय ८० वटा र प्रसारण लाइन क्षेत्रभित्र कटान गरेवापत ३ हजार २ सय वटा रुख रोपिएको आयोजनाले जनाएको छ । वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र रसुवागढी जलविद्युत् कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार आयोजनाले संरचना निर्माणस्थलमा १ हजार ९ सय ४० वटा रुख कटानको अनुमति पाएको थियो । सोही सम्झौता अनुसार १ः२ को अनुपातमा ३ हजार ८ सय ८० वटा रुख रोप्नुपर्ने थियो ।  

हरेक वर्ष बढ्दै गएको विद्युत् संकट न्यूनीकरण गर्नका लागि २०६८ सालमा ऊर्जा संकटकाल घोषणा गरेको थियो । त्यतीबेला निजी क्षेत्रलाई विद्युत् उत्पादनमा प्रोत्साहन गर्ने योजना ल्याएको थियो । यो बेलामा अनुमति लिएका आयोजनाले एउटा रुख कटान गरेवापत २ वटा मात्र रोपे पुग्थ्यो ।

आयोजनाले निर्माण गर्ने प्रसारण लाइन क्षेत्रभित्र १ सय २९ वटा रुख कटान गर्न अनुमति पाएकोमा रुख कटान गरेपछि ३ हजार २ सय २५ वटा रुख रोप्नु पर्ने थियो । सम्झौता अनुसार आयोजनाले २०७४/७५ मा १ हजार ७ सय ८१, ०७५/७६ मा २ हजार ४ सय र २०७६/७७ मा ३ हजार २ सय वटा गरि ७ हजार ३ सय ८१ वटा रुख रोपेको छ ।  

रोपिएका विरुवाको संरक्षणका लागि दुईजना हेरालुको व्यवस्थासमेत गरिएको आयोजना प्रमुख छवि गैरेले बताए । ‘रुख रोपेर मात्रै हुँदैन यसको संरक्षणको दायित्व पनि आयोजनाकै हुन्छ’, गैरेले भने, ‘त्यसैले हेरालुको व्यवस्था गरेका हौं ।’ रोपिएका विरुवाहरू अहिले हुर्किँदै गएका छन् ।  

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ८० प्रतिशत काम सकिएको छ । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पु¥याउँदै आएको छ । १११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो ।  

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत् उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो ।  

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App