६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एक्यानको पहलमा ३०० बेडको आइसोलेसन सञ्चालन

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र सर्वांग स्वास्थ्य सदन प्रालिले ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन्। कोरोना पोजेटिभ भई सामान्य लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका वा रेखदेख गर्ने व्यक्ति भए पनि शरीरमा अक्सिजनको सामान्य तहमा कमी हुन सक्छ कि भन्ने मनोविज्ञानले त्रस्त, अक्सिजन लेबल ९० भन्दा कम नभएका; सुगर, प्रेसर लगायत दीर्घरोग नभएका र हिँडेरै आइसोलेसन बेडसम्म जान सक्ने संक्रमितका लागि उक्त आइसोलेसन केन्द्र सुरु गरेको विज्ञप्तिमा उल्लेख छ।  

विज्ञप्तिमा यसलाई सरकारबाट अनुमति प्राप्त अक्सिजन सहितको ३०० बेड क्षमताको नेपालकै ठूलो आइसोलेसन केन्द्र भनिएको छ। उक्त केन्द्र काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १, इचंगुनारायण रानीवनस्थित नेपाल सरकारको खालि रहेको ब्लक ए भवनमा जेठ ८ देखि सञ्चालनमा आएको संघले जनाएको छ।  

सर्वांग स्वास्थ्य सदन सेवा केन्द्र प्रालिको प्राविधिक सहयोगमा उक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको हो। यस कार्यमा, स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाको साथ र समन्वय छ।  

समयमै कोरोनाको सामान्य लक्षण देखिनासाथ अक्सिजनको ब्याकअप र नर्स र चिकित्सकको २४सै घन्टा निगरानीमा आइसोलेसनले सेवा उपलब्ध गराउने संघले जनाएको। तीन महिनासम्म सञ्चालनमा रहने आइसोलेसनका ५० बेडमा अक्सिजनको सुविधा छ। आइसोलेसन एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुनेछ।  

उक्त आइसोलेसन केन्द्रमा बिरामीले निःशुल्क सेवा प्राप्त गर्ने संघ र सर्वांग स्वास्थ्य सदनको संयुक्त विज्ञप्तिमा उल्लेख छ। यस कार्यमा सहयोग र योगदान गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App