१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो । केन्द्रीय बैंकको यस्तो निर्देशनले कोरोना महामारीको मारमा परेका व्यवसायीलाई सहज हुने देखिएको छ । यति मात्र नभई राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरको कर्जा असुली गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था पनि गरेको छ । वैशाख १६ देखि सुरु भएको निषेधाज्ञा कहिले हट्छ भन्ने कुनै टुंगो छैन ।  

अक्सिजन उद्योग स्थापनामा आधार दरमा कर्जा  

त्यस्तै दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणमा आवश्यक पर्ने अक्सिजन उद्योग स्थापना गर्नेलाई बैंकको आधार दरमा नै कर्जा दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि आधार दरमा कर्जाको व्यवस्था मिलाइएको हो । लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रूपैयाँसम्म र अक्सिजन प्लान्ट स्थापना गर्नेलाई २० करोड रूपैयाँसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।  

सिएसआरको रकम कन्सन्ट्रेटर, खोपमा खर्च गर्न पाइने

साथै बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको रकम अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर र खोप खरिदमा खर्च गर्न पाइने व्यवस्था मिलाइएको छ । ‘सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिने गरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिको समीक्षामा उल्लेख छ, ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने छ ।’

सेयर धितो कर्जामा कडाइ

केही समयअघि सहज पारिएको सेयर धितो कर्जालाई तेस्रो चौमासिक समीक्षामा कडाइ गरिएको छ । राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई सेयर धितोमा कर्जा दिँदा एक सय ८० दिनको औसत मूल्य गणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  

यसअघि बैंक तथा वित्तीय संस्थाले एक २० दिनको औसत मूल्य गणना गरी सेयर धितोमा कर्जा दिइरहेका थिए । नयाँ व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जामा एक सय ८० दिनको औसत मूल्य गणना गरी सेयर मूल्यको बढीमा ७० प्रतिशतसम्म कर्जा दिन पाउनेछन् । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामध्ये सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षणबापत मूल्यांकन गर्दा पछिल्लो एक सय ८० दिनको अन्तिम औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई सोही मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।

कर्जा र लगानीमा वृद्धि 

यसैबीच, महामारीको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी वृद्धि भएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख ३१ सम्ममा ३९ खर्ब ५५ अर्ब रुपैयाँ संकलन गरेका छन् । जुन चैत ३१ सम्मको तुलनामा ११ अर्ब रूपैयाँले बढी हो । बैंकहरूले सोही अवधिमा ३९ खर्ब ४४ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका थिए । त्यस्तै, बैंकहरूले वैशाख ३१ सम्म ३६ खर्ब ११ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । चैत ३१ सम्म तिनै बैंकहरूले ३५ खर्ब ७३ अर्ब रूपैयाँ लगानी गरेका थिए । एक महिनाको तुलनामा बैंकहरूको निक्षेप ११ अर्ब र कर्जा ३८ अर्ब रूपैयाँले बढेको छ ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App