१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवा भन्सारः दोस्रो चौमासिक बितिसक्दा पनि राजस्व संकलन बढ्न सकेन

रसुवा भन्सार कार्यालय । तस्बिरः हिमनाथ/नागरिक

चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले नाका सञ्चालनमा ल्याएको छैन। नाकाबाट एकतर्फी रूपमा आयात भएको छ। गएको एक वर्षदेखि नाकामा अन्य व्यापारिक कारोबार भएको छैन।  

गएको जेठ महिनादेखि चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन्। चिनियाँ गाडीले ल्याएको सामग्री नेपाली गाडीमा ल्याउने र भन्सार जाँचपास गरेर छोड्ने कार्य बाहेक अरु क्रियाकलाप अघि बढेको छैन। जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व संकलन लक्ष्य पनि पूर्ण प्रभावित भएको छ।  

रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ। साउनदेखि फागुन मसान्तसम्ममा ७ अर्ब ४८ करोड ५५ लाख २३ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो। जसमा २ अर्ब ९ करोड ६५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ।  

चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको राखेकोमा हालसम्म १८.५ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ।  

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको हो। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्ष अघिदेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व संकलन प्रभावित बन्दै गएको छ।    

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्म रसुवा भन्सारले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ। नाकाबाट न्यून सामग्री आउने र आएका सामग्री पनि भन्सार छुट हुने खालका आउँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। ‘पहिले दिनमा सय वटाभन्दा बढी गाडीमा सामग्री आउथ्यो’, उनले भने, ‘अहिले दैनिक सातवटा चिनियाँ गाडीले सामग्री ल्याउँछन्।’  

गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न सकेको छैन। चिनियाँ पक्षले केही दिनयता दैनिक सातवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन्। केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीहरू बीच भएको छलफलले दैनिक ८ वटा गाडीमा सामग्री आउने सहमति भएको थियो।  

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो। कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: ३ चैत्र २०७७ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App