६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

घोषणाको पाँच वर्षपछि ‘नौवस्ता औद्योगिक क्षेत्र’ शिलान्यास

नौवस्ता औद्योगिक क्षेत्र परियोजना शिलान्यास गर्ने क्रममा विरोध प्रदर्शनमा उत्रिएका स्थानीयलाई रोक्दै सुरक्षाकर्मी । तस्बिर : नागरिक

सरकारले घोषणा गरेको पाँच वर्षपछि बाँकेस्थित ‘नौवस्ता औद्योगिक क्षेत्र’ को शिलान्यास गरिएको छ। लामो समयदेखि चल्दै आएको विवाद टुंगो नलगाएरै सरकारले शिलान्यास गरेको हो। औद्योगिक क्षेत्र निर्माण परियोजनाभित्र पर्ने स्थानीय बासिन्दाले उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गर्न सकेको छैन। स्थानीयको चर्को विरोधका बीच मंगलबार उद्योग मन्त्री लेखराज भट्ट र औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले औपचारिक रुपमा शिलान्यास गरे।  

परियोजनाभित्र पर्ने मानव बस्तीको ब्यवस्थापन नगरेर एकैपटक शिलान्यास गरेको भन्दै स्थानीय बासिन्दा असन्तुष्ट छन्। असन्तुष्ट स्थानीय बासिन्दाले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै शिलान्यास कार्यक्रम स्थलमै प्रदर्शन गरेका हुन्। सो क्रममा स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको थियो। स्थानीयका अनुसार औद्योगिक क्षेत्र निर्माण परियोजनाभित्र २ सय ५९ घरधुरी बसोबास गर्दै आएका छन्।  

उक्त क्षेत्रमा रहेको सरकारी जग्गालाई सशस्त्र प्रहरी बल साविक मध्यपश्चिमाञ्चल तालिम केन्द्र नौवस्ताले लामो समयदेखि संरक्षण गर्दै आएको छ। त्यस बाहेकको जमिनमा सरकारले नौवस्ता औद्योगिक क्षेत्र स्थापना गर्दैछ। सरकारले २०७२ चैत १ गते नौवस्तामा ‘प्रदेश स्तरको’ ठूलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिका अन्तर्गत पर्ने नौवस्ता गाउँमा ३ सय ३८ विघा जग्गा अधिग्रहण गरिएको थियो। तत्कालिन समयमा पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि त्यसको पाँच वर्षपछि मंगलबार मात्र शिलान्यास गरिएको हो। औद्योगिक क्षेत्र निर्माणका लागि कुल ८ अर्व ७ करोड खर्च लाग्ने तत्कालिन सरकारको अनुमान थियो।  

कम्पनीका अनुसार उक्त क्षेत्रमा ८ कठ्ठादेखि ४० कठ्ठा सम्मको प्लट छुट्याइएको छ। सोही क्षेत्रमा औद्योगिक, आवास, प्रशासन, सेवा, भन्सार, ईन्धन पम्प, दुषित पानी प्रशोधन प्लान्ट, हेभी ट्रक पार्किङ लगायतका प्लट छुट्याइएको छ। बिस्तृत अध्ययन प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रभित्र पेन्ट्स, खाद्य, प्लाष्टिक, केवल, स्टिल, सावुन, पाइप, काठ, पानी लगायतका सम्भावित उद्योग स्थापना गर्ने सरकारको योजना छ।  

औद्योगिक क्षेत्रभित्र चार लेनको मुख्य र दुई लेनको सहायक सडक, साइकल लेन, सडकको दुबैतर्फ २.५ मिटरको पैदल यात्रु लेन तथा वर्षा र ढल पानीको उचित व्यवस्थापनका लागि निकासको छुट्टै नालाको व्यवस्था गरिने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ।  

औद्योगिक क्षेत्रभित्र २४ सैं घण्टा पानी आपुर्ती, ओभरहेड अन्डरग्राउण्ड ट्यांकी, फोहोर पानी प्रशोधन केन्द्र, ८ फिट अग्लो सिमाना पर्खाल निर्माण गर्ने विस्तृत प्रतिवेदनमा उल्लेख छ। यसैगरी सुरक्षाको लागि करिव २ सय जना सशस्त्र प्रहरी बल बस्ने व्यवस्थाका साथै ४० मेगावाट विद्युतको छुट्टै फिडर, उद्योग संघ, बैंक, शिशु स्याहार, एटिएमको सुविधा, डिस्प्ले सेन्टर, स्वास्थ्य क्लिनिक पनि राखिने जनाइएको छ।  

औद्योगिक क्षेत्र र मानव बस्ती बीचको करिव ३० मिटर क्षेत्रमा बृक्षारोपन गर्नका लागि ‘बफरजोन’ छुट्याइएको छ। औद्योगिक क्षेत्रभित्रै एकीकृत भन्सार चेक पोष्टख पनि ब्यवस्था गरिने कम्पनीले जनाएको छ। औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न चाहने उद्योगीका लागि चाडै नै आवेदन माग गरिने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले जनाएको छ।  

औद्योगिक क्षेत्रबाट २० हजार भन्दा बढी ब्यक्तिले रोजगारी पाउने सरकारको अनुमान छ। नौवस्ता औद्योगिक क्षेत्र स्थापना भएपछि बाँके जिल्ला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै आर्थिक राजधानी बन्ने र यहाँको उद्योग, ब्यवसाय फस्टाउने उद्योगी, ब्यवसायीको अपेक्षा छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्ट र अध्यक्ष बस्नेतले नौवस्ता औद्योगिक क्षेत्र स्थापना भएपछि पश्चिम क्षेत्रको आर्थिक समृद्धि हुने विश्वास गरे। औद्योगिक क्षेत्र निर्माणको कार्य अब दु्रत गतिमा अगाडी बढ्ने उनीहरुको जोड छ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App