९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

युवा किसानका चार वटा हाइटेक

युवा किसान गंगाबहादुर बिश्वकर्माले निर्माण गरेको हाइटेक उद्घाटन गर्दै मेयर दिपनारायण रिजाल । तस्बिर : दमन राई/नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर बिश्वकर्माले चार वटा हाइटेक निर्माण गरेका छन् । खोटाङ कृषि फार्म स्थापना गरेर व्यवसायीक रुपमा कृषि पेशा अपनाउँदै आएका बिश्वकर्माले उच्च मूल्यायुक्त तरकारी खेतीका लागि ४२ लाखको लागतमा एकैसाथ चार वटा हाइटेक निर्माण गरेका हुन् । प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र खोटाङको ३२ लाख र खोटाङ कृषि फर्मको १० लाखमा निर्माण गरिएको हाइटेक शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् ।  

प्रांगारिक कृषि अभियान कार्यक्रम अन्तरगत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा हाइटेक निर्माण गरिएको खोटाङ कृषि फार्मका प्रवन्धक रहेका बिश्वकर्माले बताए । ३३ मिटर लम्बाई र ११ मिटर चौंडाई, २० मिटर लम्बाई र ५ मिटर चौंडाई भएको दुई वटा हाइटेकलाई विभिन्न किसिमका तरकारी उत्पादनमा उपयोग गरिने छन् । यस्तै, १० मिटर लम्बाई र ५ मिटर चौंडाई भएको हाइटेकमा तरकारी तथा फलफुलका नर्सरी उत्पादन गरिने छन् । १० मिटर लम्बाई र ८ मिटर चौंडाई भएको अर्को हाइटेकमा च्याउ उत्पादन गरिने बिश्वकर्माले बताए । अर्गानिक नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान बिश्वकर्माले गोलबेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाजर लगायतका तरकारी खेती गर्नेगरी मंसिर ५ गतेदेखि हाईटेक निर्माण सुरु गरेका थिए । जिआइ पाईप र यूबी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजार लगायतका ठाउँमा खपत गराउने तयारी गरिएको बिश्वकर्माले बताए ।  

स्थानीय बजारमा उच्च मूल्यायुक्त तरकारीको मागलाई पुरा गर्दै बाह्य बजारमा निर्यात गर्ने लक्ष्यका साथ हाइटेक निर्माण गरिएको हो । तापक्रम, हावा, पानीलाई नियन्त्रण गरी बालीनालीका लागि अनुकुल वातावरण सिर्जना गर्ने हाइटेक निर्माणका क्रममा भएको आयव्यायका विषयमा शुक्रबार नै सार्वजनिक सुनुवाई गरिएको छ । उच्च प्रविधिका माध्यमबाट मौसमी तथा बेमौसमी तरकारी वा बाली उत्पादनका लागि प्रांगारिक कृषि प्रवद्र्धन कार्यक्रम अन्तरगत प्रदेश सरकारले आर्थिक सहयोग गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए ।  

प्रांगारिक कृषि अभियान कार्यक्रम अन्तरगत बिश्वकर्माले आधुनिक बंगुर खोर तथा भकारो सुधार, च्याउको बोइलर मेसिन सहितको घर निर्माण गरेका छन् । यस्तै, गँड्यौला मल र जैविक विषादि उत्पादनको तयारी गरिएको छ । जैविक मललाई प्याक गरेर बजारमा पुर्‍याइने जानकारी दिइएको छ । चार वटा हाइटेकभित्र उत्पादन हुने तरकारी, च्याउ, नर्सरी लगायतबाट वार्षिक पाँच लाखको आम्दानी गर्ने लक्ष्य राखिएको बिश्वकर्माले बताए । विगतदेखि नै तरकारी, माछा, फलफुल खेती गर्दैआएका बिश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यापालिका सदस्य पनि हुन् ।  

हाइटेक उद्घाटनकाक्रममा उपमेयर बिणादेबी राई, वडाध्यक्ष हर्क खत्री, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राई लगायतको उपस्थिति रहेको थियो । कृषि पेशालाई प्रविधिमैत्री बनाउनेक्रममा पछिल्लो समय जिल्लाका विभिन्न ठाउँका किसानले हाइटेक निर्माण गर्न थालेका छन् ।

प्रकाशित: ११ माघ २०७७ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App