८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

'निजी क्षेत्रको मान, सम्मान, सुरक्षा हाम्रो प्राथमिकता'

नेउवामहासंघको निर्वाचन

सौरभ ज्योति, एसोसिएट उपाध्यक्षका प्रत्यासी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्नका लागि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा हुँदैछ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको प्यानलमा रहेर अन्य उपाध्यक्षहरू पनि चुनावी मैदानमा छन् । एसोसिएसट उपाध्यक्षतर्फ ढकाल प्यानलका प्रत्यासी सौरभ ज्योतिसँग महासंघलाई अघि बढाउने अजेन्डा, कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउने, उद्योगी, व्यवसायीको हितमा काम गर्ने के कस्ता योजना छन्, महासंघको गुटगत राजनीति लगायत विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिनुभएको छ ? तपाईंका अजेन्डा के हुन् ?
निजी क्षेत्र देशको मेरुदण्ड, रोजगारी सिर्जना गर्ने ठाउँ र अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम र देश विकासको सारथी हो । निजी क्षेत्रको मान, सम्मान, सुरक्षासँगै लगानीको वातावरण बनाउने हाम्रा प्राथमिकता हुन् । हामीले देशलाई १० वर्षभित्र विकासको फास्ट ट्र्याकमा लैजाने योजनासहित महासंघमा नेतृत्व दाबी गरेका छौं । कोभिडका कारण अर्थतन्त्रमा असर परेको छ । जिडिपीमा औद्योगिक क्षेत्रको योगदान बढ्न सकेको छैन । युवाहरू रोजगारीका लागि बिदेसिएका छन् । उद्यमशीलताको विकास गर्ने काममा ध्यान दिन्छौं । शेखर गोल्छाको नेतृत्वमा १० वर्षे रणनीति बनाएका छौं । त्यसलाई कार्यान्वयनमा ल्याउछौं । परिणामुखी काम गर्छौं ।

विदेशमा निजी क्षेत्रका छाता संस्थाहरूले सरकारको थिंक ट्यांकका रूपमा काम गरिरहेका हुन्छन् । नेपालमा त्यो भूमिका निर्वाह गर्न सकेको देखिँदैन । यहाँहरूको भूमिका के हुन्छ ?
गम्भीर विषय । महासंघ थिंक ट्यांकको भूमिकामा हुनुपर्छ । लामो इतिहास भएको महासंघले विगतमा भूमिका खेलेको हो । नेपाल, भारत व्यापार सम्झौतादेखि विभिन्न नीति निर्माण तहमा योगदान गरेको थियो । दुर्भाग्यवश केही वर्षदेखि हामीभित्रको राजनीतिले उपस्थिति कमजोर रह्यो । संस्थाको आन्तरिक राजनीतिमा अल्मलिँदा कमजोर भयौं । महासंघलाई व्यावसायिक संस्थाको रूपमा विकास गर्नुपर्छ । त्यसका लागि हामी काम गर्ने प्रतिबद्धताका साथ आएका छौं । सरकारलाई नीतिगत सुधारमा समन्वय गर्छौं । सरकारसहित विभिन्न साझेदार संस्थासँग मिलेर महासंघको गरिमा बढाउने प्रयास गर्छौं ।

महासंघको निर्वाचनमा राजनीतिक दलको जस्तो उम्मेदवारको प्यानल खडा भएको छ । अजेन्डामा प्रतिस्पर्धा हुनपर्नेमा चरम गुटबन्दी र धु्रवीकरण देखिएको छ । यसले भोलिका दिनमा महासंघ चलाउन कठिन हुँदैन ?  
प्रजातान्त्रिक प्रक्रिया हो । दुई प्यानल नभए चुनाव नै हुँदैन । निर्वाचन प्रक्रियामा स्वच्छ प्रतिस्पर्धा गर्छौं । गालीगलौजमा उत्रिएका पनि छैनौं । चुनाव सकिएपछि सबै एकै ठाउँमा हुन्छौं । सबैको अजेन्डा एउटै हो । अहिले प्रस्तुत गर्ने तरिका फरक होला । जुन समूह भए पनि निजी क्षेत्रको विकास गर्ने साझा अजेन्डा हुन्छ । प्यानल भए पनि केही समस्या पर्दैन ।

कोभिडको कारण मुलुकको अर्थतन्त्र धराशयी बनेको छ । उद्योगी, व्यवसायी समस्यामा छन् । अर्थतन्त्रलाई माथि उठाउन यहाँहरूको भूमिका के हुन्छ ?  
निजी क्षेत्रको काम लगानी गर्ने, रोजगारी सिर्जना गर्ने हो । निजी क्षेत्रले कर तिर्छ । त्यसले देशको विकास गर्न सघाउ पुग्छ । त्यो वातावरण बनाउन नीतिगत सुधार गर्नु सरकारको भूमिका हुन्छ । सरकारले वातावरण तयार ग-यो भने लगानी गर्न तयार छौं ।  

एसोसिएट उपाध्यक्ष स्वतः रोजगारदाता परिषद्को सभापति हुने व्यवस्था महासंघको विधानमा छ । यहाँ निर्वाचित हुनुभयो भने कसरी काम गर्नुहुन्छ ?
अहिले बजारमा सीपयुक्त जनशक्ति छैन । के सीप चाहिने हो कसैले ध्यान दिएको छैन । बजारको आवश्यकताका आधारमा जनशक्ति तयार गर्नुपर्छ । त्यसमा ध्यान दिनुपर्छ । चाहिने सीप भएन भने बेरोजगार हुनछ । सीप भएको जनशक्ति विकास गर्न समन्वय गर्छौं । उद्योगका लागि आवश्यक जनशक्ति तयार गर्छौं । उद्योगी र कामदारबीच सुमधुर सम्बन्ध स्थापित गर्नका लागि काम गर्छौं । श्रम ऐन, सामाजिक सुरक्षा कोषमा भएका व्यवस्थालाई सहज रूपमा कार्यान्वयन ल्याउने कमजोरी भए सहजीकरण गरेर सच्याउन पनि पहल गर्छौं ।

नेतृत्वमा नपुग्दासम्म उद्योगी, व्यवसायीको पक्षमा काम गर्छौं भन्ने । नेतृत्वमा पुगेपछि सरकार र उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध राखेर व्यक्तिगत स्वार्थ र व्यापार, व्यवसायको हितमा काम गर्ने गरेको आरोप छ । यसलाई कसरी हेर्नुहुन्छ ?  
यहाँले भनेको सत्य नजिक छ । विगतमा त्यस्ता प्रयास भए । यस्ता प्रवृत्ति हाबी भए । महासंघ व्यक्तिको व्यवसाय गर्ने थलो हो ? जुन व्यक्तिले महासंघलाई व्यवसाय बनाउँछ, त्यस्तो व्यक्तिलाई ठाउँ दिनुहुँदैन । आफ्नो व्यवसायभन्दा निजी क्षेत्रको सेवा गर्ने व्यक्ति आउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसलाई सुदृढीकरण गरेर व्यावसायिक संस्था बनाउनु पर्छ ।

यहाँले अघिल्लोपटक सहमतिका लागि एसोसिएट उपाध्यक्ष पदमा चन्द्र ढकाललाई सघाएको बताउँदै आउनुभएको छ । अहिले फरक प्यानलमा हुनुहुन्छ । यसलाई कसरी लिनुभएको छ ?
मैले एउटा पाठ सिँके । त्याग गर्ने कुराले आफूलाई पछि पार्दो रहेछ । मैले धेरैपटक त्याग गरेको छु । अहिले पनि उमेर छ, पछि आउनुस् भन्ने काम भयो । महासंघमा मेरो योगदान भयो । १२ वर्षदेखि काम गरेको हिसाबले सिनियर छु । त्यही भएर निर्वाचनमा होमिएको हुँ । यो चुनावमा फरक ठाउँमा छौं । साथीहरूको सोच, विचार, योजना र दीर्घकालीन मार्गदर्शन एउटै भएको आधारमा प्यानल बनेको हो । त्यो कारणले प्यानल बनेको हो । गत वर्ष अजेन्डा मिल्यो एक ठाउँमा भएर उहाँलाई सघाएँ । महासंघमा नेतृत्व जरुरी छ । त्यो पदमा म आफूलाई योग्य ठानेर उम्मेदवारी दिएको हुँ । १९ जनाको मेरो टिम छ । सबै योग्य साथीहरू रहेकाले सफलता प्राप्त गर्छौं । बलियो टिम छ ।  

यहाँ एसोसिएटतर्फबाट उपाध्यक्ष पदका लागि चुनावी मैदानमा हुनुहुन्छ । यहाँलाई उद्योगी, व्यवसायीले मत किन दिने र यहाँको जित्ने आधार के हो ?
मैले विगतमा गरेको काम र मेरो प्रतिबद्धता हो । चुनावी नाराले मात्र भएर कसको काम गर्ने क्षमता छ भन्ने कुरालाई हेर्नुपर्छ । मैले विगतमा आफूलाई काममा प्रमाणित गरेर आएको छु । १२ वर्ष महासंघमा बसेर चार कार्यकाल, चारवटा समितिको सभापति रहेर काम गरें । कर, गुणस्तर, बैंक तथा वित्तीय संस्था लगायत समितिको नेतृत्व गरेर काम गरें । अहिले मौद्रिक नीतिमार्फत गरेको कामको पनि रिजल्ट आएको छ । त्यसैले कामको मूल्यांकन गरेर साथीहरूले मलाई मतदान गर्नुहुन्छ भन्नेमा विश्वास लिएको छु । ९ सय २६ जना मतदातासँग वर्षको चारपटक भेला गरेर उहाँको सुझाव अनुसार काम गर्ने प्रतिबद्धता छ । त्यो आधारमा पनि मलाई जिताउनुहुन्छ ।

प्रकाशित: ११ मंसिर २०७७ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App