१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

वाग्मती प्रदेशको १२ स्थानमा शीत भण्डार बन्दै

धादिङको दक्षिणी भेग तरकारीका लागि प्रख्यात क्षेत्र हो। यहाँ उत्पादन भएको तरकारी राजधानी काठमाडौं, पोखरा चितवन लगायत सहरमा आपूर्ति हुन्छ। पछिल्लो समय उत्पादित तरकारीले भाउ नपाउने, बिचौलियाका कारण किसानले थोरै मूल्य पाउने र तरकारी बिक्री नभएर कुहाउनुपर्ने समस्या भोग्दै आइरहेका छन्। किसानका समस्या समाधानका लागि वाग्मती प्रदेशले शीत भण्डार निर्माण प्रक्रिया अगाडि बढाएको छ।  

प्रदेश रकारको सहयोगमा अहिले बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ५ विशालटारमा एक हजार पाँच सय मेट्रिक टन क्ष्मताको शीत भण्डार निर्माण सुरु भएको छ। वाग्मती प्रदेश सरकारको सात करोड ८७ लाख र कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्था धादिङको तीन करोड ३७ लाख लागतमा शीतभण्डार बनिरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बताए। ‘किसानको मिहेनत खेर जान नदिन शीत भण्डार कार्य अगाडि बढाएका हौं,’ उनले भने, ‘शीत भण्डारले यस क्षेत्र आसपासका करिब पाँच हजार किसानलाई प्रत्यक्ष फाइदा पुग्छ।’ 

किसानले उत्पादन गरेको तरकारी तथा बीउ लामो समयसम्म भण्डारणका लागि प्रदेश सरकारले १० जिल्लाका १२ स्थानमा आधुनिक शीतभण्डार निर्माण गर्न लागेको हो। मन्त्रालय र स्थानीय तह÷सहकारीको लागत साझेदारीमा शीतभण्डार निर्माण थालिएको हो। मन्त्रालयको ७० प्रतिशत र स्थानीय तह तथा सहकारीको ३० प्रतिशत लागत सहभागितामा निर्माण सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए।  

व्यवस्थित शीत भण्डार नहुँदा किसानका उत्पादनले बजार नपाएको, मूल्य नपाएको, किसानको मिहेनत खेर गएकाले शीतभण्डार निर्माण सुरु गरिएको सचिव कार्कीले बताए। ‘शीतभण्डार निर्माण प्रदेश सरकारको एउटा ‘ड्रिम प्रोजेक्ट’ हो,’ उनले भने, ‘सुरुमा हामीले अध्ययन ग¥यौं, हाम्रो प्रदेशमा २५ देखि ३० हजार मेट्रिक टन क्षमताको शीतभण्डार आवश्यक रहेछ, अहिले धमाधम काम भइरहेको छ।’ अघिल्लो आवदेखि साढे १७ हजार मेट्रिक टन क्षमताको निर्माण सुरु गरिएको उनले बताए।

 प्रदेश सरकारको ४५ करोड २८ लाख र स्थानीय तह तथा सहकारीको १९ करोड ४० लाख लागतमा प्रदेशका सबै जिल्लामा निर्माण सम्पन्न भएपछि कुल १७ हजार पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार प्रदेशमा रहने मन्त्रालयका प्रवक्ता शरणकुमार पाण्डेले जानकारी दिए। ‘हामीले बनाएको यो परियोजना लागत एकदमै सस्तो र सञ्चालन प्रक्रिया किसानमैत्री रहेको छ,’ उनले भने, ‘शीत भण्डार निर्माणपछि किसानलाई आफ्ना उत्पादन बिक्रीमा समस्या हुँदैन, मूल्य राम्रो नभएका बेला राखेर बढी मूल्य हुँदा बेच्न सक्छन्।’

धादिङ र चितवनमा निर्माणाधीन शीतभण्डारको काम अन्तिम चरणमा पुगेको छ भने अन्य जिल्लामा निर्माण आधा सकिएको छ। आगामी मंसिरसम्ममा धादिङ र चितवनको शीतभण्डार सञ्चालनमा आइसक्ने प्रवक्ता पाण्डेले जानकारी दिए। चालु आवभित्र सबै जिल्लामा निर्माण सकिने गरी काम भइरहेको पनि उनले बताए।

 ‘पूर्वाधार निर्माण गरेर मात्रै हुँदैन यसको सञ्चालन र दिगोपना पनि मह¥वपूर्ण हो,’ उनले भने, ‘सम्बन्धित स्थानीय तह र सहकारीको साझेदारी रहने र उनीहरूले नै सञ्चालन गर्ने गरी यसको निर्माण भएको छ।’ कृषिप्रधान देशमा कृषि कर्म गर्ने किसानलाई उत्साहित र किसानको हितका लागि शीत भण्डार निर्माण सुरु गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए।

प्रकाशित: २२ आश्विन २०७७ ०२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App