६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

निजगढको रुख गणना मंसिरमा सक्ने निर्णय

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको छ। हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ। सो क्षेत्रमा नदी नियन्त्रणको कामले पनि तीव्रता लिएको छ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार सम्पन्न निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले आउँदो मंसिरभित्र रुख तथा पोलको लगत नम्बरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरेको छ। सो बैठकमा मन्त्री भट्टराईले हालसम्मको प्रगति विवरण पनि पेस गरेका थिए।  

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि समितिको २०७६ माघ २ गतेको निर्णय अनुसार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले स्थलगत रुपमा निरीक्षण गरी बस्ती व्यवस्थापनका लागि स्थान सहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्ने र उक्त समितिको सदस्यमा डिभिजन वन कार्यालय, बाराका प्रमुखलाई थप गर्ने निर्णय समेत गरेको हो।  

त्यस्तै विमानस्थल निर्माण क्षेत्रको चारकिल्ला वरिपरि सडक निर्माण, पहुँचमार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटान गर्ने कार्य सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ।  

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता प्रक्रियाका बाँकी काम आगामी हप्ता दिनभित्रमा सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ। लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेसनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्तावमा अन्तिम निर्णय लिने समेत निर्णय गरेको छ।

प्रकाशित: २४ भाद्र २०७७ ०४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App