६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

रसुवा भन्सार कार्यालयद्वारा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन

रसुवा भन्सार कार्यालयले पाँच वर्षमा करिब २७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि नियमित कारोबार सुरु गरेको थियो।  नाका सञ्चालन भएदेखि गत आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्म कार्यालयले २६ अर्ब ४ करोड ४६ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २६ अर्ब ८६ करोड २६ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्यांक छ।  

कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा १ अर्ब १२ करोड ६२ लाख १५ हजार, आव ०७३/७४ मा २ अर्ब ४२ करोड ३८ लाख ८ हजार, आव ०७४/७५ मा ३ अर्ब ६३ करोड ४ लाख ८९ हजार, ०७५/७६ मा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो।

जसमा आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार राजस्व संकलन भएको छ।  

नाकामा कारोवार वृद्धि हुँदै जाँदा राजस्व संकलन पनि बढ्दै गएको थियो। गत आर्थिक वर्षमा विश्वव्यापी फैलिएको कोभिड–१९ का कारण राजस्व संकलन प्रभावित बनेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

२०७१ सालदेखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोवार बढ्दै गएको थियो। रसुवा भन्सारले २०७१ साल यता दुई वटा आर्थिक वर्षमा आफ्नो लक्ष्य पूरा गर्न नसकेपनि अन्य वर्षमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: २२ श्रावण २०७७ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App