५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

मैद्रिक नीति २०७७/७८ : ‘व्यावसायीको मनोबल बढ्यो’

सबैखाले व्यावसायीलाई आर्थिक रुपमा राहत मिल्नेगरि राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/०७८ का लागि मौद्रिक नीति ल्याएको भन्दै पोखरा उद्योग बाणिज्य संंघले व्यावसायीको मनोबल बढेको बताएको छ ।  

पोखरा उद्योग वाणिज्य संघले मौद्रिक नीतिको स्वागत गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएको छ । संघले आइतबार विज्ञप्ति प्रकाशित गरि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पर्यटकीय राजधानी पोखराको पर्यटन सहितका उद्योग–व्यवसायमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रको मनोवल उकासिएको जनाएको छ ।

‘कोरोना भाइरस संक्रमणका कारण झन्डै चार महिनादेखि गरिएको लकडाउनका कारण उद्योग–व्यवसाय कोमामा पुगेको अवस्थामा आएको आर्थिक वर्ष २०७७/०७८ को बजेटले पनि सम्बोधन नगरेका विषयलाई मौद्रिक नीतिमा समेट्दा व्यावसायी हौसिएको विज्ञप्तीमा उल्लेख छ । ‘सरकारले ल्याएको बजेटले पनि व्यावसायीका गुनासा सुनुवाई गरेको थिएन । तर मौद्रिक नीतिले निजी क्षेत्रको मनोवल उकासिएको छ’, संघका महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पोखराजस्तो पर्यटकीय राजधानीका व्यवसायीलाई मनोबल बढाउँदै व्यावसाय बचाउने आँट पलाएको छ ।’  

खासगरि कर्जाको पुनर्तालिकीकरण, पुनर्संरचना तथा ब्याजको पूँजिकरण प्रक्रियामा थपिएको समयसीमाले व्यावसायीलाई उत्साही बनाएको पोखरेलले बताएका छन् । कर्जा स्वीकृति गर्दा वाणिज्य बैंकले अधिकतम ०.७५, विकास बैंकले १ र लघुवित्ती संस्थाले १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, वाणिज्य बैंकले २०८१ असारभित्र कुल लगानीको न्यूनतम १५ प्रतिशत लगानी कृषिमा र लघु, साना एवं मझौला उद्योगमा एककरोड रुपैयाँभन्दा कमका कर्जा ५ प्रतिशत ब्याजदरमा प्रवाह गर्नुपर्ने प्रावधानले उत्पादकत्व बढाउने, स्वरोजगार र रोजगारी सिर्जनामा योगदान पुग्ने संघले बताएको छ ।  

संघले मौद्रिक नीतिमा समावेश कार्यक्रम तत्कालै कार्यान्वयन गर्न निर्देशिका एवं कार्यविधि बनाउन पनि नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । ‘कार्यविधि र निर्देशिकाले वास्तविक पीडितकहाँ राहतका प्याकेज पुर्‍याओस्, अनि प्रभावितले आफूलाई पाखा पारिएको महशुस गर्न नपरोस् भन्नेमा विशेष ध्यान दिनेछ भन्ने हाम्रो आशा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रक्रिया झन्झटिलो र कार्यान्वयन पक्ष फितलो भएमा घोषित कार्यक्रमसम्म पीडितहरुको पहुँच नपुग्ने र अपेक्षित परिणाम नआउन सक्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं ।’

प्रकाशित: ४ श्रावण २०७७ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App