५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

ट्याक्सी व्यवसायी विरोधमा

फाइल तस्बिर।

तीन महिनासम्म लकडाउन धैर्यपूर्वक पालना गरेका ट्याक्सी व्यवसायी मंगलबार सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैकठले साउन ७ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेसँगै ट्याक्सी व्यवसायी सडकमा उत्रिएर शान्तिपूर्वक विरोध प्रदर्शन गरेका हुन् ।  

लकडाउनले तीन महिनासम्म व्यवसाय ठप्प हुँदा रोगले भन्दा पनि भोकले मर्ने भइयो भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । ट्याक्सी व्यवसायसँग सम्बन्धित मजदुर संगठनले मंगलबार बानेश्वर, तीनकुने, कोटेश्वर, चाबहिल, सातदोबाटो, कलंकी, गौशाला लगायत स्थानमा सडकमा ट्याक्सी रोकेर विरोध प्रदर्शन गरे ।  

सरकारले असार १ देखि निजी सवारी साधन जोर–बिजोर प्रणालीमा चलाउन पाउने निर्णय गरेको थियो । सार्वजनिक यातायात भने अहिलेसम्म चलाउन दिइएको छैन । मंगलबार सडकमा उत्रिएका ट्याक्सी व्यवसायीले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, ‘घरपेटीले कोठा भाडा माग्यो’, ‘कि गरिखान देऊ, कि कामको व्यवस्था गरिदेऊ’, जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । नेपाल यातायात मजदुर संघ बाग्मती प्रदेशका संयोजक जगनाथ गौतमले सार्वजनिक यातायात नचल्दा यातायात मजदुुर भोकभोकै मर्ने अवस्था आएकाले बाध्य भएर आन्दोलनमा होमिएको बताए ।  

‘सरकारले घोषणा गरेको लकडाउन तीन महिनासम्म धैर्यपूर्वक पालना ग-यौं । तर सरकारले सार्वजनिक यातायातलाई कुनै राहत र सहुलियत कर्जाको व्यवस्था गरेन,’ उनले भने, ‘गत असार १ गतेदेखि निजी सवारी साधनले धमाधम यात्रु ओसारेर पैसा कमाइरहेका छन्, हामी भोकभोकै मर्ने अवस्था आएको छ । त्यसैले अब सरकारले सार्वजनिक यातायात चल्ने वातावरण बनाउनुप-यो ।’  

यातायात व्यवसायीले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुईजना मात्र राखेर ट्याक्सी चलाउन दिनुपर्ने बताएका छन् ।  

उनीहरूले स्यानिटाइनजर र मास्कसहित पछाडि दुईजना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने मागसहित यसअघि नै ज्ञापनपत्र बुझाएका थिए । सरकारबाट माग सम्बोधन नभएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका लेखा संयोजक विष्णु चौहानले लकडाउनले ट्याक्सी व्यवसायीले बैंकको किस्ता तिर्न नसक्दा बैंकले ट्याक्सी नै तान्ने अवस्था सिर्जना भएको बताए । ‘लकडाउन भएयता एक सुको कमाइ भएको छैन । तर बैंकबाट किस्ता तिर्न तारन्तर फोन आइरहेको छ,’ उनले भने, ‘अब कि त लकडाउन खोल्नुप-यो कि बैंक, वित्तीय संस्थाको ऋणको ब्याज छुट गराउनुप-यो ।’  

लेखा संयोजक चौहानले लकडाउनले ट्याक्सी व्यवसायी भोकभोकै मर्ने अवस्था आएको बताए । यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकामा ११ हजार तीन सय ८५ ट्याक्सी दर्ता छन् ।  

वार्ता निष्कर्षहीन
सार्वजनिक यातायातका मजदुर संगठन र यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालबीच मंगलबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । मजदुर संगठनले विभागका महानिर्देशकसँग तत्कालै ट्याक्सी लगायत सार्वजनिक यातायात खोल्न माग गरेका थिए । प्रदेशका संयोजक गौतमले दुवै पक्षबीच वार्ता भएपनि बिनानिष्कर्ष वार्ता टुंगिएको बताए ।  

सार्वजनिक यातायात खोल्न सिफारिस गरिसक्यौं: महानिर्देशक
विभागका महानिर्देशक हमालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन सञ्चालन गर्न सकिने गरी सिसिएमसीलाई सुझाव दिएको बताएका छन् । ‘हामीले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न सक्ने गरी सिसिएमसीलाई सिफारिस गरेका थियौं । तर अहिलेसम्म सार्वजनिक यातायात खुलाउने निर्णय गरेको छैन,’ उनले भने, ‘हाम्रो काम त सिफारिस गर्ने मात्रै हो । सिसिएमसीले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेपछि मात्रै कार्यान्वयनमा आउने हुन्छ ।’  

महानिर्देशक हमालले सार्वजनिक यातायातका व्यवसायीले राखेको माग सिसिएमसीसमक्ष पु-याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘सार्वजनिक यातायात व्यवसायीले उठाएको माग सिसिएमसीसम्म पु-याउनेछौं,’ उनले भने, ‘दुवै पक्षबीच वार्ता भए पनि कुनै निष्कर्ष निस्केन ।’

प्रकाशित: १७ असार २०७७ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App