१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तारे होटल धमाधम बन्द

शुक्रबारदेखि बन्द भएको पोखराको रोयल पाम रिसोर्ट। फाइल तस्बिर ः सन्तोष/नागरिक

मिनराज भण्डारी/सन्तोष पोखरेल

काठमाडौं/पोखरा - विश्वभरका एक सय ७० भन्दा बढी देशमा महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसको त्रासले नेपालका तारे होटल धमाधम बन्द हुन थालेका छन्। गत मार्च १० बाट प्रभावित आठ देशका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी आगमनमा गरेको थप कडाइले होटल सुनसान बन्दै आएका थिए।

युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई सरकारले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले ठूला होटलले सेवा रद्द गर्ने क्रम बढेको हो। बिहीबार ९ गतेसम्मका लागि काठमाडौं बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी बन्द भएको थियो भने शुक्रबारदेखि दरबारमार्गस्थितस्थित पाँचतारे होटल याक यन्ड यतीले सेवा बन्द गरेको छ।

होटलले सूचना जारी गर्दै अर्काे सूचना नआउन्जेलसम्मका लागि शनिबारबाट आफ्ना कर्मचारीलाई घरमै बस्न निर्देशन गरेको छ। कोरोन संक्रमणको त्रासका कारण दुई साता अघिदेखि नै होटलको अकुपेन्सी घट्दै आए पनि मार्च १० देखि सरकारले पर्यटकलाई नेपाल आउन प्रतिबन्ध लगाएसँगै होटलको अवस्था खस्किएको थियो। हाल होटलमा कुनै पाहुना नरहेको र होटल पूर्ण रूपमा खाली रहेको होटल सम्बद्व स्रोतले जानकारी दिएको छ।

सरकारले अत्यावश्यक कामबाहेक आवतजावत, हिँडडुल नगर्न, सांस्कृतिक, सामाजिकस्थलमा भिड नगर्न, पार्टी प्यालेस, मठ–मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक तथा सार्वजनिकस्थलहरूमा २५ जनाभन्दा बढी मानिस भेला नहुन गरेको आग्रहसँगै होटल व्यापार खस्केको छ।

होटलमै बस्न आएका पाहुनाका कारण पनि कोरोना फैलिने त्रास बढ्यो। त्यही भएर बन्द गर्नुको विकल्प भएन।

हायात व्यवस्थापनले आफ्ना कर्मचारी तथा पाहुनाको स्वास्थ्यलाई ध्यानमा राख्दै होटलबाट दिइने सम्पूर्ण सेवा बन्द गरिएको बताएको छ। कर्मचारीलाई बिदा दिइए पनि तलब सुविधाको बारेमा भने केही खुलाइएको छैन। उक्त होटलमा झन्डै चार सयको संख्यामा कर्मचारी कार्यरत छन्। होटलको क्यासिनो केही समय पहिलेदेखि नै बन्द अवस्थामा थियो।

अर्काे तारे होटल सांग्रिलाले पनि ३० प्रतिशत कर्मचारीलाई बिदा दिएको छ। होटलसम्बद्व एक अधिकारीले होटलअन्र्तगतको एउटा बार र एउटा बेकरी गरी दुई आउटलेट बन्द गरिसकेको जानकारी बताए। अहिले उक्त होटलका आठ कोठामा मात्र पाहुनाहरू रहेको र उनीहरूले पनि एक–दुई दिनभित्रै होटल छाड्न सक्ने अनुमान गरिएको छ। होटलको सेवा कति अवधिलाई रोक्ने भन्ने आधिकारिक निर्णय भइनसकेको भए पनि होटल व्यवस्थापनको छलफल जारी रहेको स्रोतको भनाइ छ। सो होटलमा दुई सय स्थायीसहित झन्डै दुई सय ५० कर्मचारी कार्यरत रहँदै आएका थिए।

होटल संघ नेपाल (हान) ले होटलको अकुपेन्सी अनुसार सेवा दिन र चाहेको समयमा उपयुक्त निर्णय लिन सक्ने भन्दै कुनै पनि समय सेवा रद्द गर्न सक्ने अधिकार दिइसकेको छ।

त्यसैगरी, कोरोना संक्रमणको त्रासका कारण पोखराका चल्तीका होटल बन्द गर्न थालिएको छ। धेरै होटलले कर्मचारीलाई लामो छुट्टीमा घर पठाएका छन्। कतिपय व्यवसायीले भने आफूहरू ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएका छन्। पाहुना आउने सबैजसो नाका बन्द भएकाले पाहुनाविहीन अवस्थामा व्यवसाय धान्न मुस्किल भएको उनीहरूको भनाइ छ।

पोखरा प्रवेशको नाका चाउथेमा रहेको रोयल पाम रिसोर्ट पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै, लेकसाइडको होटल पोखरा भिलेज प्रालि पनि बन्द गरेको सञ्चालकले बताएका छन्। रोयल पामका म्यानेजर राज श्रेष्ठका अनुसार ३१ डिलक्स कोठा रहेको होटल शुक्रबारदेखि पूर्ण रूपमा बन्द गरिएको छ। ३५ जना कर्मचारीलाई बिदा गरेर चैत मसान्तसम्मका लागि होटल बन्द गरेको उनले बताए। होटल कुरुवाका रूपमा एक जना सुरक्षाकर्मीमात्र राखेको उनले बताए।

‘व्यवसाय सबै ठप्प भयो। पाहुना आउने नाका बन्द भइसके। आएका पाहुनाकै कारण पनि संक्रमण फैलिने त्रास भएकाले हामीले शुक्रबारदेखि होटल पूर्ण रूपमा बन्द गरेका हौं,’ उनले भने, ‘पाहुना आए पनि सेवा दिन सक्ने अवस्था रहेन। पाहुना आउन सक्ने अवस्था पनि छैन।’ उनका अनुसार रिसोर्टमा सात दिनसम्मका कार्यक्रम तालिका थियो। तर सरकारले भेला नहुन भनेको र संक्रमण बढ्दै गएकाले त्रसित हुनुपरेको उनले बताए। फागुनपछिका ६ वटा ठुला कार्यक्रम स्थगित भएको उनले बताए।

बिदा दिइएका कर्मचारीलाई फागुनसम्मको पारिश्रमिक दिएको र चैतको के गर्ने भन्ने विषयमा निर्णय नभइसकेको उनले बताए। अरू होटलको अवस्था र सरकारको निर्देशन कुरेर बसेको उनले बताए। ‘आगामी दिनको अवस्था कसरी जान्छ भन्ने नै निश्चित छैन। अराइभल भिसाका आधारमा नेपालमा धेरै पर्यटक आउने हुन्,’ उनले भने, ‘तर अहिले त आउजाउ नै पूरै प्रभावित भयो। केही दिनअघिसम्म फाट्ट–फुट्ट पाहुना आएका थिए। अहिले त पाहुना नै आउन छाडे।’ फेवा–प्रिन्स नाममा सञ्चालित होटल पाँच वर्षअघि व्यवस्थापन फेरिएपछि रोयल पामको नाममा सञ्चालित छ।

लेकसाइडको होटल पोखरा भिलेज प्रालि पनि शुक्रबारदेखि बन्द गरेको सञ्चालक हरि शर्माले बताए। ३९ कोठाको यो होटलमा ३० जना कर्मचारी रहे पनि चैत मसान्तसम्मका लागि बिदा गरेको शर्माले बताए। एक जना सुरक्षाकर्मी र होटलको रेखदेख गर्नका लागि दुई जना कर्मचारी राखेर बाँकीलाई बिदा पठाएको उनले बताए। ‘होटलमै बस्न आएका पाहुनाका कारण पनि कोरोना फैलिने त्रास बढ्यो। त्यही भएर बन्द गर्नुको विकल्प भएन,’ शर्माले भने, ‘पहिलो चरणमा चैत मसान्तसम्म बन्द गर्ने र त्यसपछि अवस्था हेरेर निर्णय गर्ने हो। तत्कालका लागि सञ्चालनमा ल्याउन सक्ने अवस्था रहेन।’

होटल बन्द गर्ने निर्णयसँगै एकाध बुकिङ पनि नलिएको उनले बताए। ‘अहिलेका लागि व्यापारभन्दा पनि सुरक्षा महत्वपूर्ण रह्यो। व्यापारमात्र हेरेर भएन,’ शर्माले भने, ‘राजधानीमा चल्तीका ठुला आकारका होटल पनि बन्द भइसकेका छन्।’ थोरै पाहुना रहँदा पनि उत्ति नै सेवा दिनुपर्ने भएकाले व्यवसाय नै बन्द गरेको शर्माले बताए।

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले कोरोना भाइरस त्रासका कारण पर्यटन क्षेत्रको अवस्था कमजोर बन्दै गएको बताए। सन्देश नराम्रो जाने त्रासले पनि कतिपय होटलले तत्काल पर्यटनसम्बद्ध व्यवसाय बन्द गर्न नसकेको व्यवसायीहरू बताउँछन्। पराजुलीका अनुसार लेकसाइडका अधिकतर होटलले कर्मचारीलाई बिदा दिने तयारी गरेका छन्। केही होटलले कर्मचारीलाई बिदामा पठाइसकेका पनि छन्।

‘धेरै होटलले आधा कर्मचारीलाई बिदा पठाउने तयारी गरेका छन्। कर्मचारी र व्यवस्थापबीच सहमति गरेर बिदामा पठाउने तयारी भएको हो,’ उनले भने, ‘सञ्चित नहुने बिदा बस्दा समस्या भएन। कर्मचारी पनि अहिलेको अप्ठेरो अवस्थामा बिदा बस्न राजी छन्।’

पोखरामा सञ्चालनमा रहेको एक मात्र पाँचतारे होटल पोखरा ग्रान्डले पनि कर्मचारीलाई बिदा दिएको महाप्रबन्धक रोशन खवासले बताए। उनका अनुसार पोखरा ग्रान्डमा पनि निकै नै कम पाहुना छन्। सो होटलमा एक सय ७० जना कर्मचारी रहेकोमा एक सय १० जनालाई छुट्टीमा पठाएको उनले बताए। ‘पुरानो होटल भएकाले धेरै कर्मचारीको बिदा सञ्चित थियो। अब त्यो बिदा कटौती पनि हुनेछ,’ उनले भने, ‘अवस्था हेरेर भविश्यमा अघि बढ्ने हो।’ पर्यटक आउने बाटो नै बन्द भएपछि होटल सञ्चालन गरेर फाइदा नहुने उनले बताए। ठुलो संख्यामा कर्मचारी राख्दा दैनिक खानपिनको खर्चसमेत हुने भएकाले कर्मचारीलाई बिदा बस्न भनेको होटलले बताएका छन्।

प्रकाशित: ८ चैत्र २०७६ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App