धनगढी – संघीय सरकार नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय महोत्सवका रूपमा मनाउने तयारीमा जुटेको छ। प्रदेश सरकार पनि बढीभन्दा बढी पर्यटक आफ्नो प्रदेशमा भित्र्याएर भ्रमण वर्ष सफल बनाउन लागिपरेका छन्। सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याउन तयारी भइरहेको त्यहाँका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। ‘सुदूरपश्चिममा विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक र रमणीय पर्यटकीय स्थल छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो प्रयास हुनेछ।’
प्रदेश ७ मा मनोरञ्जन, धार्मिक, साहसिक, सांस्कृतिक, जैविकलगायत पर्यटनको प्रचुर सम्भावना छ। ऐतिहासिक, धार्मिक तथा रमणीय स्थल खप्तड, बडीमालिका, रामारोशन, सात बहिनी देवी मन्दिर, १२ सिंगेको बथान देखिने शुक्लाफाँटा, अपी हिमाल, सैपाल हिमाल, घोडाघोडी ताल, टीकापुर पार्क, दोधारा–चाँदनी झोलुंगे पुललगायत थुप्रै महत्वपूर्ण पर्यटकीय गन्तव्य यहाँ छन्।
‘भ्रमण वर्षको अवसरमा सुुदूरपश्चिममा लाखौं भारतीय पर्यटक भित्र्याउन सकिन्छ,’ नेपाल उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर भन्छन्, ‘सुदूरपश्चिम पर्यटकका लागि भर्जिन क्षेत्र हो।’ प्रचारप्रसार, पूर्वाधार विकास नहुनुलगायत कारणले सुदूरपश्चिममा धेरै सम्भावना भए पनि पर्यटक आकर्षित हुन नसकेको उनी बताउँछन्। ‘प्रचारप्रसार नहुनु, भौतिक पूर्वाधारको अभाव, पर्यटकलाई खानबस्न समस्या, सुरक्षा महसुस दिलाउन नसक्नुजस्ता कारणले पर्यटक आगमनमा कमी आएको हो,’ पर्यटन व्यवसायी सञ्जय चौधरी भन्छन्, ‘भ्रमण वर्षमा लाखौं पर्यटक भित्र्याउन सरकारले त्यही किसिमको नीति र योजना बनाउनुपर्छ।’ पर्यटन विकासका धेरै सम्भावना छन् भनेर मात्र नहुने भएकाले प्रचारप्रसार र पर्यटकका लागि आवश्यक सेवासुविधा हुनुपर्ने उनको भनाइ छ।
सुदूरपश्चिम प्रदेशबाट तीन सयदेखि चार सय किलोमिटर दूरीमा भारतको राजधानी नयाँ दिल्लीलगायत थुप्रै सहर छन्। ३० करोडभन्दा बढी जनसंख्या रहेका भारतीय सहर र बस्ती सुदूरपश्चिम प्रदेशबाट सात/आठ घण्टाको सडकयात्राको दूरीमा छन्। ‘सेवासुविधा र सुरक्षा भएको ग्यारेन्टीसहित पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके भारतका यी ठाउँबाट ठूलो संख्यामा भारतीय पर्यटक भित्र्याउन सकिन्छ,’ नेपाल उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य गोपाल हमालले भने, ‘भारतको राजधानी दिल्ली, गुडगाउँ, लखनउ, रुद्रपुर, कानपुर, देहरादुन, बरेलीलगायतका आधा दर्जन बढी सहर नजिक छन्।’
कैलालीको घोडाघोडी ताल। तस्बिर : दिलबहादुर/नागरिक
सीमामा भारतीय पर्यटकलाई अनेक बहानामा प्रहरीलगायतबाट हुने ज्यादती र सास्ती कम हुनुपर्ने उनको भनाइ छ। ‘सुरक्षा, सम्मान र मनोरञ्जन हुन्छ भन्ने परे पर्यटक आउँछन्,’ उनले भने। कञ्चनपुरमा रहेको शुक्लाफाँटामा ठूलो बथानमा सजिलै बाह्रसिंगे देखिन्छ। खप्तड जैविक विविधता र भूसौन्दर्यले भरिएको छ। आठ/नौ घण्टाको सडक दूरीमा प्रशस्त आवादी रहेका भारतीय क्षेत्रमा गर्मी धेरै हुन्छ। त्यहाँका पर्यटक गर्मी छल्न चिसो ठाउँमा सपरिवार घुम्न आउने गर्छन्। सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाँडा, डडेल्धुरालगायत पहाडी जिल्लाका धेरै ठाउँ गर्मी छल्न सकिने खालका छन्।
धेरै पर्यटकीय स्थलको प्रचार भएको छैन। खप्तडलगायत पर्यटकीय स्थलमा पुग्न झन्झटिलो र त्यहाँ खानबस्न असुविधा भएकाले त्यसको व्यवस्थापन गरिनुपर्ने उनको भनाइ छ। स्कन्द पुराणको मानस खण्डमा प्रदेश ७ मा रहेका घोडाघोडी, खप्तडदेखि कैलाश सरोवरसम्मका धेरै स्थलको वर्णन छ। ‘गोदावरी, परशुराम, दिल्पेश्वर र वैद्यनाथ गरी चार धाम यहीँ छन्,’ संस्कृतिविद् पदमराज जोशी भन्छन्, ‘प्रसिद्ध सात देवी बहिनी मन्दिर यहीँ छ।’ बाजुरामा रहेका बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलासैनी र मेलौलीलाई सात बहिनी भगवती मानिएको उनी बताए।
यसैगरी अमरसिंह थापाले लडेको किल्ला, अमरसिंह थापाले लड्दा प्रयोग गरेका हातहतियार यहीँ रहेका छन्। साहसिक पर्यटनका लागि अपी, सैपाललगायत हिमाल पर्वतारोहणको सम्भावना पनि छ। मनोरञ्जनका लागि खप्तड, बडीमालिका, रामारोशन, शुक्लाफाँटा, वेदकोट ताल, घोडाघोडी ताल, टीकापुर पार्क, कर्णालीमा ¥याफ्टिङ आदि रहेका छन्। थारू समुदायको संस्कृति, सौका/व्यासीको संस्कृति, गौरापर्व, विभिन्न वेशभूषा, मेला, पर्वआदि पर्यटकका लागि आकर्षण हुन सक्छन्।
भारतका उत्तर प्रदेशका लाखौं बासिन्दा प्रत्येक वर्ष मानसरोवर यात्रा गर्ने गर्छन्। भारतको गौरीफन्टा र बनवासा नाकादेखि उत्तरतर्फ बझाङ उरैभन्ज्याङ नाका खोलेर सडक सञ्जाल जोडिएमा मानसरोवर जान उनीहरूलाई छोटो बाटो पर्छ। ‘मानसरोवर यात्रा गर्ने भारतीय तीर्थयात्रुलाई मात्र सुदूरपश्चिमको मार्ग भएर जाने व्यवस्था बनाउन सके मात्र बर्सेनि लाखौं पर्यटक उनीहरू मात्रै हुनेछन्,’ पर्यटन व्यवसायी दिनेश भण्डारीले भने। यकिन तथ्यांक नभए पनि तेस्रो मुलुक अमेरिका, बेलायत, फ्रान्स, जर्मनलगायतबाट खप्तडलगायत गन्तव्यमा वर्षमा करिब एक सयको हाराहारीमा पर्यटक आउने गरेको पर्र्यटन व्यवसायी चौधरी बताउँछन्। यसमा पनि नेपालमा कूटनीतिक निकाय, गैरसरकारी संस्थालगायतमा काम गर्ने बढी आउने गरेका छन्।
प्रकाशित: १४ पुस २०७६ ०४:११ सोमबार