१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

काभ्रेको पुष्पखेतीमा १५ करोड लगानी

फ्लोरिकल्चर एसोसियसन नेपाल काभ्रेको आठौं वार्षिक साधारण सभामा सहभागी। तस्बिर : नागरिक

बनेपा – काभ्रे जिल्लाको पुष्पखेती व्यावसायिक बन्दै जाने क्रमसँगै लगानी पनि थपिँदो छ। हालसम्म जिल्लाको पुष्पखेतीमा १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको व्यवसायीहरुले बताएका छन्।

‘एक दशकअघि सीमित किसान मिलेर सुरु भएको पुष्पखेतीमा यतिखेर ३० जना व्यावसायिक किसान संलग्न छौं। रैथाने जातका फूलखेतीदेखि युभी पोलिहाउसमा खेती गर्ने व्यवसायीसमेत हामीसँग आवद्ध छन्,’ फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) काभ्रेका अध्यक्ष विरेन्द्रबहादुर श्रेष्ठले भने।

फ्यान काभ्रेको आठौं वार्षिक साधारण सभाका अवसरमा उनले भने, ‘जिल्लामा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा हुँदै आएको पुष्पखेतीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी एक हजार तीन सयले रोजगारी पाएका छन्। रोजगारी पाउनेमा ७० प्रतिशत महिला रहेका छन्। गत आर्थिक वर्षमा चार करोडभन्दा बढीको कारोबार फूलबाटै गर्न सक्षम भयौं,’ श्रेष्ठले थपे।

काभ्रेको हावापानी सबैखालका पुष्पखेतीका लागि उपयुक्त रहेकै कारण पछिल्ला वर्षमा खेती राम्रो हुँदै गएको उनको भनाइ छ। ‘यद्यपि अधिकांश खेती गर्ने कृषकमा ‘पोस्ट हार्भेस्ट’बाट हुने फूलको क्षति कम गर्नलाई प्रविधि र पुँजी अभाव रहँदै आएको छ,’ उनले गुनासो गरे, ‘अन्य कृषि उपजजस्तै फूललाई त्यसै भण्डारण गर्न र ढुवानी गर्न मिल्दैन। काभ्रेका पुष्प किसानलाई लक्षित गर्दै कोल्ड रुम स्थापनामा प्रदेश मन्त्रालयले केही सहयोग गरेको छ। अब फूल ढुवानीका लागि कोल्ड रुम जडित एउटा भ्यानको व्यवस्था भइदिए सबैलाई राम्रो हुन्थ्यो,’ श्रेष्ठले भने।

‘जिल्लामा १० हेक्टरभन्दा बढी क्षेत्रफलमा हुँदै आएको पुष्पखेतीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी एक हजार तीन सयले रोजगारी पाएका छन्। रोजगारी पाउनेमा ७० प्रतिशत महिला रहेका छन्। गत आर्थिक वर्षमा चार करोडभन्दा बढीको कारोबार फूलबाटै गर्न सक्षम भयौं,’

अघिल्लो वर्ष काभ्रेका स्थानीय तहले फूलखेतीका लागि नगर तथा गाउँपालिकामा आउन आह्वान गरेको स्मरण गर्दै फ्यानका केन्द्रीय अध्यक्ष कुमार कसजू श्रेष्ठले थोरै–थोरै बजेटले फूलखेतीका लागि नपुग्ने भएकाले माटो र हावापानी सुहाउँदो खेतीका लागि सम्भाव्यता अध्ययन गरेर मात्रै लगानी गर्न सुझाव दिए। ‘अन्य खेतीको दाँजोमा फूलखेतीमा भएको आधुनिकीकरणले लगानी पनि बढी हुँदै आएको र फरक तरिकाको खेती गर्नुपर्ने हुँदा सबै तहका सरकारबाट विशेष मद्दत गरिदिनु पर्छ। स्थानीय तहले पुराना कृषकको खेती क्षमता विस्तार र नयाँ कृषकलाई खेतीमा संलग्न गराउनेतर्फ विशेष सहयोग गरिदिएमा स्थानीय रोजगारीसमेत बढ्छ,’ उनले थपे।

कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख जनार्दन खड्काले काभ्रेको पुष्पखेतीलाई प्रवद्र्धन गर्ने केन्द्रको नीतिअनुसार प्रदेश मन्त्रालयबाट भर्खरै बजेट निकासा भइ आएकाले इच्छुक किसानबाट प्रस्ताव आह्वान गरिएको जानकारी दिए। ‘विगतको कृषि कार्यालयमा जसरी हालको ज्ञान केन्द्रमा बजेट हुँदैन। तर, हामीसँग विभिन्न विषयका अधिकृतस्तरका प्राविधिक रहेकाले पुष्पखेतीमा संलग्न किसानलाई रोगकीरा समस्यालगायत अन्य प्राविधिक सहयोग आवश्यक परेमा निरन्तर सहयोग गर्न सकिन्छ,’ उनले भने।

सो अवसरमा बनेपा नगरपालिकाकी उपप्रमुख रेखा दाहाल सापकोटा र पाँचखालकी उपमेयर लक्ष्मी दनुवारले आगामी आर्थिक वर्षको बजेट तर्जुमा हुँदा पुष्पखेतीका लागि बजेटको व्यवस्था गरिने जानकारी दिए। चालू आर्थिक वर्षमा पनौती नगरपालिका र धुलिखेल नगरपालिकाले पुष्पखेतीकै लागि पाँच–पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। धुलिखेलले त चौवर्षीय कृषि विकास रणनीतिमै पुष्पखेतीलाई प्रमुख प्राथमिकताको खेतीका रुपमा समावेश गरेको छ।

धुलिखेल नगरपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा एक–एकवटा पार्क बनाउने नीतिअनुसार कार्यकालको अन्त्यसम्ममा ६० वटा पार्क बनाउने उल्लेख गर्दै धुलिखेलका मेयर अशोककुमार ब्यान्जूले भने, ‘धुलिखेल नगरपालिकाले वीर बलभद्र कुँवर र वरिष्ठ साहित्यकार गुरुप्रसाद मैनालीको शालिकसहितको दुईवटा भव्य पार्क बनाउँदैछ। सहरलाई हरियाली र सौन्दर्ययुक्त बनाउने काममा फ्यानसँग सहकार्य गर्न सकिन्छ,’ उनले थपे।

पर्यटकीय गन्तव्य धुलिखेलका होटल तथा रिसोर्टले काठमाडौंबाटै फूल र माला ल्याएर कार्यक्रम गरिररहेको ब्यान्जूले बताए। ‘यहाँका किसानले फुलाएको फूलको बजारीकरणका लागि नगरपालिकाले धुलिखेलका होटल व्यवसायीसँग आवश्यक समन्वय र सहयोग गरिदिन्छ,’ उनले थपे।

नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका ब्यान्जूले सात प्रदेशमा एक–एक नगरपालिका छानेर फूलैफूलको सहर बनाउने अभियान लिएर फ्यान केन्द्रले संघसँँग सम्पर्क गरेमा सहयोग गर्ने वचन दिए। ‘विदेशका सहरमा फूल अवलोकन गर्नकै लागि पर्यटक जाने गरेको पाएको छु, नेपालमा किन सम्भव नहुने ? तपाईंहरु आउनुस्, हाम्रा सदस्य रहेका नगरपालिकासँग सम्पर्क, समन्वय र स्रोत जुटाउन सहयोग गर्नेछु,’ उनले थपे।

उपत्यकानजिकै र हावापानी सुहाउँदो भएकाले काभ्रे जिल्लामा फूलखेती फस्टाउँदो छ। बनेपा, धुलिखेल, पाँचखाल नगरपालिकाका साथै रोशी र भुम्लु गाउँपालिकामा व्यावसायिक रुपमै फूलको खेती हुँदै आएको छ। यिनमा एक–दुई लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गर्ने कृषक संलग्न छन्। काठमाडौं उपत्यकामा माग रहेको कटफ्लावर ग्लेडुलस, गुलाब, कार्नेसन, जर्बेरा, लिमोनियम, अर्किडजस्ता फूलको मागको २५ प्रतिशत काभ्रेले धान्दै आएको फ्यान काभ्रेले जनाएको छ। पछिल्लो सयममा जिल्लाबाट सयपत्री, गोदावरी र लिली फूलसमेत जान थालेको छ।

प्रकाशित: ३० भाद्र २०७६ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App