५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

बोलबमका तिर्थालुले सिन्धुलीका होटल भरिभराउ

सिन्धुली- जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा रहेका ठूला तथा मध्यमस्तरका होटल साउन महिनाका तिर्थालुले भरिएका छन्। विपी राजमार्ग हुदै खोटाङको हलेसी महादेव मन्दिर तथा काठमाडौंको पशुपति मन्दिरमा दर्शन गर्ने जाने बोलबमका तिर्थालुले जिल्ला सदरमुकाम सहित खुर्कोटका होटल भरिभराउ भएको होटल व्यवसायीहरु बताउँछन्।

साउन महिना सुरु भएदेखिनै विपी राजमार्गमा बोलबमको झन्डा सहितका गाडी तथा मोटसाइकलको चाप बढेको छ। तिनै तिर्थालुले होटल तथा लज भरिएका हुन्। भारतका विभिन्न प्रान्तबाट तथा नेपालकै तराईका जिल्लाबाट दर्शन गर्न विपी राजमार्ग प्रयोग गर्ने तिर्थालु बढेसँगै यहाँका होटलको कारोबार समेत बढेको छ। होटल व्यवसायी संघ सिन्धुलीका महासचिव सिताराम पहाडी बोलबमका तिर्थालुले होटलको कारोबार बढेको बताउँछन्। राजमार्गमा सवारी चाप बढेसँगै राजमार्गका होटलको कारोबार स्वभाविकनै बढेको हुन्छ, उनले भने, बोलबमका तिर्थालुले लज भरिएको छ। साकाहारी खाना नास्ता र लजको जिल्लामा कारोबार बढेको छ। होटलको कारोबार सुस्त गतिमा भएको समयमा श्रावण महिना लागेसँगै बोलबमका तिर्थालुले भरिएको उनले जनाए।

जिल्लाभर पाँच सय बढी होटल छन्, तिमध्ये विपी राजमार्गआसपासका होटल भरिभराउ भएको छ, पहाडीले भने, कारोबार बढेको छ। सिन्धुलीको दुधौली नगरपालिका २ मा रहेको मधुगङगा महादेव मन्दिर दर्शनका लागि पनि बोलबमका तिर्थालु बढेका छन्। विपी राजमार्गको भिमानबाट निर्माणधिन मदनभण्डारी राजमार्ग हुदै पुगिने मधुगङगा महादेव मन्दिरको दर्शनका लागि जाने तिर्थालुले  राजमार्ग खचाखच भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई रामेश्वर पाण्डे बताउँछन्। विपी राजमार्गको भिमानसम्म अत्याधिक चाप छ, उनले भने, यो सँगै हलेसी जाने तिर्थालुले विपी राजमार्गमा चाप थपिएको छ।

हलेसी जाने तथा मधुगङगा महादेवको दर्शन गर्न आउने तिर्थालुले खाना नास्ता तथा लजको कारोबार बढाएका हुन्। प्रत्येक दिन खाने खाने समय तथा बेलुकाको समय होटलमा तिर्थालुका गाडी तथा मोटसाइकलले भरिएको स्थानीय बताउँछन्। सहज र सस्तो कोठा बोलबमका तिर्थालुले खोज्ने गरेका छन्, त्यसको साथमा साहाकारी खाना तथा रोटीको कारोबार बढेको छ, जिल्ला सदरमुकामका एक होटल व्यवसायीले भने।

जिल्लामा बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग खुलेसँगै करोड लगानीका होटल खुल्ने क्रम बढेको छ। काठमाडौं लगायत देशका विभिन्न ठुला शहरहरुमा  आवातजावत गर्नका लागि जिल्लाका चार ठुला मार्गले सहज बनाएपछि जिल्लामा होटल व्यवसाय गर्ने समेत बढेका छन्। होटल व्यवसाय गर्ने बढेसँगै चाडपर्वका समयमा जिल्लाका होटल भरिने व्यवसायी बताउँछन्। बीपी राजमार्गले काठमाडौं लगायत देशका विभिन्न स्थानमा सहजै ओहोरदोहोर गर्न सक्ने माध्यम खुलाएपछि यहि राजमार्गको प्रयोग गरेर विभिन्न धार्मिक स्थलको दर्शन गर्न जाने बोलबमका तिर्थालुले श्रावण महिनाभर होटल तथा राजमार्ग भरिने गरेको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App