१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

२५ सय मिटरको धावनमार्ग तयार

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग केही दिनअघि ढलानको क्रममा । तस्बिर: उमेश पुन/नागरिक

पोखरा - निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनमा राख्दै प्राथमिकतामा पारेको यो विमानस्थल निर्माण गति तीव्र रुपमा भइरहेको छ । धावनमार्ग पूरा भएको आयोजनाले बताएको छ । धावनमार्ग बाहेकका पूर्वाधार पनि धमाधम निमाण भइरहेको आयोजनाले बताएको छ ।

आयोजनाका अनुसार ‘सिमेन्ट कंक्रिट’ गरिएको धावनमार्ग पूरा भएको हो । ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूरा भएको छ,’ राष्ट्रिय गौरवका विमानस्थल हेर्दै आएको आयोजनाका निर्देशक प्रदीप अधिकारीले भने, ‘तोकिएको भन्दा ६ महिनाअघि नै काम सक्नेगरी यो आयोजना पूरा गर्ने लक्ष्यका साथ कामले तीव्रता पाएको थियो ।’ त्यही अनुसार गति दिँदा धावनमार्ग पूरा भएको उनले बताए ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ वैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पूर्वाधार बनाउन थालिएको थियो । डेढ वर्ष अवधिमा निकै नै तीव्रता दिँदा धावनमार्ग सहितका पूर्वाधार सम्पन्न भएको उनले बताए । अधिकारीका अनुसार २५ सय मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । ‘धावनमार्गको सबै काम सकिएको छ । धावनमार्गमा गर्नुपर्ने काम केही बाँकी छैन,’ उनले भने, ‘कंक्रिट धावनमार्ग निकै नै बलियो पनि हुन्छ ।’
उनका अनुसार पोखराको यो विमानस्थलको धावनमार्ग नेपालकै पहिलो ढलानयुक्त हो । अन्यत्र कालोपत्रे गरिए पनि पोखराको यो धावनमार्ग सिमेन्ट कंक्रिटयुक्त छ । कालोपत्रेभन्दा सिमेन्ट कंक्रिटयुक्त धावनमार्ग निकै नै बलियो हुने उनले बताए । ‘आकस्मिक अवतरणका लागि समेत धावनमार्ग तयार भएको छ,’ उनले भने, ‘धावनमार्र्ग नभई दायाँबायाँ हुने नाला पनि तयारी अवस्थामा पुगिसकेको छ ।’

अधिकारीका अनुसार अहिले टर्मिनलसहितका भवन बनाउने काम तीव्र रुपमा भइरहेको छ । अबको डेढ वर्षमा सबै भवन तयार भइसक्ने अधिकारीले बताए । २०२१ को जुलाईमा सरकारलाई हस्तान्तरण गर्ने भनिएपछि ६ महिनाअघि नै विमानस्थल तयार भइसक्ने अधिकारीले बताए । ‘राष्ट्रिय गौरवका आयोजना निकै नै ढिला हुने गरेका छन् । तर, पोखराको यो विमानस्थल तोकिएभन्दा ६ महिनाअघि नै सम्पन्न गरेर नमूना देखाउन चाहेका हौं,’ अधिकारीले भने, ‘काममा अवरोध नआएकाले तोकिएभन्दा अगाडि काम सक्न सहज पनि भएको छ ।’ आयोजनाका अनुसार अहिले १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन बनिरहेको छ । आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय र ६ हजार स्क्वायर मिटर आन्तरिक यात्रुका लागि छुट्याइनेछ ।

आयोजनाका इन्जिनियर कृष्ण पौडेलका अनुसार जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा तीनवटा ठूलो र आठवटा आन्तरिक उडानका गरी ११ जहाज पार्किङ गर्न मिल्ने ठाउँ छ । ‘एप्रोन पनि तयार भएको छ,’ पौडेलले भने, ‘पार्किङस्थल पनि सिमेन्ट कंक्रिट नै हो ।’ धावनमार्गबाट पार्किङसम्म जहाज लैजाने ठाउँ (ट्याक्सी–वे) पनि तयारी हुन थालेको उनले बताए । ट्याक्सी वेको अन्तिम लेयर मात्र पूरा हुन बाँकी छ ।

इन्जिनियर पौडेलका अनुसार अहिलेसम्म आयोजनाको ३५ प्रतिशत काम पूरा भएको छ । ‘अब आवश्यक भवन पूरा हुन मात्र बाँकी हो । अहिले ठूला–साना गरी १४ वटा भवन तीव्र रुपमा बनाउने काम भइरहेको छ,’ उनले भने, ‘कामले तीव्रता पाउँदा तोकिएभन्दा छिटो गतिमा काम सकिन्छ ।’ धावनमार्गको दायाँबायाँ सम्याउने, नाला बनाउनेदेखि सामान्य कामले पनि गति लिइरहेको उनले बताए ।

वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरी विमानस्थल बन्दैछ । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच सहमति भएको थियो । विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ ।

प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।

प्रकाशित: ५ वैशाख २०७६ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App