१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुखुरापालकलाई जैविक सुरक्षामा ध्यान दिन सुझाव

भरतपुर महानगरपालिका वडा नम्बर १८ मा गरिएको कुखुरापालन। तस्बिर : नागरिक

चितवन - कुखुरापालन गर्दा फाइदा लिनमात्र नभई विभिन्न रोगको संक्रमण हुन नदिन जैविक सुरक्षा उपाय अपनाउनुपर्छ। गत साता मकवानपुरमा बर्डफ्लू भेटियो। यस्तै, देशका अरु स्थानमा गरिएका कुखुरापालनमा पनि यो रोगको संक्रमण देखिएको छ। मकवानपुरसँग सिमाना जोडिएको र काठमाडौंसँग दैनिक कारोबार हुने जिल्लाका हिसाबले चितवनमा पनि बर्डफ्लूको अत्यन्त धेरै जोखिम छ।

धेरै फार्म र पोल्ट्री व्यवसायको हबको रुपमा रहेको चितवनमा पनि जोखिम धेरै रहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठ बताउँछन्। जिल्लामा ठूला व्यवस्थित फार्मसँगै  अव्यवस्थित साना र मध्यम खालमा फार्म पनि धेरै छन्। नेपालभरीको कुखुरापालनलाई हेर्ने हो भने पछिल्लो वर्षमा साना र मध्यम खालका फार्म पनि व्यवस्थित हुँदै गएको पाइएको उनले बताए। फार्महरु व्यवस्थित बन्दै गए पनि चैत, वैशाख र जेठमा कुखुरापालन व्यवसायमा ठूलो नोक्सानी गर्ने बर्डफ्लूको जोखिम धेरै हुन्छ।

कुखुरापालन व्यवसायलाई ठूलो क्षति गर्ने यस्ता संक्रमण देखिँदा जोखिम कम गर्न जैविक सुरक्षा विधि पालना गर्नुपर्ने उनी बताउँछन्। बर्डफ्लू रोगविरुद्ध कुखुरालाई खोप लगाउ धेरै देशले प्रतिबन्ध लगाएका छन्। नेपालमा पनि प्रतिबन्धित छ। खोपले रोग नियन्त्रण नहुने, रोगको भाइरस परिवर्तन भइराख्ने भएकाले प्रतिबन्ध लगाइएको उनले बताए। ‘रोग कसरी आउन नदिने भन्ने हो। आउन दिन्न भन्नलाई जैविक सुरक्षा गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘रोग आइहाल्यो भने उपचार छैन। त्यसैले जैविक सुरक्षा अपनाउनुबाहेक अरु उपाय छैन।’

रोगको संक्रमण हुन नदिन वा रोगलाई फार्मभित्र आउन दिन्न भनेर जे जे उपाय अबलम्बन गरिन्छ त्यसलाई जैविक सुरक्षाको विधि भनिने उनी बताउँछन्। कुनै पनि रोगको किटाणु फार्मभित्र आउन नदिने, आइहाले भने त्यो फार्मबाट अन्यत्र सर्न नदिनुलाई नै जैविक सुरक्षा विधि भनिन्छ। यसमा कुखुरापालनमा रोगका किटाणु, जिवाणु, विषाणु फार्मसम्म नआओस् भनेर प्रमुख रुपमा तीन कार्यलाई प्राथमिकतामा राखिन्छ।

जैविक सुरक्षा विधिमा कुखुरा फार्म बनाउँदा नै मानिसको बस्तीबाट टाढा, आवतजावत कम हुने, मानिसको पहुँचभन्दा टाढा र प्रमुख सडकबाट भित्र हुने गरी बनाइन्छ। पछिल्लो समयमा खुलेका नयाँ फार्ममा यो विधि अवलम्बन गरिएको पाइने डा. श्रेष्ठ बताउँछन्। यसै अनुसार चितवनमा पनि पहाडी क्षेत्रको डाँडाकाँडामा नयाँ फार्म खुलिरहेका छन्।

यो विधिमा अर्को प्रमुख प्राथमिकता अनावश्यक आवतजावत नियन्त्रण गर्नमा दिइने उनले बताए। ‘आवश्यकता नभएको मानिस, गाडी, चराचुरुंगी लगायतको सम्पर्क फार्मसँग हुन दिनु हुँदैन,’ उनी भन्छन्, ‘सामान ओसारपसार गर्ने गाडी र मानिसलाई पनि सिधै फार्ममा सम्पर्क गराउनु हुँदैन।’ दाना, अण्डा, कुखुरा ओसारपसार गर्ने गाडी र मानिस धेरैवटा फार्ममा जाने भएकाले रोग सार्ने जोखिम बढी हुने उनी बताउँछन्। तेस्रो प्रमुख कार्यमा निसंक्रमणका औषधी छर्ने गर्नुपर्ने डा. श्रेष्ठको सुझाव छ।

फार्म वरपर चुना, फार्मको वरिपरि, बाहिर फर्मालिन छर्किन सकिन्छ। यस्तै, खोरभित्र प्रयोग गर्न सकिने र कुखुरालाई असर नगर्ने निसंक्रमणका औषधी पनि पाइन्छ। रोगको जोखिम कति हुन्छ भन्ने आधारमा नै निसंक्रमणका औषधी छर्नुपर्ने उनी बताउँछन्। कम्तीमा साताको दुईपटक निसंक्रमणको प्रयोग गर्दा लाभदायक हुने उनी बताउँछन्। जैविक सुरक्षा विधिमा अपनाईने सबै भन्दा कम प्रभावकारी उपायको रुपमा निसंक्रमणको औषधी छर्कनुलाई लिइने उनको भनाइ छ।

खर्चिलो र कम प्रभावकारी उपाय मानिए पनि रोग नियन्त्रणमा थोरै भए पनि सहयोग पुग्ने उनले बताए। ‘चैत, वैशाख, जेठमा किसानलाई दाना र अण्डाको गाडीलाई फार्मको गेटभित्र नछिराउँदा नै उत्तम हुन्छ,’ उनी भन्छन्, ‘निसंक्रमण गराएर मात्र उत्पादन भित्र–बाहिर गराउनु उपयुक्त हुन्छ।’ रोगको संक्रमण हुने महिनामा उत्पादनहरु गेटबाहिर नै लोड–अनलोड गराएर ओसारपसार गर्दा जोखिम घटाउन सकिने उनको भनाइ छ।

फार्मलाई वरिपरिबाट तारबार तथा पर्खाल लगाएर घेर्ने, फर्ममा दाना, अण्डा, कुखुरा लगायतका उत्पादन ओसारपसार गर्ने गाडी प्रवेश गर्ने ठाउँमा ‘भेहिकल बाथ’ तथा मानिसका लागि ‘फुट बाथ’को व्यवस्था गर्नु जैविक सुरक्षा विधिभित्र पर्छ। फार्मका कामदारका लागि छुट्टै कपडा, मास्क, पञ्जा, जुत्ता व्यवस्था, एउटा खोरमा काम गर्ने मानिस अर्को खोरमा काम नगर्ने व्यावहारिक काम पनि यो विधिमा पालना गरिन्छ। कुखुरामा रोग देखिनेबित्तिकै त्यसलाई अलग्याएर राख्ने, रोग पहिचान गर्न परीक्षण गराउने गर्नुपर्छ। फार्ममा मरेका पक्षी, पक्षीका प्वाँख, सुली जथाभावी फ्याँक्नु हुँदैन।

रोगहरु एक ठाउँबाट अर्को ठाउँमा विभिन्न माध्यमबाट सर्ने भएकाले सानासाना व्यावहारिक कुरामा समेत ध्यान दिनुपर्ने भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनका प्रमुख डा. श्रेष्ठ बताउँछन्। नेपाल कुखुरापालक किसान संघले गएको वर्ष जिल्लाका ६ वटा स्थानिय तहमा कुखुरापालन गर्ने किसानलाई जैविक सुरक्षा विधिबारे तालिम दिएको संघका केन्द्रीय अध्यक्ष झनक पौडेल बताउँछन्। बाहिरी जिल्लामा बर्डफ्लू देखिएको यो समयमा जिल्लामा संक्रमण देखिन सक्ने सम्भावना प्रबल रहेको उनले बताए। जैविक सुरक्षा विधिबारे सचेतना कार्यक्रम गरेपछि किसानहरु केही सचेत भएको उनी बताउँछन्।

प्रकाशित: १० चैत्र २०७५ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App