१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

साल्ट ट्रेडिङले चिनीको भाउ घटायो

काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले चिनीको भाउ घटाएको छ । कर्पोरेसन चिनी किलोमा दुई रुपैयाँ मूल्य घटाएर ६८ रुपैयाँमा बिक्री गर्न सुरु गरेको हो । यसअघि चिनी किलोको ७० रुपैयाँमा बिक्री गर्दै आएको थियो।

तिहारलाई लक्ष्य गरी उपभोक्तालाई सहुलियत दिन चिनीको मूल्य घटाएको कर्पोरेसनका विभागिय प्रबन्धक ब्रजेश कुमार झाले बताए । ‘बजारको भन्दा सस्तो दरमा चिनी बिक्री गरेका छौं,’ झाले भने, ‘सुपथ मूल्य पसलबाट खरिद गर्न सकिन्छ।’

कर्पोरेसनसँग करिब १७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जनाएको छ । तिहारमा चिनी खपत बढी हुन्छ । बजारमा बिक्री भएको भन्दा गुणस्तरीय चिनी बिक्री भएको कर्पोरेसनको दाबी छ । ‘सल्फर फ्री चिनी बिक्री गरिरहेका छौं,’ झाले भने । कर्पोरेसनले विदेशबाट चिनी आयात गरेर बिक्री गर्दै आएको छ।

कर्पोरेसनले सस्तोमा चिनी बिक्री गरे पनि बजारमा भने चिनी किलोमा ७५ देखि ८० रुपैयाँ किलोमा बिक्री भएको छ । सरकारले विगतमा सूपथ मूल्य पसलमार्फत दिँदै आएको सहुलियत भने कटौती गरेको छ । संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य किलोको ६३ रुपैयाँँ कायम गर्न निर्देशन दिए पनि कार्यान्वयन भएको छैन । उद्योगीले फयाक्ट्री मूल्य प्रतिकेजी ६४ रुपैयाँँमा चिनी बिक्री गरेको दाबी गरे पनि बजारमा चिनी महँगो छ।

सरकारले चिनी आयातमा कोटा निर्धारण र भन्सार दर बढाएपछि उद्योगीले चिनीको भाउ बढाउँदा बजारमा मूल्य धेरै छ।

सरकारको गैरजिम्मेवारीपनको कारण उपभोक्ताले खुला बजारमा महँगोमा चिनी किन्नुपरेको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।

उद्योगीकै माग अनुसार चिनी आयातमा लाग्ने भन्सार १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याएपछि खुला बजारमा चिनी महँगिएको छ । चिनी उद्योगले उपभोक्तालाई समेत भार पर्ने गरी मनपरी ढंगले चिनीको मूल्य निर्धारण गरेर बिक्री गर्दा उपभोक्ता ठगिएका हुन्।

यसैबीच, कर्पोरेसनले चाडपर्वलाई लक्ष्य गरी सञ्चालन गरेको सुपथ मूल्य पसलमा करिब दुई करोड रुपैयाँको कारोबार भएको छ । उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित सुपथ मूल्य पसलमा दुई करोड दुई लाख ८२ हजार रुपैयाँको दैनिक उपभोग्य वस्तु बिक्री भएको झाले बताए ।  कर्पोरेसनले दसैं, तिहार, छठ पर्वलाई लक्ष्य गरेर सहुलियत मूल्यमा दाल, चामल, चिनी, नुन, तेल, गेडागुडी लगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको छ । ‘दैनिक उपभोग्य वस्तुमा कर्पोरेसनका तर्फबाट पनि छुट दिएका छौं,’ झाले भने।

कर्पोरेसनसहित सरकारी स्वामित्वका नेपाल खाद्य संस्थान, दुग्ध विकास संस्थानले पनि आफ्ना डिपोबाट दूध, चामल, मासुमा छुट दिँदै आएका छन् । खाद्य संस्थानले खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रतिकेजीका दरले छुट दिएको थियो । दुग्ध विकास संस्थानले घिउ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ।

सुपथ मूल्य पसलहरू साल्ट ट्रेडिङका काठमाडौंस्थित आठवटा स्टल, तीनवटा घुम्ती सेवा पसल, त्रिशूली डिपो, कर्पोरेसनका २२ कार्यालय गरी ३६ स्थानमा छन् । यसमध्ये २२ वटा उपत्यकाबाहिर छन् ।
दसैं–तिहार तथा छठ पर्व लक्षित पसल कात्तिक २७ गतेसम्म सञ्चालन हुने आपूर्ति मन्त्रालयले जनाएको छ । उपभोक्तालाई राहत दिने उद्देश्यले सूपथ पसल सञ्चालन गरेको मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा विगतमा पनि यस्ता कार्यक्रम सञ्चालन हुँदै आएको छ । चाडको मौका छोपेर हुने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन पनि प्रभावकारी बनाएको मन्त्रालयले जनाएको छ । सघन रुपमा अनुगमन गर्न मातहतका निकायलाई परिचालन गरेको मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए।

प्रकाशित: २० कार्तिक २०७५ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App