१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको भाउ ६० हजार नाघ्यो

काठमाडौं - एक हप्ताभन्दा लामो स्थिरतापछि सुनको मूल्य ६० हजार रुपैयाँ नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि हुँदा स्थानीय बजारमा ६ वर्षयताकै उच्च बिन्दुमा पुग्दै बुधबार ६० हजार एक सयमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सय रुपैयाँले बढेर ६० हजार एक सय रुपैयाँमा कारोबार भएको छ।

असोजको अन्तिम हप्ता ६० हजार पुगेको सुन त्यसपछि त्यही मूल्यमा स्थिर रहेको थियो । सुनको मूल्य एक हप्ताभन्दा लामो समयसम्म स्थिर हुँदै पुनः बढ्न थालेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘यति लामो समयसम्म सुनको मूल्य स्थिर खासै हुँदैन,’ शाक्यले भने, ‘यसपालि गज्जबले ६० हजारमै स्थिर रह्यो।’

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पछिल्लो एक हप्तासम्म १२ सय २१ देखि १२ सय २९ डलरसम्म रहेको उनले बताए । बुधबार एक डलरले बढेर १२ सय २९ प्रतिऔंसमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा १–२ डलरमात्र तलमाथि भइरहेको शाक्यले बताए।

पछिल्लो समय नयाँ उचाइमा पुगेको सुनको मूल्य २०६९ भदौयता कै महँगो भएको शाक्यले बताए । २०६९ भदौमा प्रतितोला ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो। दुई वर्षअघि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४७ हजार सात सयसम्म झरेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर स्थानीय बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढेको हो । अमेरिकी डलर उच्चतम बिन्दुमा पुगिरहेको बेलामा अकस्मात कमजोर बनेको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय सेयर बजार पनि कमजोर हुँदै गएको छ । सेयर बजार कमजोर हुँदा लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । अन्तर्राष्ट्रिय स्तरका केही कम्पनीको सेयर मूल्यमा एक्कासि कमी आएको र त्यसले सुनलाई असर गरेको शाक्यले बताए।

सुनको खपत धेरै हुने छिमेकी मुलुक भारतमा तिहार र छठसँगै विवाहको सिजन आउँदै गर्दा भारतीय बजारमा सुनको खपत बढेको छ । त्यसले सुनको मूल्य बढाउन सहयोग गरेको छ । यसको साथै, भारतीय रुपैयाँ डलरसँग कमजोर हुँदा पनि सुनको मूल्यमा चाप परेको विश्लेषण छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा अझै केही दिन बढ्न सक्ने अनुमान गरिएको छ। अमेरिकी डलर र सेयर बजार कमजोर हुँदै जाने संकेतसँगै सुनको मूल्य बढ्न सक्ने विश्लेषकले अनुमान गरेका छन्।

भारतीय बजारमा सुनको खतप बढे पनि नेपाली बजारमा भने बढ्न नसकेको शाक्यले बताए।

वितगमा वर्षमा झैं दसैं, तिहार, छठलगायत चाडपर्वले स्थानीय बजारमा सुनको खपत बढेको छैन। विगतका वर्षमा दसैंको बेला प्रतिदिन ५० केजी कारोबार भएकोमा यसपालि ३० केजीसम्म भएको छ।

सुन महँगिएकाले पनि किन्नेभन्दा बेच्ने बढेको व्यवसायीको भनाइ छ । दसैं, तिहार, छठ जस्ता चाडसँगै विहेको सिजन आउँदै गर्दा सुनको खपत बढ्ने अनुमान थियो । तर त्यस अनुरुप नबढेको व्यवसायीको भनाइ छ।    

सरकारले चाडपर्वको अवसर पारेर सुन आयातको कोटासमेत बढाएको थियो । सामान्य दिनमा दैनिक २० किलो आयात भएकोमा चाडपर्वमा हुने खपतलाई ध्यानमा राखेर राष्ट्र बैंकले दैनिक आयात २५ केजी पु-याएको छ।

प्रकाशित: ८ कार्तिक २०७५ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App