१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा समिटको उडान सुरु, नेपाल एयरलाइन्सको बुधवारबाट

सुकेटार बिमानस्थलमा जहाज अवतरण भएपछि काठमाडौ जान जहाज नजिकै पुग्दै एक यात्रु। तस्बिर: खगेन्द्र/नागरिक

ताप्लेजुङ – यात्रुलाई खुसीको सन्देश दिँदै समिट एयरले ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिब दुई महिनासम्म जहाज अवतरण हुन नसकेको खडेरी तोडेको छ।  सुकेटारमा मंगलबार समिट एयरले यो सिजनको पहिलो उडान भर्दा अर्को खुसीको सन्देश पनि थपिदिएको छ।

मंगलबार सातामा एकदिन काठमाडौं–ताप्लेजुङ–काठमाडौ उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको समिटले यात्रुको चाँपलाई हेरेर शनिबारपनि उडान गर्ने योजना बनाएको छ। ‘दशैं–तिहार जस्ता पर्व मनाउन हवाई मार्गबाट आउन–जान चाहनेहरूका लागि अवसर दिन खोजिएको हो’समिट एयरका ताप्लेजुङ स्टेशन इञ्चार्ज प्रकाश लामाले भने। उनका अनुसार समिटको ताप्लेजुङ स्टेशनले असोज २७ गते शनिबारका लागि टिकट बुकिङ् पनि खुल्ला गरेको छ। यात्रुको माग भए नियमित बाहेक अतिरिक्त उडान समेतको व्यवस्था गर्न लागिएको लामाले बताए।

यता नेपाल वायु सेवा निगमले बुधवारबाट साताको २ दिन सुकेटार बिमानस्थलमा उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। निगमका यहाँस्थित निमित्त स्टेशन इञ्चार्ज विकास राईले बुधबार र शुक्रबार काठमाडाैं–ताप्लेजुङ–काठमाडौ उडान तालिका तय गरेको जानकारी दिए। ‘यो तालिका अनुसार नै टिकट बुकिङ् थालिएको छ’ राईले भने।

असारमा ३ र साउन १ उडान हुनु बाहेक त्यसयता नेपाल वायु सेवा निगमले सुकेटार बिमानस्थलमा जहाज अवतरण गरेको छैन। समिटको उडान त यो सिजनकै पहिलो हो। कुहिरोले बिमानस्थल क्षेत्र ढाक्ने र दोहोरो धावनमार्गको अभावका कारण सुकेटार बिमानस्थलमा खासदिन बाहेक हमेसा जहाज अवतरण हुन कठिन छ।

प्रकाशित: २३ आश्विन २०७५ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App