१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

त्रियुगा नगरपालिकाको बजेट साढे ९७ करोड

नगरसभा सञ्चालन गर्दै मेयर बलदेव चौधरी। तस्बिरः महेश्वर/नागरिक

उदयपुर – झण्डै  एक अर्बको बजेट ल्याउँदै सदरमुकामस्थित त्रियुगा नगरपालिकाले चालू आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको छ। गत असार ३२ गते सुरु भएर सोमबार सम्पन्न साताव्यापी ‘तेस्रो नगरसभा अधिवेशन’ ले नगर प्रमुख बलदेव चौधरीद्वारा आर्थिक वर्ष ०७५–७६ का लागि प्रस्तुत ९७ करोड ५२ लाख ९८ हजार रुपैयाँको बजेट पारित गरेको हो।

‘स्वच्छ, सुन्दर र समृद्व त्रियुगा नगरी, समतामुलक शान्त समाज हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ सम्पन्न अविधेशनमा मेयर चौधरीले प्रस्तुत गरेको बजेटमा चालूतर्फ ६० करोड र पूँजीगततर्फ ३७ करोड ५२ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा आम्दानीतर्फ संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटबाट ३९ करोड ५२ लाख ९८ हजार रहेको छ भने संघीय सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३५ करोड ६५ लाख छ।

त्यसैगरी विशेष अनुदान १३ करोड ३५ लाख रहेको छ। आन्तरिक आयतर्फ नगरपालिकाले यो वर्ष ५ करोड ५० लाख आम्दानी हुने अनुमान गरेको छ भने २०७४–७५ को संचित कोषको ३ करोड ५० लाख हाराहारी अनुमानित प्रस्तुत आय सभाले पारित गरेको छ।

खर्चतर्फ सडक तथा नगरपालिकाभित्र चक्रपथ (रिङरोड) निर्माण गर्ने, मोतीगडा–फत्तेपुर, मोहनपुर–ककनी, रानीवास–रौता, साउने–धाप्लाङजस्ता सडकहरुको स्तरोन्नति गर्ने कार्यक्रममा बढी केन्द्रित गरिएको छ। छिमेकी जिल्ला र स्थानीय तहहरुलाई जोड्ने गरी रणनैतिक महत्वका योजनाहरु नगर अधिवेशनले पारित गरेको छ। विश्व वैंकको सहयोगमा चक्रपथ निर्माण कार्य प्रारम्भ यसै वर्षवाट गर्नेगरी नीति तथा कार्यक्रमले कार्यक्रम तय गरेको छ।

प्रकाशित: ८ श्रावण २०७५ १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App