१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विषादीरहित सूर्याेदय नगरपालिका

विषादीमुक्त अभियानअन्तर्गत सूर्याेदय नगरपालिकाको फिक्कलमा निकालिएको चेतनामूलक र्याली।  तस्बिर : नागरिक

इलाम – तीन वर्षभित्र सबै बालीनाली अर्गानिक बनाउने लक्ष्यसहित चिया र तरकारीको राजधानी इलामको सूर्याेदय नगरपालिकालाई विषादीमुक्त गरिएको छ। बालीनालीमा निषेधित विषादी लुकीचोरी व्यापक प्रयोग भइरहेका बेला नगरपालिकालाई निषेधित विषादी (रेड लेभल) मुक्त घोषणा गरिएको हो। 

चिया, तरकारी, दूध र अलैंचीले समुन्नत सूर्याेदय नगरपालिकामा अब मानव स्वास्थ्यलाई हानी गर्ने विषादी प्रयोग गर्न पाइने छैन्। विषादीले मानवस्वास्थ्यमा मात्र नभई वातावरणमा समेत गम्भीर असर पुगिरहेको भन्दै नगरपालिकाको अगुवाईमा जनप्रतिनिधि, किसान, उद्योगीलगायतले नगरलाई विषादीमुक्त बनाउने भएका हुन्।

स्वच्छ कृषि उत्पादन, दीगो खेतीप्रणाली कायम राख्दै प्राकृतिक सन्तुलन बचाउन पनि नगरलाई विषादीमुक्त बनाउन आवश्यक देखिएको नगरपालिका प्रमुख रणबहादुर राईले बताए। ‘विषादी विष नै हुन्, औषधि कहिल्यै होइनन्,’ प्रमुख राईले भने, ‘हामी नगरको कृषिमा प्रयोग भइरहेको विषादी हटाउन विभिन्न ३ चरणसम्मका कार्यक्रम गर्दैछौं।’ विषादीमुक्त नगरका लागि पहिलो चरणमा विद्यालयहरूमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रतिबन्धित विषादीको सूची सार्वजनिक स्थानमा प्रदर्शन गर्ने, विषादी नियन्त्रण सूचना संयन्त्र निर्माण गर्ने र भारतीय सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाउने नगरको योजना छ। 

दोस्रो चरणमा नगरले विषादीका वैकल्पिक उपायबारे जनचेतना फैलाउने, विषादीको विकल्पमा सहुलियतपूर्ण कार्यक्रम ल्याउने, प्रयोगस्थल र बजारमा छड्के जाँच गर्ने तथा जैविक विषादी उत्पादन केन्द्र र प्रयोगशाला निर्माण गर्ने भएको प्रमुख राईले बताए। बोटबिरुवामा रहेको विषादी अवशेष नियन्त्रणको विधि लागू गर्ने, आवादी र पर्यटकीय क्षेत्र आसपास ‘नो स्प्रे जोन’ घोषणा गर्ने र विषादीलाई दीर्घकालीन नियन्त्रण–नियमन गर्ने नीति बनाइ लागू गर्ने नगरको तेस्रो चरणको कार्यक्रम छ।  

सूर्याेदय नगरपालिकामा उत्पादन हुने अर्गानिक तयारी चियाको ठूलो हिस्सा अहिले तेस्रो मुलुकमा बिक्री भइरहेको छ। नेपालका प्रमुख सहरसहित जर्मनी, अमेरिका, अस्ट्रेलिया, क्यानडा, चीन, नेदरल्यान्डजस्ता देशमा यहाँको तयारी अर्गानिक चिया बिक्री हुने गरेको छ। केही दिनअघि ९ देशका १७ चिया व्यापारी सूर्याेदय नगरपालिकाको श्रीअन्तु आएर साना किसानले उत्पादन गरेको अर्गानिक चिया ‘टेस्ट’ गरी फर्केका थिए। नगरपालिकाकै समन्वयमा ती व्यापारीसँग किसानले तयारी चियाको बजार सम्भावना पहिल्याएका थिए। 

चियालाई अन्तर्राष्ट्रिय मापदण्डको अर्गानिक बनाउनु आवश्यक भएकाले विषादी प्रयोगलाई निरुत्साहित गरिएको उनले जनाए। सूर्याेदय नगरमा ५ दर्जन चिया प्रशोधन कारखाना छन्। यी कारखानामा बर्सेनि ४० लाख किलो अर्थाेडक्स चिया उत्पादन भइरहेको छ। तर, उच्च मूल्यमा तेस्रो मुलुक निर्यात हुने अर्गानिक चिया चाहिँ २ लाख हाराहारी किलोमात्रै छ। 

चियाजस्तै सूर्याेदय नगरका किसानको गतिलो आम्दानीको अर्काे स्रोत हो– तरकारी। यहाँका हजारौं किसानले तरकारी खेती व्यावसायिक बनाएका छन्। उनीहरूले उत्पादन गरेको तरकारीको मुख्य बजार झापासहित तराई र भारतका सीमावर्ती सहर हुन्। तर, केही किसानले अर्गानिक तरकारी उत्पादन गरिरहेपनि उनीहरूको उत्पादन अर्गानिक प्रमाणित हुन सकेको छैन। यहाँ उत्पादन हुने तरकारी पनि विषादीरहित बनाउन नगरले विषादीमुक्त नगरको अवधारणा ल्याएको नगरका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले बताए। 

सूर्याेदय नपामा अदुवा, अकबरे, गोलभेंडा, इस्कुस, मुला, काँक्रोलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुन्छन्। यहाँका सयौं किसानको जीवनस्तरमा तरकारी खेतीले कायापलट नै गरिदिएको छ। तरकारीमा विषादीको मात्रा घटाउन नगरले किसानलाई जागरुक गराउने जनाएको छ। 

मोनोक्रोटोफस, इथियन, क्विनालफोस र सुफोसजस्ता रासायनिक विषादी मानव स्वास्थ्यका लागि हानीकारक भएको विश्व स्वास्थ्य संगठनले सन् २००४ मा ठहर गरेको थियो। विशेषगरी चियामा प्रयोग भइरहेको डाइक्लोर्भोस, मोनोक्रोटोफोसलाई उच्च जोखिम र क्विनालफोस तथा इथियनलाई मध्यमस्तरको जोखिमको सूचीमा राखिएको थियो। ‘हानीकारक विषादी भारतीय सीमाबाटै भित्रिने गरेको रहेछ। स्थानीय बजारमा अनुगमन गर्दा यहाँ चाहिँ पाइएन,’ शर्माले भने, ‘खुला सीमाका कारण भारतबाट लुकिछिपी यस्ता विषादी आउने गरेको पाइयो।’

खाद्यान्नमार्फत शरीरको बोसोमा जम्ने विषादीले मुटु, मृगौला, फोक्सो र स्नायुसहित छाला तथा भित्री अंगमा असर पुर्याउने चिकित्सक बताउँछन्। जिल्लाका धेरै स्थानमा विषादीको प्रयोग हुने गरेको भन्दै विषादीको असर अध्ययन गरिरहेका चिकित्सक भक्तबहादुर दाहालले विषादीले मुटु, रक्तचाप, मृगौला र श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने गरेको बताए। 

१ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा सूर्याेदय नगरपालिकालाई ‘चियाको राजधानी’ र ‘पर्यटकीय नगर’ घोषणा गरिसकेको छ। सूर्याेदय दृश्यावलोकनका लागि देशमै प्रख्यात अन्तुडाँडा, कन्याम चियाबारी, फिक्कल, पशुपतिनगर, पाथीभरा मन्दिरलगायत समेटिएको सूर्याेदय नपामा बर्सेनि हजारौं पर्यटक घुम्न आउँछन्। चिया, दूध, ललीपप, चिजलगायत उत्पादन हुने सूर्याेदय नगरमा देशकै लोपोन्मुख लेप्चा जातिको पनि बाक्लो बसोबास छ।

प्रकाशित: ४ श्रावण २०७५ ०५:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App