१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लेखापरीक्षकलाई जिम्मेवार बन्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने कार्यमा जिम्मेवार बन्न लेखापरीक्षकलाई निर्देशन दिएका छन्।

उनले सरकार कर प्रणालीलाई पारदर्शी बनाउन लागिपरेको जानकारी दिँदै आ–आफ्नो क्षेत्रबाट जिम्मेवार बन्न व्यवसायी र लेखापरीक्षकलाई निर्देशन दिएका हुन् । व्यावसायिक प्रतिष्ठानले तिर्नुपर्ने कर थोरै हुने गरी लेखा विवरण तयार गर्ने कार्यमा संलग्न लेखापरीक्षकलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।‘सही विवरण देखाइदिने कानुनी र नैतिक जिम्मेवारीसँगै संस्थागत सामाजिक उत्तरदायित्व पनि हो,’ मंगलबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आठौं परिषद्बाट निर्वाचित नयाँ कार्यसमितिको सपथ ग्रहण समारोहमा उनले भने, ‘अहिलेको कर प्रणालीमा कुनै किसिमको छुट हुन्न।’

अर्थमन्त्री खतिवडाले सरकारले सबै क्षेत्रमा पारदर्शिता चाहेको बताउँदै ‘फेयर बिजिनेस’ र ‘फेयर रिपोर्टिङ’ गर्न व्यवसायीसँग आग्रह गरे । लेखापरीक्षकले ‘फेयर अकाउन्टिङ’ गर्नुपर्नेमा उनले जोड दिए । आइक्यान नियमनकारी निकाय भएकाले गलत काम गर्नेलाई कारबाही गर्नुपर्ने खतिवडाले बताए ।मुलुकमा हाल विभिन्न संक्रमण रहेको अवस्थामा लेखापरीक्षणको अभ्यास र मापदण्ड पनि संक्रमणमै रहेको उनले बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका लेखा पद्धति विकास गर्ने भनिए पनि हालसम्म उपलब्धि नभएको उनको भनाइ छ।

‘लेखापरीक्षण विधेयक अहिले संसदमा छलफलको क्रममा रहेको छ । त्यसमा नयाँ मापदण्ड र अन्तर्राष्ट्रिय पद्धतिअनुरुपका लेखापरीक्षण विधि, मान्यता र पालना गर्नुपर्ने कुराहरु छन्,’ खतिवडाले भने, ‘उक्त मापदण्डअनुसार लेखापरीक्षण गर्न-गराउन र उच्च व्यावसायिक अभ्यास गराउन आइक्यानले आफ्ना सदस्यहरुलाई प्रोत्साहित गर्ने, दक्षता वृद्धि गर्ने र मापदण्डअनुरुप काम नगरे कारबाही पनि गर्नेछ भन्ने विश्वास छ ।’ राम्रो गर्नेलाई प्रोत्साहन र गलत नियतले काम गर्नेलाई कारबाही गर्नबाट पछि नहट्न उनले आइक्यानलाई निर्देशन दिए।  

महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आइक्यानले नियमितताको कामलाई प्रभावकारी बनाउन नसकेको बताए । मुलुकमा आर्थिक विकृति बढ्दै गएको बताउँदै उनले यसलाई नियन्त्रण गर्न लेखापरीक्षकले भूमिका खेल्नुपर्ने बताए । ‘डाटा फ्रड अहिले विश्वकै जोखिम बनेको छ,’ उनले भने, ‘त्यो फ्रड पत्ता लगाउने लेखापरीक्षकले नै हो । गल्ती पत्ता नलागे पनि त्यसमा लेखापरीक्षकको सहयोग र संलग्नता हुनु भएन।’

आठौं परिषदले आइक्यानको अध्यक्षमा जगन्ननाथ उपाध्याय निरौला र उपाध्यक्षमा कृष्णप्रसाद आचार्यलाई चयन गरेको छ । साथै, संस्थाको परिषद सदस्यहरुसमेत निवार्चित गरिएको छ । उनीहरुको कार्यकाल एक वर्षको हुने संस्थाले जनाएको छ।कार्यक्रममा गत वर्ष उत्कृष्ट वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न संस्थालाई अवार्ड प्रदान गरिएको थियो । बैंकिङ क्षेत्रबाट सिटिजन्स इन्टरनेसनल बैंकले उत्कृष्ट अवार्ड हात पारेको छ ।

उक्त विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले क्रमशः फस्र्ट र सेकेन्ड रनरअप अवार्ड पाए । त्यस्तै, उत्पादनतर्फ बोटलर्स नेपालले उत्कृष्ट अवार्ड हात पार्दा बुटवल पावर कम्पनी ‘फस्र्ट रनरअप’ बनेको छ । त्यस्तै, सेवातर्फ ¥याडिसन होटलले उत्कृष्ट अवार्ड पाएको छ । अन्यतर्फ कर्जा सूचना केन्द्र लिमिटेडले अवार्ड हात पारेको छ ।
 

प्रकाशित: २ श्रावण २०७५ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App