१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

परिश्रमबिनाको व्यवसाय

आफूले गरेको मौरीपालन देखाउँदै इलाम नगरपालिका–१० गोदकका भाष्कर भारद्वाज ।  तस्बिर : नागरिक

इलाम– इलाम नगरपालिका–१० गोदकका भाष्कर भारद्वाज पेसाले शिक्षक हुन्। तर, स्थानीय आधारभूत विद्यालयको प्रधानाध्यापक रहेका भाष्कर अहिले मौरीपालक किसान पनि भएका छन्। 

घरपरिपरि २० भन्दा बढी घार राखेर व्यावसायिक मौरीपालन गरिरहेका भाष्करले मौरी पालेवापत् विद्यालयमा गयल पनि हुनुपर्दैन। आफ्नो पूरा समय उनी विद्यालयलाई नै दिन्छन्, घरमा राखिएका मौरीको चाहिँ रेखदेख मात्रै गरे पुग्छ। ‘मौरीपालन सबैभन्दा सजिलो व्यवसाय रहेछ,’ उनले भने, ‘घार किनेर राखेपछि मह काढ्न मात्र पुग्दा हुन्छ, मौरीलाई न कुनै स्याहार गर्नुपर्छ, कुनै मलजल नै।’ एकपटक घार किनेर राखेयता बिहान–बेलुका, त्यो पनि कहिलेकाहीं हेरचाह गरेकै भरमा मौरीपालन आफैं व्यवसाय बनेको उनले सुनाए। 

२ वर्षअघि उनको घरमा २ घार मौरी मात्रै थिए। तिनै घार फुटाएर अर्काेमा विस्तार गर्दै उनी मौरीपालनलाई व्यवसाय नै बनाउन सफल भएका हुन्। ‘थप ३ घार मौरी इलामबाट किनेर ल्याएँ, अहिले पुरानै घारबाट बढाएर २१ घार पु¥याएको छु,’ उनले भने, ‘घरपरिपरि अहिले मौरीका घार छन् ।’ मौरीसहितको प्रतिघार ८ हजार र खाली घार किन्न ४ हजार रुपैयाँ लाग्ने गरेको भारद्वाजले बताए। ‘मौरीका लागि लगानी गर्ने भनेको घार किन्न मात्रै हो,’ उनले भने, ‘आफूले गरिरहेकै खेतीमा फलफूल, फूललगायतका बिरुवा अलि बढी रोपिदिँदा मौरीलाई रस चुस्न सजिलो हुन्छ तर अन्य लगानी यसलाई गरिरहनुपर्दैन। मौरीकै लागि दिनहुँ खटिरहनु पनि पर्र्दैन।’

अहिले उत्पादन भइरहेको मह मेची राजमार्गको किनारमै रहेको उनको घरबाटै प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ‘मह बेच्न अहिलेसम्म कतै धाउनुपरेको छैन,’ भाष्करले भने, ‘घरमै आएर किन्नेलाई समेत पु¥याउन सकेको छैन।’ एउटा घारबाट वर्षमा १५ किलोसम्म मह उत्पादन हुने गरेको उनले बताए। एउटा घारबाट वर्षमा ३ पटकसम्म मह काढ्न सकिन्छ। २१ वटै घारबाट पूरा मह उत्पादन हुन थालेपछि वार्षिक करिब ३ लाख रुपैयाँ आम्दानी गर्न सक्ने उनको अनुमान छ। कम लगानीमा परिश्रम र मेहनतबिनै आम्दानी हुने मौरीपालन व्यवसाय गर्न उनले अन्य किसानलाई पनि सुझाएका छन्। 

गोदक गाउँ जिल्लामा धेरै रासायनिक मल र विषादी प्रयोग हुने गाउँका रूपमा परिचित छ। केही वर्षअघि गरिएको एक अध्ययनले गोदक गाउँको माटो रासायनिक मल र विषादीले निकै बिग्रिसकेको तथ्य फेला पारेको थियो। तर, पछिल्लो समय यहाँको माटो सुध्रिँदै गएको स्थानीय दाबी गर्छन्। किसान भाष्करले मौरीपालनले गाउँलाई अर्गानिक बनाउन पनि सहयोग गर्ने अनुभव सुनाए। ‘घरमा मौरी पालेपछि किसानले मौरी मर्ने डरले आफ्नो बालीनालीमा विषादी प्रयोग नगर्नेरहेछन्,’ उनले भने, ‘सजिलैसँग आम्दानी हुने र बालीनालीमा विषादी पनि प्रयोग नगर्ने हुनाले अर्गानिक अभियानका लागि किसानलाई मौरीपालन वैकल्पिक व्यवसाय बन्नसक्छ।’ 

उनले कुनै संघ–संस्थाले ५ घार मौरीमा लगानी गरिदिने र किसानलाई थप ५ घार किन्न लगाएर त्यसैलाई व्यवसाय बनाउने हो भने किसानको जीवका चल्ने र अर्गानिक बालीनाली पनि उत्पादन हुने सुझाए। भारद्वाजले मौरीपालन तालिम लिएर ‘सुलभ मौरीपालन तथा विक्री केन्द्र’ नै खोलेका छन्। तर, आफूमा मौरीपालनको प्राविधिक ज्ञान अझै कम भएको बताए। ‘यसको प्राविधिक ज्ञान कहाँबाट र कसरी लिन सकिन्छ भन्नेबारे बेखबर छु,’ उनले भने, ‘मौरीपालनको थप तालिम लिएर व्यवसाय बढाउने सोचमा छु।’  

उनले मौरीपालनको अर्काे फाइदा पनि सुनाए। ‘गाउँमा बाँदरले बालीनाली खाएर दुःख दियो भने घरमा मौरी पालेर जंगलमा फलफूलका बिरुवा रोपिदिनुपर्नेरहेछ,’ उनले अनुभव सुनाए, ‘फलफूलले मौरीलाई मह बनाउन सघाउँछ, बाँदर जंगलकै फलफूलमा भुल्लिए भने बारीमा आफूले लगाएको बालीनाली पनि जोगिनेरहेछ।’ 

प्रकाशित: ८ जेष्ठ २०७५ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App