६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘उडान कटौतीले हवाई भाडा आकासियो’

पर्यटन मन्त्री भन्छन्ः कतार एयरलाइन्सले ३ लाख ६४ हजार भाडा तोक्दा इन्डिगोले ७६ हजारमा उडाउने रहेछ

स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय हवाई भाडा वृद्धि हुँदा पर्यटक भित्रिने सिजन प्रभावित भएको बताएको छ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार (०८१ कात्तिक २३) देखि व्यावसायिक उडानलाई राति १० बजेदेखि बिहान ८ बजेसम्म रोकेर पूर्वाधार विस्तार तथा निर्माण कार्य थालेको छ। योसँगै आगामी चैत १८ गतेसम्म दैनिक १० घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रभावित हुनेछन्।

रातीको समयमा बन्द भएको विमानस्थल बिहान अबेर खुल्दा आन्तरिक उडान पनि प्रभावित भएको व्यवसायीले बताए। त्यसले गर्दा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान संख्या कटौती हुँदा हवाई भाडा महँगो परेको उनीहरूको गुनासो छ। पोखरा आएका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेसँग होटल संघ पोखराले आयोजना गरेको छलफलमा व्यवसायीले पर्यटक भित्रिने सिजनको बेला विमानस्थल बन्द गरेर पूर्वाधार बनाउँदा मारमा परेको गुनासो सुनाएका थिए।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदाको अवस्थामा सरकारले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पमा राखेको भएपनि पोखरामा कुनैपनि अन्तर्राष्ट्रिय हवाई कम्पनी आउन तयार भएका छैनन्। भैरहवामा चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले उडान थालिसक्दा पोखरामा भने कुनैपनि उडान हुन नसक्दा पर्यटन क्षेत्र थलिएको उनीहरूको भनाई छ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले नेपालमा विदेशी पर्यटक भित्रिने समयमा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोक्दा पर्यटन क्षेत्र प्रभावित भएको बताए। पराजुलीले भने, ‘विमानस्थल संचालन अवधि घटेसँगै हवाई उडान कटौती भइसकेका छन्। उडान कटौती भएसँगै सीमित उडानका लागि भाडा बढिसकेको छ। यसले पर्यटकलाई आउजाउमा असर पार्ने पक्का छ।’ पर्यटक आगमनमा अवरोध खडा गरेर पोखरा सहितका पर्यटकीय सहरलाई ‘डेड सिटी’ बनाउन खोजेको गुनासो उनले सुनाए।  

‘मनलाग्दी हवाई भाडा बढाउँदा पनि कारबाही भएन । पर्यटन क्षेत्र अन्योलमा परिसकेको छ,’ उनले भने, ‘पर्यटक भित्रिने मुख्य सिजनमा दिनमा १० घण्टा अवरोध हुँदा त्यसको असर पर्यटन क्षेत्रले बढी बेहोर्नुपरेको छ।’ पर्यटन क्षेत्रसँग सल्लाह नै नगरी हचुवाका भरमा विमानस्थलको संचालन अवधि कटौती गरिएको उनले बताए। ‘पर्यटन क्षेत्र बाच्नै मुस्किल छ। पर्यटक आउने बाटो नै छैन। हवाई भाडा अकासिएको छ,’ पराजुलीले भने।  

अगुवा पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई अहिले सबैतिरबाट अप्ठेरो आइपरेको बताए । उनका अनुसार हवाई र स्थलमार्गको असुविधाले पर्यटकीय गन्तव्यमा पाहुना पुग्न सकेका छैनन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको झन्डै दुई वर्ष हुनै लाग्दा पनि अन्तर्राष्ट्रिय उडानको कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘स्थलमार्गको अवस्था पनि नाजुक छ। पोखरा–काठमाडौंको स्थलमार्ग सहज नहुँदा पर्यटक हिँडडुल नै ठप्प भयो।’  

अर्का पर्यटन व्यावसायी धर्मराज पन्थी पनि एक महिना ढिलागरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार थालेको भए अहिलेको सिजनका लागि बुकिङ गरेका पाहुना आउने बताउँछ। ‘डिसेम्बरबाट काम थालेको भए उडान प्रभावित हुँदैनथे। अहिले त बुकिङ गरेका पाहुना पनि आउन पाएनन्,’ उनले भने, ‘यो सिजन पुरै डामाडोल भयो। सिजनको बेला विमानस्थल नै बन्द गर्नु अव्यवहारिक कदम हो।’  

व्यावसायीसँगको छलफलमा मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार थाल्ने योजनासँगै पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नेगरि हवाई कम्पनीलाई उडान सार्न अनुरोध गरेपनि पोखराका लागि आकर्षित नभएको बताए। ‘सरकारले हवाई कम्पनीलाई पोखरा जानेगरि सहुलियत सहित आकर्षक कार्ययोजना दिएपनि पोखराका लागि आकर्षण बढेन,’ उनले भने, ‘पोखरामा आउँदा छुट सहितका प्याकेज सरकारले दिएको हो। तरपनि हवाई कम्पनी तयार भएनन्।’

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि सक्दो पहल गरिरहेको पनि सुनाए। ‘म जहाँ जान्छु, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरौं भन्ने गरेको छु,’ उनले भने। ४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्लालाई चिर्नका लागि नेपाल एयरलाइन्सको जहाजमार्फत पूर्ण क्षमतामा यात्रु बोकेर ल्याएर परीक्षण गर्ने पनि बताए। ‘प्राविधिक समस्याले साँच्चै नै भार कटौती गर्नैपर्ने हो भने भन्नुपर्छ, नत्र भने अनावश्यक हल्ला गर्न मिल्दैन,’ उनले भने, ‘अहिलेसम्म पोखरामा जे जति अन्तर्राष्ट्रिय उडान भएका छन्, ती कसैले भार कटौती गरेको होईन।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नोभेम्बर मसान्तसम्म दिनमा १० घण्टा बन्द नगरौं, यसले पर्यटक आउजाउमा असर पर्ने, विदेशबाट चाँडबाँड मान्न आएका विद्यार्थी फर्किने बेला अप्ठेरोमा पर्ने, रोजगारीका लागि आउजाउ गर्ने मजदुर पनि मारमा पर्ने भनेर आफूले भनेपनि सम्भव नभएको मन्त्री पाण्डेले। ‘आजको भोलिको सूचनाले हुने नहुने रहेछ। यो पटकका लागि १५–२० दिन पर्यटकलाई अप्ठेरो पर्ने भयो,’ उनले भने।

विमानस्थलबारे ६ महिना अघि नै सूचना जारी गरिसकेकोले तत्कालै समय परिवर्तन गर्न नमिल्ने भनेर आफूले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट जवाफ पाएको पनि उनले जानकारी दिए। ‘अहिलेको सूचनालाई पुनरवलोकन गर्ने नै हो भने पनि सूचना जारी गरेको ४२ दिनपछि मात्र कार्यान्वयन गर्न मिल्ने रहेछ,’ उनले भने, ‘त्यसैले तत्कालै हुने अवस्था रहेन।’

हवाई भाडामा मनलाग्दी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि कटौती भएसँगै उडान संख्या घटेपछि अन्तर्राष्ट्रिय हवाई कम्पनीले मनलाग्दी तरिकाले हवाई भाडा वृद्धि गरेको मन्त्री पाण्डेले बताए। उनका अनुसार हवाई कम्पनीले मनलाग्दी तरिकाले भाडा तोकेका छन्। उनका अनुसार कतार एयरवेजले काठमाडौं–दोहा–बाकुको दोहोरो हवाई भाडा ३ लाख ६४ हजार तोकेकोमा अर्को हवाई कम्पनीले इन्डिगोले त्यही रुटमा ७६ हजारमा टिकट दिएको समेत जानकारी दिए।  

‘एउटा एयरलाइन्सले ७६ हजारमा दिने टिकट अर्कोले ३ लाख ६४ हजार तोक्ने त हदै भयो। हवाई टिकटमा ब्रह्म लुट सुरु भएको छ,’ उनले भने, ‘जथाभाबी हवाई भाडा बढाउने हवाई कम्पनीसँग छलफल सुरु गरेका छौ।’ 

उनका अनुसार हवाई भाडा बढेपछि पर्यटन, परराष्ट्र, श्रम मन्त्रालय र प्राधिकरण बसेर छलफल सुरु गरिएको छ।  ‘हवाई भाडा बढी लिने एयरलाइन्समा केही दिनसम्म श्रमिक नै नपठाउने पो हो की भनेर समेत छलफल चलाएका छौं। जथाभाबी भाडा बढाउँदा श्रमिक मारमा परेपछि श्रम मन्त्रालयसँग समन्वय गरेका छौं,’ उनले भने, ‘बरु विकल्पमा तिनै श्रमिकलाई भैरहवा वा दिल्लीबाट पनि पठाउन सकिन्छ, तर, महँगो हवाई भाडा असुल्न मिल्दैन।’ अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग हवाई भाडाबारे छलफल सुरु गरिसकेको पनि उनले बताए।

प्रकाशित: २४ कार्तिक २०८१ १५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App