१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दूध बेचेर दैनिक १० लाख

सिन्धुपाल्चोक – भूकम्पपछि धर्मराएको दुग्ध व्यवसाय लयमा फर्केको छ । भूकम्पले ढालेका घर, गोठमा किचिएर हजारौं गाई, भैंसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि पूर्ववत् अवस्थामा फर्केको हो।

भूकम्पका कारण जिल्लाको दूध व्यवसाय भएका क्षेत्रमा मात्रै झन्डै १० हजार गाईं, भैंसी मरेका थिए । ‘मरेका गाईं, भैंसीको क्षतिपूर्ति भएपछि बल्ल दुग्ध व्यवसाय भूकम्पअघिकै लयमा फर्किएको छ,’ दुग्ध उत्पादन संघका पूर्वकेन्द्रीय सदस्य इन्द्रमणि दाहालले नागरिकसँग भने।

इन्द्र दुग्ध डेरी उद्योगका सञ्चालक रहेका व्यवसायी दाहालका अनुसार अहिले जिल्लाबाट दैनिक २० हजार लिटर दूध संकलन भइ राजधानी निर्यात भइरहेको छ । भूकम्पपछि दूध उत्पादन आधा घटेर १० हजार लिटरमा खुम्चिएको थियो । दुग्ध व्यवसाय लयमा फर्केपछि किसानले पूर्ववत् अवस्था झैं दैनिक १० लाख रुपैयाँ आम्दानी गाउँ भित्र्याइरहेका छन्।

‘डेरीमा दूध बेचेर वार्षिक झन्डै सवा करोड रुपैयाँ भित्र्याउँदै आएका जिल्लाका किसान फेरि त्यो अवस्थामा आइपुगेका छन्,’ जिल्लाका अगुवा दूध व्यवसायी दाहालले भने । दुग्ध व्यवसाय लयमा फर्के पनि भूकम्पको असरका कारण उत्पादन भने बढ्न नसकेको उनी बताउँछन्।

सिन्धुपाल्चोक दूग्ध उत्पादनका लागि उर्भर भूमि मानिँदै आएको छ । परम्पराबाट केही माथि उठेर उन्नत जातका गाईं, भैसी पाल्दै दुग्ध उत्पादनलाई व्यावसायिक बनाउँदै लगेका यहाँका किसानले दूध बिक्री गरेर मनग्गे आम्दानी लिँदै आएका छन् । झन्डै डेढ सय दुग्ध सहकारी र कृषि फार्ममार्फत दुग्ध पदार्थ संकलन हुने गरेको छ । जिल्लामा दूध संकलनका लागि सयभन्दा बढी सहकारी र २० भन्दा बढी कृषि फार्म सक्रिय छन्।

किसानले आफ्नो घरमा खाएर तथा स्थानीय बजारमा खपत गरेपछिको बाँकी दूध राजधानी निर्यात हुने गरेको व्यवसायी दाहाल बताउँछन् । उनका अनुसार जिल्लामा उत्पादित दूध दुग्ध विकास संस्थान (डिडिसी ) तथा निजी क्षेत्रका काठमाडौं दूध वितरण आयोजना, सुजल र काठमाडौं डेरीले खरिद गर्दै आएका छन्।

गाउँ–गाउँमा संकलित दूध डिडिसी, सहकारी र निजी क्षेत्रबाट सञ्चालित एक दर्जन चिस्यान केन्द्रमार्फत राजधानी पुग्ने गरेको छ । दूध उत्पादनका लागि उर्भर मानिने नौविसे, बलेफी, खाडीचौर, सुुकुटे, साँगाचोक, सिपाघाट, बाहुनेपाटी र मेलम्चीमा रहेका चिस्यान केन्द्र किसानको दूध राजधानी निर्यात हुने गरेको हो । निजी क्षेत्रबाट संकलित दूध काठमाडौं दूध आयोजना र मेलम्ची क्षेत्रमा उत्पादित दूध सुजल र राजधानी डेरीमा खपत हुने जिल्ला दूध सहकारी संस्थाका पूर्वअध्यक्षसमेत रहेका दाहाल बताउँछन्।

डिडिसीले दूधको गुणस्तरका आधारमा दुईवटा मूल्य प्रणाली तोकेको छ । किसानले फ्याट र ल्याक्टोको आधारमा आफ्नो दूधको मूल्य पाउँदै आएका छन् । गुणस्तरका आधारमा डिडिसीले तोकेको मूल्यदर अनुसार किसानले प्रतिफ्याट १०–१२ रुपैयाँ पाउँछन् । जिल्लाका किसानले भने साढे ११ रुपैयाँसम्म पाउने गरेका छन् । निजी क्षेत्रका डेरीले डिडिसीकै मापदण्डमा रहेर किसानलाई दूधको भूक्तानी गर्दै आएका छन् । ‘किसानले सरदर प्रतिलिटर दूधको ५०–५५ रुपैयाँ मूल्य पाउँदै आएका छन्,’ दाहालले भने।

मेलम्ची क्षेत्र जिल्लामै दूध उत्पादनका लागि अब्बल र उर्भर मानिन्छ । जिल्लाबाट दैनिक निर्यात हुनेमध्ये साढे १३ हजार दूध यसै क्षेत्रबाट संकलन हुन्छ । व्यवसायी दाहाल सिजनअनुसार दूध उत्पादनमा उतारचढाव आउने बताउँछन् । सुक्खा सिजन मानिने चैत–साउनमा दूध उत्पादन घट्छ भने भदौ–फागुनमा उत्पादन दोब्बर हुन पुग्छ।

प्रकाशित: १९ चैत्र २०७४ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App