७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

झापामा आयल निगमको जग्गा हडप्ने प्रयास

नेपाल आयल निगमको झापाको जमिन।

झापाका केही स्थानीयले नेपाल आयल निगमको जग्गा हडप्ने प्रयास गरेका छन्। आयल निगमले भण्डारण गृह निर्माण गर्न मेची नगरपालिका १३ (साबिक दुवागढी गाविस वडा नं. ३) झापामा खरिद गरेको करोडौं रूपैयाँ पर्ने करिब १४ कट्ठा जग्गा स्थानीय छत्रबहादुर (राजु) कार्की, रीता कार्की लगायतले आफ्नो बनाउने प्रयास गरेका हुन्।

निगमलाई जग्गा बेचेर करोडौं रूपैयाँ बुझेका उनीहरूले आफूले बेचेको जमिनलाई फेरि आफ्नो पक्षमा पार्न तीव्र लविङ गरेका छन्। निगमले झापाको मेचीनगर नगरपालिका ३ मा स्थानीयसँग २३ बिघा ३ कट्ठा १३ धुर जमिन किनेको थियो। निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको नेतृत्वमा सो जग्गा खरिद गर्दा महँगोमा किनेको आरोप लागेको थियो।

निगमले किनेको जग्गामध्ये करिब १४ कट्ठा जमिन बिक्रेताले नै हडप्ने प्रयास गरेका हुन्। निगमले आफ्नो नाममा भएको जग्गा तारबार लगाएर संरक्षण गर्न खोज्दा केही समयअघि उनीहरूले अवरोध गरेका थिए। सो स्थानमा अहिले जग्गाको मूल्य कट्ठाको करिब २० लाख छ। १४ कट्ठा जमिनको मूल्य करिब दुई करोड ८० लाख हुन्छ।

आयल निगमलाई जग्गा बेचेका छत्र र विष्णुले कानुनी रूपमा मालपोत कार्यालयबाट जग्गा पास गरेर दिए पनि कानुन विपरीत आफ्नो भएको दाबी गरेका छन्।

२०७३ मा निगमले किनेको जमिन लामो समयसम्म संरक्षण नभएपछि कार्कीद्वयले भोगचलन गर्दै आएका थिए। त्यही बहाना देखाएर उनीहरूले जग्गा हडप्ने दाउ गरिरहेका छन्।

आयल निगमले आफ्नो जमिन संरक्षण गर्न तारबार गर्न थालेपछि उनीहरूले केही समयअघि अवरोधको प्रयास गरेका थिए। निगमले स्थानीयसँग किनेको जग्गा संरक्षण गर्न खोज्दा केही व्यक्तिले अवरोध गर्ने प्रयास गरेको नेपाल आयल निगमका उपनिर्देशक प्रदीप यादवले बताए।

निगमले २३ बिघा तीन कट्ठा १३ धुर जमिन किनेकाले त्यो जमिन पूरा हुनुपर्ने यादवको भनाइ छ। ‘स्थानीयसँग किनेकाले निगमको लालपूर्जामा भएको जमिन फिल्डमा पनि हुनुपर्छ,’ यादवले भने, ‘बिक्री गर्नेले निगमलाई जग्गा पु¥याउनुपर्छ।’

दुवागढी–३मा रीताको नाममा भएको कित्ता नं. ५६को दुई बिघा १९ कट्ठा जमिनमध्ये दुई बिघा १७ कट्ठा जमिन सात करोड ५० लाख रूपैयाँमा आयल निगमलाई बिक्री गरेकी थिइन्। बेचेकोमध्ये करिब सात कट्ठा जमिन फेरि हडप्ने प्रयास गरेकी हुन्।

पैसा लिएर कानुनी रूपमा निगमलाई बिक्री गरेको सरकारी सम्पत्ति आफूले भोगचलन गर्ने उनको दाउ छ। जिल्ला मालपोत कार्यालय झापाको अभिलेख अनुसार जग्गा बिक्री भएपछि निगमको नाममा रहेको दुई बिघा १२ कट्ठाको कित्ता नम्बर १२६५ कायम भएको छ भने रीताको बाँकी रहेको सात कट्ठा जमिनको कित्ता नम्बर १२६६ कायम भएको छ। रीताले निगमलाई बेचेर बाँकी रहेको ७ कट्ठा जमिन ओभरल्याप भएको देखिएको नापी कार्यालय झापाले जनाएको छ।

त्यसैगरी दुवागढी–३को कित्ता नम्बर ५७को एक बिघा १८ कट्ठा जमिन छत्रबहादुरले निगमलाई पाँच करोड १३ लाख ३८ हजारमा निगमलाई पास गरेको मालपोत राजीनामा पत्रमा देखिन्छ। विष्णुले निगमलाई बिक्री गरेको जग्गा आफ्नो भएको दाबी गर्दै हडप्ने प्रयास गरेका छन्।

नापी कार्यालयका प्रमुख नापी अधिकृत सुनिल आनन्दले दिएको प्रतिवेदन अनुसार दुवागढी वडा नं ३को कित्ता नम्बर ५७ र ५८ बीचमा रहेको पैनीबाट उत्तर चालु अवस्थामा रहेको डिजिटल नक्साको प्रिन्ट नक्सा अनुसार नापजाँच गर्दा दुवागढी वडा नं. ३को कित्ता नम्बर १२६६को पश्चिम दिशातर्फ ११६ फिटसम्म, सोही कित्ता नम्बर १२६६को पूर्व दिशातर्फ ११० फिटसम्म –कित्ता नम्बर १२६६को पूरै कित्ता) ओभरल्याप रहेको र कित्ता नम्बर १२६५को पूर्व उत्तरतर्फ ११० फिटसम्म जग्गा ओभरल्याप भएको देखिन्छ।

जग्गा हडप्न खोजेको आरोप लागेका छत्र कार्कीले आफूलाई नापी कार्यालयले कुनै लिखित जानकारी नदिएको दाबी गरे। ‘जग्गा ओभरल्याप भएको हो भने के प्रमाण छ,’ उनले भने। निगमलाई जग्गा बिक्री गरेको भने उनले स्वीकार गरे। ‘निगमलाई जग्गा बेचेको हुँ,’ कार्कीले भने, ‘मेरो मात्र जग्गामा नाप्नु पर्छ भन्ने छ?

प्रकाशित: २७ वैशाख २०८१ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App