७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

जुम्लामा सैलुन व्यवसाय जमाएका उमेश ठाकुर

जुम्लामा कपाल काट्दै धनुषा हंसपुरका उमेश ठाकुर। तस्बिर : नागरिक ।

गाउँघरका प्रायः युवा तथा पुरुष रोजगारी र मजदुरीका लागि दिनहुँजसो खाडी तथा विकसित मुलुकतिर उडिरहेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक हेर्दा पनि यो कुरा पुष्टि हुन्छ।

आर्थिक वर्ष २०७७-७८ देखि चालु आव ०८०-८१ मा जुम्लाबाट ३ हजार ५ सय ७० युवाले राहदानी लिएको प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

तराई जिल्लाको धनुषाको हंसपुर– ३ का उमेश ठाकुर भने हिमाली जिल्ला जुम्लातिर आए। कपाल काट्ने पुख्र्यौली पेसा पछ्याउँदै उनी चार वर्षअघि जुम्लाको सदरमुकाम खलंगा पुगे। 

त्यसो त जुम्ला पुगेर सैलुन खोल्ने उनी एक्ला होइनन्, १०६३ चैत ३० मा सुर्खेत–जुम्ला कर्णाली राजमार्ग सञ्चालनमा आएपछि उमेशका मामा शिवनारायण ठाकुरले पनि जुम्ला आएर सैलुन खोलेका थिए।

सुर्खेत–जुम्ला कर्णाली राजमार्गको लम्बाइ २ सय ३२ किलोमिटर छ। यो मार्ग पश्चिम नेपालको सुर्खेतबाट दैलेख र कालिकोट हुँदै जुम्लासम्म पुगेको छ। कर्णाली राजमार्ग अथवा सुर्खेत–जुम्ला सडक खण्ड।

उमेश मामाका साथमा पहिलोपटक जुम्ला आइपुग्दा उनको मनमा कर्णालीमा साह्रै दुःख होला भन्ने लागेको थियो। ‘हिमाली जिल्ला सम्झनेबित्तिकै निकै विकट होला, भीरैभीरको बाटो हिँड्नुपर्ला भन्ने अनुमान थियो, तर पहिलोपटक आइपुग्दा म अचम्मित परें’, खलंगामा सगरमाथा हेयर कटिङ चलाइरहेका उमेशले भने, ‘कर्णाली दुर्गम मात्रै होइन रहेछ, पाखुरा चलाउने युवाका लागि आम्दानीको खानी पनि हो। उनका बुबा हीरालाल पुख्र्याैली पेसा छाडेर गाउँमै खेतीपाती गरिरहेका छन्।

चार कक्षासम्म पढेका उमेश मेहनत गर्ने हो भने स्वदेशमै बसिखान सकिने कमाइ हुने बताउँछन्। उनी भन्छन्, दैनिक न्यूनतम एक हजारदेखि अधिकतम तीन हजारसम्म कमाइ हुन्छ। कमाउनकै लागि खाडी धाउनुपर्ने छैन। मेहनत गरे स्वदेशमै आम्दानीका बाटा भेटिने उनको भनाइ छ’, उनले खाने–बस्ने खर्च कटाएर औसत मासिक ५० देखि ६० हजार घर पठाइरहेको बताए।’

जुम्लामा सैलुन भित्रिएकै कर्णाली राजमार्ग खुलेपछि हो। सुर्खेत–जुम्ला गाडी चलेपछि जुम्ला आइपुगेको शिवनारायण बताउँछन्। त्यसअघि धेरैजसो स्थानीय कैंची किनेर कपाल काट्ने गरेको उनले बताए। सुरुमा सैलुन खासै चलेन। ‘कपाल काट्न पनि पैसा हाल्नुपर्छ र भन्थे’, उनले भने, ‘जागिरेले कपाल काट्न थालेपछि विस्तारै स्थानीय युवा पनि सैलुनमा आउन थाले।’

उमेशको सैलुनमा दैनिक कम्तीमा २० जनाले कपाल–दारी काट्ने गर्छन्। सैलुनमा कपाल रंगाउने, फेसियल, फेसवास, थ्रेडिङ, स्टिम बाफ, हाइलाइट, ब्लिच, आइरन, हेड मसाजको सुविधा छ।

बाआमा र परिवार उमेश कर्णाली पुगेकोमा खुसी छैनन्। उनीहरु उमेशलाई त्यति दुर्गम ठाउँमा किन गएको भन्छन्। उनलाई भने, ‘जुम्लाको रमाइलो र चिसो हावापानीले मलाई लोभ्याइसकेको छ।’ उनी मधेसको प्रचण्ड गर्मीमा बसेका बाआमालाई जुम्लाको चिसो, प्राकृतिक सुन्दरताका कुरा सुनाइरहन्छन्।

मधेसबाट कपाल काट्नकै लागि जुम्ला आउनेमा उमेशका मामा–भान्जा मात्रै छैनन्, सिरहा लक्ष्मीपुर गाउँपालिकाका २३ वर्षीय पुष्कर ठाकुर पनि दुई वर्षदेखि यतै छन्। सदरमुकाम खलंगाको बीचैमा खुलेको उनको सैलुनमा कपाल काट्नेको भीड लाग्छ। त्यही भएर उनले पसलमा दुईजना कर्मचारी पनि राखेका छन्। प्लस टु पढेर जुम्लामा उक्लिएका पुष्करका दाइ भने कतारमा छन्। ‘अरूका लागि कर्णालीमा विकट र गरिबी होला, तराईवासीका लागि कर्णाली सम्भावनाको खानी हो’, उनले भने।

सिरहा नवराजपुरका प्रभुनारायण ठाकुर पनि १३ वर्षदेखि जुम्लामै छन्। सुरुवातमा चिसोले सताए पनि अचेल यही चिसोमा मन बसेको उनले बताए। उनी दैनिक २२ देखि २५ जनाको कपाल काट्छन्। खलंगामा मात्रै मधेसबाट आएका २० जनाले सैलुन खोलेका छन्।

जुम्लामा सात सदस्यीय सैलुन व्यवसायी समिति गठन गरेकोे उनीहरु बताउँछन्। महिनैपिच्छे समितिको बैठक बस्छ। कामको समीक्षा हुन्छ। परिस्थितिअनुसार दररेट निर्धारण गर्छन्। उनीहरूलाई सरकारी कार्यालय, सेना र प्रहरीको क्याम्पमा पनि कपाल काट्न बोलाउने भएकाले भ्याइनभ्याइ हुन्छ।

उमेशले स्थानीय युवालाई पनि कपाल काट्न सिकाउने गरेको बताए। उनले सिकाएका दुई स्थानीयले आफैं सैलुन खोलिसकेका छन्। पछिल्ला वर्षमा स्थानीय तहका केन्द्रमा पनि व्यावसायिक रूपमा सैलुन खुल्ने क्रम बढ्दो छ।

प्रकाशित: १७ फाल्गुन २०८० १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App