६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कांग्रेसको आम्दानी घट्यो, खर्च बढ्यो’

फाइल तस्वीर

सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आम्दानी घटेको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा आफ्नो आम्दानी घटेको हो। कांग्रेस केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदनमा पार्टीको आम्दानी घटेको प्रतिवेदन पेस गरेका हुन्। पार्टी सञ्चालन खर्च बढ्दै जाने तर आम्दानी कम हुँदै गएपछि कांग्रेसले स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग पनि लेबी लिने प्रस्ताव महासमिति बैठकमा राखेका छन्।

क्रियाशील सदस्यता शुल्कलाई समयमै संकलन गर्नुको साथै पार्टीको संसदीय दलका सदस्यबाट उठाइने लेबीलाई नियमित उठाउने जनाएको छ। साथै विद्यमान बाँडफाँटको अनुपातलाई आवश्यकतानुसार पुनर्विचार गर्न सकिने र स्थानीय तहका प्रमुख र उप–प्रमुख समेतबाट निश्चित रकम लेबीसमेत नियमित रूपमा उठाइने भएको छ।

कांग्रेसले महासमिति बैठकमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा सदस्यता, लेबी र नवीकरण शुल्कसहित विभिन्न शीर्षकबाट १४ करोड ८९ लाख ९४ हजार ८७ रूपैयाँ आम्दानी भएकोमा आर्थिक वर्ष २०७९/८० मा तीन करोड ६४ लाख ७६ हजार दुई सय ९७ रूपैयाँ मात्र आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७८/७९ मा सदस्यता, लेबी र नवीकरण शुल्कबापत सात करोड ४३ लाख तीन हजार पाँच सय एक रूपैयाँ आम्दानी भएको उल्लेख छ।

त्यस्तै चन्दा तथा सहयोगबापत ६ करोड ६८ लाख २४ हजार रूपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार चार सय रूपैयाँ र ब्याज आम्दानीबापत ६७ लाख १७ हजार एक सय ८५ रूपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/८० मा भने सदस्यता, लेभी र नवीकरण शुल्कबापत ५७ लाख ६० हजार आठ सय रूपैयाँ, चन्दा तथा सहयोगबापत दुई करोड ६५ लाख ६४ हजार पाँच सय ७७ रूपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय ५० रूपैयाँ, लिलाम बिक्रीबापत दुई लाख २५ हजार रूपैयाँ र ब्याज आम्दानीबापत ३८ लाख ३१ हजार दुई सय ७० रूपैयाँ आम्दानी भएको प्रतिवेदनमा देखाइएको छ।

पार्टीको १४ औं महाधिवेशनमा १२ करोड २१ लाख ९७ हजार सात सय सात रूपैयाँ तथा स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभाको निवार्चनमा एक करोड १५ लाख ६५ हजार दुई सय १० रूपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी कार्यालय सञ्चालनमा चार करोड ११ लाख ५६ हजार एक सय तीन रूपैयाँ आव २०७८/७९ मा खर्च भएको देखाइएको छ।

त्यस्तै आव २०७९/८० को निर्वाचनमा तीन करोड ८८ लाख ५७ हजार नौ सय ९३ रूपैयाँ खर्च भएको जनाइएको छ। त्यसैगरी कार्यालय सञ्चालनमा तीन करोड २२ लाख ५० हजार चार सय ३२ रूपैयाँ, भ्रातृ संगठनसम्बन्धी खर्च ४९ लाख ६० हजार र ह्रास कट्टी तथा अपलेखनबापत ३९ लाख २६ हजार ६ सय ९६ खर्च व्यवस्था गरिएको जनाउँदै सात करोड ९९ लाख ९५ हजार एक सय २१ रूपैयाँ खर्च भएको उल्लेख छ।

आव २०७८/७९ मा साधारण जगेडा कोषमा ६ करोड ९६ लाख ५९ हजार एक सय २३ रूपैयाँ भएकोमा आव २०७९/८० मा उक्त रकममा कमी आई दुई करोड ६१ लाख ४० हजार तीन सय रूपैयाँ कायम भएको देखाइएको छ।

कुल स्थिर सम्पत्ति पाँच करोड ७६ लाख ३७ हजार ६ सय ७० रूपैयाँ रहेकोमा आव २०७९/८० मा ह्रासकट्टीपछि पाँच करोड ५३ लाख ५५ हजार सात सय ११ रूपैयाँ कायम रहेको प्रतिवेदनमा उल्लेख छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/८० मा पार्टीको मुद्दती बचत दुई तिहाइले कम भई १० करोडबाट तीन करोडमा झरेको छ। सात करोड ६३ लाख ९१ हजार एक सय रूपैयाँ रहेको मौज्दात आव २०७९/८० मा घटेर एक करोड ९४ लाख १६ हजार पाँच सय २५ रूपैयाँ कायम भएको प्रतिवेदनमा जनाइएको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App