लमजुङ- देशकै ठूलो मध्येको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत परियोजनामा अहिले चौविसै घण्टा मर्मतको काम भईरहेको छ।
बेसीसहर नगरपालिकामा अवस्थित सो परियोजना बिहीबार रातीदेखि ‘सर्टडाउन’ गरी शुक्रबारदेखि धमाधम मर्मतको काम हुँदै आएको हो।
सुरुङमार्फत् विद्युत उत्पादन केन्द्रमा पठाईएको पानीलाई वाँधको मूलढोका ‘रेडियल गेट’ मार्फत् पुनःमस्र्याङ्दी नदीमै फर्काएर दिउँसो र रातीको समयमा पनि मर्मत् कार्य अघि बढाईएको हो।
केहीदिनदेखि नदीमा पानीको सतह घटाउँदै लगेर बिहीबार राती १० बजेदेखि पूरै पानी खोलामा फर्काएर विद्युत उत्पादन बन्द गरी मर्मतको काम गरिएको जलविद्युत केन्द्रका प्रमुख पशुपति गौतमले बताए । मर्मतकार्य भईरहेकाले बिहीबार रातीदेखि करिब एकसाताका लागि विद्युत उत्पादन स्थगित भएको उनको भनाई छ। उनका अनुसार शुक्रबारदेखि दिउँसो र राती गरी दुई ‘सिफ्ट’मा काम भईरहेको र दुवै ‘सिफ्ट’मा डेढ–डेढ सय जना मजदुर खटिएका छन् । यसअघि ०७० साल माघमा करिब १४ दिन मर्मतकार्य गरिएकोमा यसपटक भने निधार्रित अवधि सात दिनमै काम सम्पन्न गर्ने उद्देश्यले चौबिसै घण्टा काम गराईएको हो । ममर्तसम्हार अन्तर्गत बाँधक्षेत्रको पर्खाल मर्मत, बाँध, सर्भिसगेट र विद्युत उत्पादनगृहको युनिट २ टर्वाइन लगायतको मर्मत गरिने केन्द्रप्रमुख गौतम बताउँछन्। बाँधक्षेत्रमा जम्मा भएको अत्याधिक बालुवा पनि निकाल्ने काम भईरहेको बताईएको छ ।
तलबाट पानीले कटान गरी सो क्षेत्रको पर्खालमा क्षति पुर्याउने र माथिबाट पर्खाल तल लच्किने समस्या भएकाले ‘रिपर्याप प्रोटेक्सन वाल’को मर्मत नियमित रुपमा गर्नु परेको जलविद्युत केन्द्रका इञ्जिनियर अनन्त उप्रेतीले बताए। यसअघि ०७० माघमा १४ दिन विद्युत उत्पादन वन्द गरि भत्किएको वाँधक्षेत्रको सुरक्षापर्खाल ‘रिपर्याप प्रोटेक्सन वाल’को मर्मत गरिएको उप्रेतीले बताए। १ सय ६० मिटर लम्बाई र करिब ६ मिटर उचाई अर्थात ५ हजार घनमिटर क्षेत्रफलमा आवश्यकता अनुरुप मर्मतकार्य गरिएको छ। बेसीसहर नगरपालिका वडा नं १ उदीपुर र ११ चितीको बिच फलियासाँघुमा जलविद्युत परियोजनाको वाँध निर्माण गरिएको छ। वाँधको वायाँ पर्ने चिती तर्फको भागमा निर्माण गरिएको सुरक्षा पर्खालको संरचनामा अहिले मर्मतकार्य गरिएको हो।
अघिल्लो पटक दैनिक १२ घण्टा मात्रै काम भएकाले मर्मतमा धेरैदिन लागेको र यसपटक चौबिसै घण्टा काम हुने भएकाले ७ दिनभित्र मर्मतकार्य सकिने अपेक्षा गरिएको जलविद्युत केन्द्रप्रमुख गौतमको भनाई छ। हेटौंडास्थित जिपेक ईञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले सो क्षेत्रको मर्मतसम्हार कार्य गरेको पनि उनले बताए। उनका अनुसार, बर्षेनी सुख्खायाम सुरु भएसँगै फागुनदेखि चैतसम्म विद्युत उत्पादनगृहमा जडित युनिट (टर्वाइन) र वाँधक्षेत्रमा मर्मतकार्य गर्ने गरिन्छ। यसवर्ष मुख्य बाँधक्षेत्रमा कार्तिकदेखि नै काम सुरु गरेकाले मर्मतको काम सकिएको छ भने उत्पादनगृहमा युनिट २ को मर्मत यही ‘सटडाउन’ अवधिमै भईरहेको छ । प्राविधिक पक्षको मर्मतकार्य परियोजनामा कार्यरत ईञ्जिनियर सहित प्राविधिक कर्मचारीले नै गर्ने जनाईएको छ । अत्याधिक बालुवाको कारण टर्वाइनमा समस्या आउने भएकाले नियमितरुपमा वर्षेनी मर्मतसम्हार गरिने जलविद्युत केन्द्रका ईलेक्ट्रिक शाखाले जनाएको छ । विद्युतगृहमा ३५/३५ मेगावाट क्षमताका दुईवटा टवाईन् जडान गरि विद्युत उत्पादन गरिएकोमा पालैपालो टर्वाइन मर्मत गरिदै आएको प्राविधिकहरु बताउँछन्।
मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाको बाँध माथिको जलाशय क्षेत्रमा थुप्रिएको वालुवा समेत यो ‘सटडाउन’ अवधिमा निकालिएको छ । प्रति घनमिटर एकसय रुपैयाँका दरले राजश्व असुल्ने गरि सो क्षेत्रमा वालुवा निकाल्न व्यवसायिक फर्महरुलाई प्रकृया मिलाएर स्वीकृति दिईएको नगरप्रमुख गुमानसिंह अर्यालको भनाई छ । बाँधक्षेत्रमा अत्याधिक बालुवाका कारण टर्वाइन तथा अन्य संरचनामा समेत छिटोछिटो समस्या आउने गरेको जलविद्युत केन्द्रले जनाएको छ। परियोजनाको निर्माणका क्रममा जर्मन दातृनिकाय केएफडब्ल्यू, परामर्शदाता फिस्च्नर जेभी साथै ठेकेदार कम्पनीले हरेक ५/५ वर्षमा यसका संरचनाहरुको मर्मत गर्ने तय भएपनि मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाले सो अवधि अगावै मर्मत् सम्हार गर्नुका साथै १/१ बर्षमा टर्वाइन मर्मत गदै आएको बुझिएको छ । मध्यमस्र्याङ्दी जलविद्युत परियोजना भन्दा माथिल्लो भागका विभिन्न गाउँमा सडक निर्माण, जलविद्युत आयोजना निर्माण, भुक्षय लगायतका कारणले वालुवा थुप्रिने दर निकै तिव्र गतिमा भएको अनुमान सम्बन्धित पक्षले गरेको छ ।
मध्यमस्र्याङदीको विद्युत उत्पादन बन्द भएपनि उपभोक्ताले लोडसेडिङ मार खेप्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघि बताईसकेका छन् । यसका कारणले आपूर्ति प्रणालीमा कुनै समस्या आएमा कहींकतै कुनै समय विद्युत आपूर्ति अवरुद्ध हुनसक्ने घिसिङले बताए । विज्ञप्ती मार्फत् उनले भनेका छन्, ‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युतगृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।’ घिसिङका अनुसार, कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५ सय २१ दशमलव ९८ मिटर छ । जुन गतवर्षको यही समयको तुलनामा करिव ३ दशमलव ८३ मिटर बढी हो । कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी कूल ९२ मेगावाट विद्युत उत्पादन हुने जनाईएको छ।
प्रकाशित: १५ फाल्गुन २०७४ ०८:४२ मंगलबार