५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

निर्माणाधीन बेलिब्रिज भासियो

सिन्धुपाल्चोक – उत्तरी तातोपानी नाकालाई सडक मार्गमार्फत जोड्न अरनिको राजमार्गको लार्चामा निर्माणाधीन बेलिब्रिज भासिएको छ । पुल जोड्ने काम भइरहँदा मंगलबार भुँईं छुने गरी पुल भासिएको हो।

गएको साउन ८ गते चट्टाने पहिरो खसेर बज्रँदा राजमार्गको एक सय नौ किलोमिटरमा अवस्थित साविकका फुल्पिङकट्टी र तातोपानी गाविस जोड्ने ७० मिटर लामो लार्चाको मोटरेबल पुल भाँचिएको थियो । ओहोरदोहोरको एकमात्र विकल्प पुल भाँचिएपछि तुइनमार्फत साता लामो नाकाबन्दीमा परेको तातोपानीसँग सम्पर्क जोडिएको थियो।

चार महिनामा सक्ने गरी डिभिजन सडक कार्यालयले गत भदौदेखि बेलिब्रिज निर्माण थालेको थियो । पुन निर्माण सम्पन्न हुन दुई महिनाभन्दा बढी समय ढिलाइ भइरहँदा बेलिब्रिज भासिएको हो । ‘पुल जोड्ने क्रममा भार सन्तुलन नमिलेर भासिएको हो,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले नागरिकसँग भने।

उनले पुल भाँचिएको नभई भासिएको बताए । ‘प्राविधिकहरुले दिएको जानकारीअनुसार बरु केही बांगिएको भने हुन सक्छ,’ उनले भने । पुल निर्माण अन्तिम चरणमा पुग्दा भासिन पुगेको हो । पुलको फाउन्डेसन ठेक्कामार्फत निर्माण भएपनि बेलिब्रिज भने सडक डिजिनकै प्राविधिकले जोडिरहेका थिए ।

पुल भासिएर अस्थायी सडकमै बज्रिएपछि तातोपानीसम्मको सवारी आवागमन रोकिएको छ । भोटेकोसी नदीमा ह्युम पाइप बिछ्याएर सवारी साधन सञ्चालन हुँदै आएको थियो । भासिएको पुल उठाएर पूरानै अवस्थामा ठड्याउन समय लाग्ने भएकाले तातोपानीसम्मको सवारी आवागमन केही दिन अवरुद्ध हुने प्रजिअ तामाङ बताउँछन् ।‘भासिएको पुल क्रेनमार्फत ठड्याए ब्यालेन्समा ल्याउन सकिने प्राविधिकको रिपोर्ट छ,’ उनले भने । बेलिब्रिजको मुख्य सपोर्ट (फलाम) बिछ्याएर सहायक र अन्य सपोर्ट दिँदै मध्य भागमा पुगेपछि पुलको भार असन्तुलित भइ भाचिएको प्राविधिकले जानकारी गराएका छन् ।

‘फास्ट ट्र्याक’मा काम गर्न तत्कालीन गृहमन्त्रीले दिएको निर्देशनविपरित टेन्डर प्रक्रियामा गएपछि नाका जोड्ने बेलिब्रिज निर्माणमा ढिलाइ हुँदै आएको थियो । नदी किनारको दुईतिर तीन महिनाभित्र फाउन्डेसन बनाउन ठेकेदार कम्पनीले तीन महिनाको समय पाएको थियो । तर उसले तोकिएको समयमा जग नै बनाउन सकेन।

घटनाकै भोलिपल्ट तत्कालीन गृहमन्त्री जनार्दन शर्माले फास्ट ट्र्याकमार्फत तत्काल बेलिब्रिज राखेर नाका जोड्न निर्देशन दिएपछि सडक विभागले रातारात सामग्री पठाएको थियो । घटनाको दुई साताभित्रै बेलिब्रिजका अधिकांश सामान पुगेपछि सडक डिभिजन कार्यालय भने टेन्डर प्रक्रियामा गएको थियो । फाउन्डेसन तयार भएपछि त्यहाँ ५० मिटर लामो बेलिब्रिज जडान गर्ने काम भइरहेको हो । प्रजिअ तामाङ पुल भासिए पनि आर्थिक रुपमा खासै क्षति नएको बताउँछन् । ‘पुल निर्माणमा केही दिन अझै ढिलाइ हुने भने देखियो,’ उनले भने, ‘बांगिएर केही सामान फेर्नुपर्ने भने भएको हुन सक्छ । ठूलो आर्थिक क्षति पुगेको छैन ।’
 

प्रकाशित: ९ फाल्गुन २०७४ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App