४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडक पहुँचपछि मुहार फेर्दै राजधानीका गाउँ

कमलविनायकबाट करिब तीन सय मिटरअगाडि नेपाली सेनाको सैनिक प्रतिष्ठानदेखि उत्तरपट्टि पर्ने पुरानो बस्ती चाँगुनारायण नगरपालिका ५ छालिङकाे मुहार सडक सहज पहुँचसँगै फेरिन थालेको छ।

नेपाली सेनाको सैनिक प्रतिष्ठान ब्यारेक पछाडिबाट सुरु हुने घना ग्रामीण बस्ती रहेको छालिङ गाउँ कमलविनायकबाट तीन किलोमिटरको दूरीमा छ। भक्तपुरको ग्रामीण क्षेत्रमा नयाँ विकासका आयोजना थपिँदा छालिङवासीले भने विकासको महसुस गर्न पाएका थिएनन्।

विकासका मुख्य पूर्वाधारका रूपमा मानिने सडकको ‘ट्र्याक’ करिब ३० वर्षअगाडि खुले पनि सडक पक्की हुन सकेको थिएन। स्थानीय र जनप्रतिनिधिको पटकपटक प्रयासले अन्ततः तीन वर्षअगाडि नेपाली सेनाले प्रतिष्ठानको पर्खाल भत्काउँदै सडक विस्तारमा सहजीकरण गरिदिएपछि छालिङवासीमा खुसी छाएको स्थानीय युवा गोकर्ण पुरी बताउँछन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सैनिक प्रतिष्ठानदेखि छालिङ सडकमा कालोपत्र गरेपछि भने यहाँका स्थानीयमा थप खुसी छाएको छ। नगर प्रमुख जीवन खत्रीको अथक प्रयासमा प्राधिकरणले विनियोजन गरेको १० करोडको बजेटमा सैनिक प्रतिष्ठानबाट वडा नं ५ छालिङ कार्यालय पुग्ने दुई सय ५० मिटर सडक, खरिपाटी मनकामना एक सय ५० मिटर सडक र वडा नं ७ वागेश्वरी सुविधानगरमा फुटपाथसहित एक किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए।  

‘भौगोलोकि हिसाबले चाँगुनारायण ठूलो नगरपालिका हो। अधिकांश ग्रामीण क्षेत्र रहेको यस नगरपालिकाको छालिङमा सडककै कारण अझै पनि सार्वजनिक यातायात सञ्चालन हुन सकेको छैन’, नगर प्रमुख खत्रीले भने, ‘त्यसका लागि हामीले पहल गरिरहेका छौं। विकटलाई सुगम बनाउन चालु आर्थिक वर्षभित्र नगरपालिका र प्राधिकरणको बजेटले छालिङको सडकलाई पूर्णता दिने योजना छ।’

स्थानीय गोकर्ण पुरी भन्छन्, ‘नगर प्रमुखको नेतृत्वमा सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ। यहाँका सडकलाई पिखेल र खरिपाटीसँग जोड्ने काम सुरु भएको छ। मच्छेनारायण मन्दिर पर्यटकीय गन्तव्य बनेसँगै यस ठाउँमा विकासको लहर देखिएको छ।’

बर्खामा हिलाम्मे र हिउँदा खाल्डाखुल्डी सडकका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा स्थानीयलाई बजारसम्म पुग्न चार किलोमिटर सडक पैदल हिँड्नपर्ने बाध्यता थियो। नगरपालिकाले छालिङमा एक सय र मनकामना सडक एक सय गरी यस वर्ष दुई सय मिटर सडक यस क्षेत्रमा ढलान गरेको छ।  चाँगुनारायण नगरपालिका ५ छालिङका वडाध्यक्ष जयन्द्र खड्काले छालिङमा धेरै प्रयासपछि सडक कालोपत्र गर्न सुरुवात भएको बताए। उनले सैनिक प्रतिष्ठानबाट सुरु भएको भए पनि वडा कार्यालयसम्म बाँकी तीन किलोमिटर सडक कालोपत्र गर्न वडाले एक करोड ५० लाख रुपैयाँको बजेटमा काम सुरु गरेको उल्लेख गरे। उपत्यका विकास प्राधिकरणले चालु आवमै यहाँका सबै सडक कालोपत्र सम्पन्न गर्ने योजना बनाएको उनको भनाइ छ।

चालु आवबाटै यहाँ सार्वजनिक यातायात सञ्चालन गर्ने र यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी नगरपालिका अगाडि बढेको उनले बताए। –रासस 

प्रकाशित: २२ पुस २०८० ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App