९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

लिफ्टिङ परियोजनाबाट प्युटार लाभान्वित

बागमति सौर्य लिफ्टिङ सिँचाइ परियोजना तयार भएसँगै बागमति गाउँपालिका ४ का ५४ घरधुरी लाभान्वित हुने भएका छन्। जर्मनीको संघीय आर्थिक सहकार्य तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा बहुसरोकारवाला साझेदारहरूको एकीकृत प्रयासमा १०० प्रतिशत नवीकरणीय ऊर्जातर्फ रूपान्तरण गर्न सहज हुने गरी यो १४.२ किलोवाट क्षमताको सौर्य ऊर्जा परियोजना अघि बढाइएको हो।

सौर्य लिफ्टिङ सिँचाइ परियोजना बनेसँगै सिँचाइको पानी अभाव खेप्दै आइरहेका यहाँका ५४ घरधुरी कृषकको ७० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सक्नेछन्। सोलारसहितको सौर्य लिफ्टिङ परियोजनाले बागमती नदीमा बगेको पानी लिफ्टिङमार्फत माथिल्लो भेगमा ल्याएर सिँचाइको लागि प्रयोग गरिनेछ।

यो परियोजनाअन्तर्गत बागमती नदीको पानी सौर्य लिफ्टिङ प्रणालीमार्फत करिब पाँचसय मिटर माथि पु¥याएको छ। जहाँ डेढ लाख लिटर क्षमताको पानी संकलन गर्न ट्याङ्की पनि तयार भइसकेको छ।

सौर्य लिफ्टिङ सिँचाइ परियोजनाको निर्माणको जिम्मेवारी भने मिनर्जी प्रालिले पाएको थियो।

प्रालिका सिनियर कार्यक्रम निर्देशक ऋतवराज जोशीले कुल ३२ लाख लागतमध्ये विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले ८० प्रतिशत र बागमती गाउँपालिकाले २० प्रतिशत लगानीमा तयार भएको बताए।

‘बागमती नदीको पानीलाई सोलार लिफ्टिङ प्रणालीमार्फत तानेर सिँचाइको लागि पानी उपलब्ध गराइनेछ,’ उनले भने, ‘अहिलेसम्म बागमती नदीको पानी लिफ्टिङमार्फत पानी संकलन गर्ने ट्यांकीसम्म पानी पुगिसकेको छ,’ उनले भने, ‘अहिलेसम्म सिँचाइको पानी वितरणको लागि ९६५ मिटरमध्ये पाँच सय मिटर लामो पाइप बिछ्याइसकेका छौं,’ उनले भने, ‘बाँकी रहेको ४६५ मिटर पाइप  बिछ्याउने काम पालिका मातहत रहेको छ।’

अहिलेसम्म ५४ घरधुरीमध्ये ३० घरधुरीमा सिँचाइको पानी वितरण भइसकेको छ। बागमती सौर्य ऊर्जा लिफ्टिङ सिँचाइ परियोजनाका अध्यक्ष राजन सापकोटाले हिउँद याममा हुने पानीको अभाव परिपूर्ति गर्न निकै फाइदा हुने बताए।

‘भर्खरै सौर्य ऊर्जा लिफ्टिङ तयार भएको छ,’ उनले भने, ‘अब यहाँका कृषकले हिउँद याममा खेतीपाती तथा तरकारी लगाउन सक्नेछन्।’

सौर्य ऊर्जाबाट उत्पादन भएको बिजुलीलाई स्थानीय विद्युत्को प्रसारण लाइनसँग पनि जोडिएको छ। सौर्य ऊर्जा लिफ्टिङले दैनिक ६० किलोवाटभन्दा धेरै बिजुली उत्पादन गर्ने बताइएको छ। सौर्य ऊर्जाबाट उत्पादन भएको बिजुली प्रयोग गरेर पानी तान्नको लागि प्रयोग गर्न सकिनेछ।

पानी तान्ने बेलाबाहेक उत्पादन हुने बिजुली खेर नजाओस् भन्दै स्थानीय ग्रिडमा समेत पठाइने गरिएको छ। विश्वका विकासोन्मुख देशहरूमा सबैका लागि १०० प्रतिशत नवीकरणीय ऊर्जासहितको ‘राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन गर्न बहुसरोकार साझेदारीमार्फत विभिन्न कार्यक्रम हुँदै आइरहेका छन्।

शतप्रतिशत नवीकरणीय ऊर्जाका लागि बहुसरोकारवाला साझेदारी भनिने तीन वर्षीय परियोजना सन् २०२० बाट सुरु भएको हो।

जर्मनीको संघीय आर्थिक सहकार्य तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित भएको हो। राष्ट्रिय निर्धारित योगदान २०२० ले ऊर्जा मिश्रणलाई विस्तार गर्दै र नवीकरणीय ऊर्जामा केन्द्रित हुँदै जैविक तथा खनिज इन्धनमाथिको निर्भरतालाई घटाउन विशिष्ट लक्ष्यहरू तय गरेको छ।

नेपालले सन् २०५० सम्ममा सबैको पहुँच सुनिश्चित गर्दै ऊर्जाको भरपर्दाे आपूर्ति बढाउने प्रतिवद्धता जनाएको छ।

प्रकाशित: १६ पुस २०८० ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App