११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन मन्त्रालयद्वारा कार्यसम्पादन चुस्त बनाउन प्रयास गरेको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो वार्षिक कार्यसम्पादन विवरण प्रकाशन गरेर कार्यसम्पादन चुस्त बनाउन प्रयास गरेको दाबी गरेको छ।

 सरकारले एक वर्ष पूरा गरेको अवसरमा यसबीच गरेका प्रगति, नीतिगतसुधार, आगामी कार्यदिशाका विवरण आदि समेटेर वार्षिक विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयद्वारा प्रकाशित कार्यसम्पादन विवरणमा प्रमुख नीतिगत विषय, अन्तरनिकाय समन्वय र मन्त्रालयको कार्य सम्पादन चुस्त बनाउन गरिएका प्रयास र व्यवस्थाबारे उल्लेख गरिएको छ।

मन्त्रालयले प्रमुख नीतिगत विषय अन्तर्गत राष्ट्रिय संस्कृति नीति संशोधनको प्रक्रिया, पर्वतारोहण नियमावली, २०५९ को संशोधन, नेपाल नागरिक उड्डयन प्राधिकरण (नियमन) विधेयक तथा हवाई सेवा प्राधिकरण (सेवा प्रदायक विधेयक, २०८० मस्यौदा मन्त्रीपरिषद्मा पेश भएको, पर्यटन ऐन २०३५, प्रतिलिपि अधिकार संरक्षण ऐन २०५९ आदि बृहत्तर र समसामयिक बनाउन संशोधन गरिएको कार्य अन्तिम चरणमा रहेकोलगायतका विषय समावेश गरिएको छ।

यस्तै अन्तर निकाय समन्वयको सम्बन्धमा मन्त्रालयबाट तर्जुमा (संशोधन समेत) हुने ऐन, नियमावली, कार्यविधि, बजेट हस्तान्तरण जस्ता विषयमा सरोकारवाला मन्त्रालय/निकायबाट समयमै राय/सहमति/निर्णय प्राप्त नहुँदा कार्यसम्पादनमा ढिलाइ हुने गरेको विषय रहेका छन्।

यस्तै पूर्वाधार विकासका कार्यहरू सञ्चालन गर्ने निकायहरूबाट यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित निकायहरूसँग समन्वय नहुँदा ऐतिहासिक एवम् पुरातात्त्विक क महत्त्वका सम्पदाको संरक्षण गर्न चुनौती सिर्जना भएकोमा अन्तर निकाय समन्वय विषय रहेका छन्।

सरोकारवाला निकाय र निगरानी गर्ने निकायहरूमा कार्यसम्पादन सम्बन्धमा लामो छलफल जवाफ र समय व्यवस्थापन गर्नु पर्दा कार्य सम्पादनमा संशय पैदा हुने गरेकोमा मन्त्रालयले अन्तर निकाय समन्वय गरिरहेको कार्यसम्पादन विवरणमा उल्लेख छ।

यसै क्रममा मन्त्रालयको कार्यसम्पादन चुस्त बनाउन गरिएका प्रयास तथा व्यवस्थाहरू अन्तर्गत सूचना प्रविधिको माध्यमबाट होटल दर्ता व्यवस्थापन, पर्वतारोहण अनुमति प्रणाली लागु गरिएको उल्लेख छ।

यस्तै मन्त्रालयमा अनलाइन ग्रिभान्स सिस्टम लागु गरी सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासो सम्बोधन गर्ने व्यवस्था आदि रहेका छन्।

साथै भरतपुर विमानस्थल विस्तार तथा भरतपुर, भोजपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलको आन्तरिक टर्मिनल भवन निर्माण कार्य प्रारम्भ भएको मन्त्रालयले उल्लेख गरेको छ।

नेपालगञ्ज, धनगढी र विराटनगर विमानस्थलहरूमा व्यागेज कन्भेयर बेल्ट जडान भई सञ्चालनमा आएको, काठमाडौं उपत्यका बाहिरका आठ वटा विमानस्थलबाट रात्रीकालीन उडान हुने गरेको र वायुसेवा रात्री विश्राम गर्ने व्यवस्था मिलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप कम गरिएको कार्यसम्पादन विवरणमा उल्लेख छ।

यसबाहेक हालसम्म ४१ मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएको छ। हालै नेपाल र रुवान्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको तथा स्वीजरल्यान्ड र इन्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको लगायतका अन्य विभिन्न विषय तथा क्षेत्रहरूमा कार्यसम्पादन चुस्त दुरूस्त बनाउन गरिएको प्रयास भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ पुस २०८० ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App