४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खरिद बिक्री राेक्न लेखाकाे निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेल सेयर खरिदबिक्रीको विषयमा विस्तृत अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्दै तत्काल कारोबार रोक्न सरोकारवाला पक्षलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले यस विषयमा ३० दिनभित्र काम गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न/गराउन पनि सरकारलाई निर्देशन दिएको छ।

समितिले सेयर खरिदबिक्री सम्बन्धमा भएका कामको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिममा छ भन्ने भनाइका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न पनि निर्देश गरेको छ।

कानुनमा रहेका छिद्र उपयोग गरी हुनसक्ने चलखेल रोक्न, लगानीकर्ताको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुनेगरी स्पष्ट खाकासहित दूरसञ्चारसम्बन्धी कानुन संशोधन गर्न पनि समितिले सरकारलाई सुझाएको छ।

एनसेलको सेयर साझेदार मलेसियन टेलिकम्युनिकेसन कम्पनी आजिएटाले आफ्नो ८० प्रतिशत सेयर नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिबिना अर्को कम्पनीलाई बेचेको वा स्वामित्व हस्तान्तरण गरेको समाचार बाहिर आएपछि त्यसमा चासो देखाउँदै समितिले छलफल गर्न बैठक बोलाएको थियो।

आजिएटाले सेयर बेच्न पहिला नै प्राधिकरणको अनुमति लिनुपर्नेमा अहिले आएर अबका प्रक्रिया पूरा गर्छु भन्नुले पनि कारोबारमा गम्भीर आशंका उब्जिएको समितिको ठहर छ।

समितिको बैठकमा उपस्थित प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ५ प्रतिशतभन्दा बढी सेयरको खरिदबिक्री कारोबार गर्दा प्राधिकरणको स्वीकृत चाहिने बताए।

आजिएटा र युके स्पेक्ट्रलाइटबीच सेयर खरिदबिक्रीका लागि सहमति भएको जानकारी पाएको र सहमतिको कागजात अध्ययनका लागि माग गरिएको उनले बताए। प्राधिकरणमा प्राप्त जानकारीअनुसार पाँच करोड अमेरिकी डलरमा सेयर बिक्री भएको उनले बताए।

समितिले सेयर खरिदबिक्री गर्दा कानुनी व्यवस्थाको परिपालना नगरी अपारदर्शी तवरमा अति न्यून मूल्यांकन गरी कारोबार गरिनु शंकास्पद रहेको जनाएको छ। समितिको बैठकमा कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार दीपक पहाडीले सेयर खरिदबिक्रीसम्बन्धी कुनै पनि कागजात आफ्नो कार्यालयमा पेस नगरिएकाले यसबारे आधिकारिक केही भन्न नसक्ने बताए।

उनले सेयर खरिदबिक्री वा हक हस्तान्तरण गर्दा सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालन गर्नुपर्ने बताए। सेयर खरिदबिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमति वा स्वीकृति लिनुपर्छ।

यसैबीच बुधबारै बसेको प्रतिनिधिसभाको अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहितको विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

अर्थ समितिले पनि यस विषयमा प्राधिकरणका अधिकारीलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो। प्राधिकरणका अधिकारीसँगको छलफलपछि समितिले एनसेलको सेयर खरिदबिक्रीको वास्तविकतासहितको विवरण १५ दिनभित्र लिखित रूपमा पेस गर्न निर्देशन दिएको हो।

प्रकाशित: २१ मंसिर २०८० ०१:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App