५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

भूकम्प प्रभावित उद्यमीलाई महासंघ अध्यक्ष ज्ञवालीको सहयोग

भूकम्प प्रभावित जिल्ला जाजरकोटका महिला उद्यमीहरुलाई महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले आर्थिक सहयोग गरेकी छन्। भूकम्प पीडितहरुको अवस्था बुझ्न प्रभावित जिल्ला पुगेकी ज्ञवालीले महिला उद्यमीका लागि व्यक्तिगत आर्थिक र केही सामग्री सहयोग गरेकी हुन्। भूकम्पका कारण महिला उद्यमीहरुको व्यवसाय बन्द भएका छन्।

‘भूकम्पले महिला व्यवसायीहरुले सञ्चालन गरेका व्यवसाय भन्द भएका छन्, व्यवसायमा ठूलो क्षति पुर्‍याएको पाइयो,’ भूकम्प प्रभावित क्षेत्रको अनुगमन र व्यवसायीहरुसँगको छलफलपछि ज्ञवालीले भनिन्, ‘व्यवसाय सुरु गर्नका लागि सबैको सहयोग र साथको खाँचो छ।’  

जाजरकोट सदरमुकामसमेत रहेको भेरी नगरपालिका–३ स्याँलाकी शान्ता परियारको गार्मेन्ट उद्योग थियो। आफूसहित चार जना गार्मेन्टमा काम गर्थे। भूकम्पका कारण उनले व्यवसाय सञ्चालन गरिरहेको घर भत्कायो। ‘गार्मेन्टमा प्रयोग भएका मेसिन, कच्चा पदार्थ र तयारी सामानहरु भग्नावशेषमा च्यापिएका छन्,’ शान्ताले भनिन्, ‘भूकम्पले व्यवसाय बन्द भएपछि कामदारहरुलाई पनि घर पठाएकी छु।’

शान्तालाई फेरि कसरी व्यवसाय सुचारु गर्ने भन्ने चिन्ता छ। १० लाख रुपैयाँ लगानी गरेर पाँच वर्षअघि थालिएको व्यवसाय बढेर ५० लाखसम्म पुगेको थियो। सिनजमा पाँचदेखि सात जनासम्म दैनिक ज्यालादारीमा कामदार राख्थिन्। ‘आफूसँगै केही परिवारलाई रोजगारी दिएकी थिएँ,’ उनले भनिन्, ‘भूकम्पको एक झट्काले अहिलेसम्मको लगानी र मेहनत शून्यमा पुर्‍याइदियो।’

खलंगामै मिना नेपालीको नमूना झोला तथा सिलाई कटाई उद्योग थियो। स्थानीय कच्चा पदार्थहरु अल्लो, भाँगो, उनीलगायतबाट झोला बनाउँथिन्। बजारको समस्या थिएन्। चार जनाले रोजगारी पनि पाएका थिए। उनकै उद्योगका कारण गाउँगाउँमा कच्चा पदार्थ संकलन गर्नेहरुलाई पनि गुजारा चलाउन सहज भइरहेको थियो। शुक्रबारको भूकम्पले उनको उद्योग रहेको घर चर्कियो। ‘घरभित्र पस्नै डर लाग्छ,’ उनले भनिन्, ‘चर्किएको घरमा कसरी व्यवसाय सञ्चालन गर्नु ?’ मिनालाई पनि आफूले सञ्चालन गर्दै आएको उद्योग कहिले सञ्चालन हुन्छ भन्ने पत्तो छैन्।

महिला उद्यमी महासंघका प्रदेश प्रतिनिधि एवम् जाजरकोट अध्यक्ष शिला नेपालीले महासंघका केन्द्रीय अध्यक्ष ज्ञवाली दिएका सामग्री र एक लाख रुपैयाँ भूकम्पबाट पीडित महिला उद्यमीहरुलाई वितरण गरिएको बताइन्। ‘भूकम्पले निम्त्याएको विपत्तिमा पीडितहरुलाई भेट्न आउनु भयो, यहाँको अवस्था देखेपछि नगद सहयोग पनि गर्नुभयो,’ उनले भनिन्, ‘केन्द्रीय अध्यक्षज्यूले दिनु भएको नगद सहयोग बिहीबार पीडित महिला उद्यमीहरुलाई वितरण गरेका छौं।’

महिला उद्यमी महासंघका अध्यक्ष ज्ञवालीले पीडित उद्यमीहरुसँगको भेटमा विपत्तिमा धैर्य गर्नु आवश्यक रहेको बताइन्। उनले पुनः व्यवसाय सुरु गर्नु अहिलेको अवस्थामा चुनौति रहेको बताउँदै भूकम्प प्रभावित जिल्लाका उद्यमी–व्यवसायीहरुलाई सबैको साथ र सहयोगको खाँचो औल्याइन्। ‘भूकम्पले धेरै घरहरुमा क्षति पुर्‍याएको छ, व्यवसाय ठप्प छ,’ उनले भनिन्, ‘यस्तो संकटको घडिमा रुकुम पश्चिम र जाजरकोटलाई सबैको साथ र सहयोगको आवश्यक छ।’  

प्रकाशित: २३ कार्तिक २०८० ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App