६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नवीन सोचलाई केयुको लगानी

काठमाडौं विश्वविद्यालय (केयु) ले नवीन सोच भएका परियोजनाको लागि १ करोड ४० रूपैयाँ लगानी गर्ने भएको छ।

केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकारको सहयोगको इनरजाइज नेपाल कार्यक्रमले नवीन सोचसहितको विभिन्न व्यवसाय प्रवद्र्धनका लागि लगानी गर्ने भएको हो। नवीन सोचदेखि व्यापारसम्म सहायता कार्यक्रमअन्तर्गत इनरजाइज नेपालले विनियोजन गरेको ४० लाख रूपैयाँमा ऊर्जासँग सम्बन्धित नवीन सोचलाई (इनोभेटिभ आइडिया) मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ र यस अन्तर्गत सम्पूर्ण नेपाली नागरिकले आवेदन दिन सकिने छ भने १ करोड ऊर्जा लगायतका अन्य क्षेत्रमा भएका सोचलाई व्यापारमा परिणत गर्न उपलब्ध गराइने छ। यसअन्तर्गत आवेदकहरू केयुसँग आवद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउनेछन्।

केयुका अनुसार प्रत्येक नवीन सोचलाई पाँच लाख छुट्याइएको छ। यस्तो सहायता २८ वटा नवीन सोचले पाउने छन्। कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोगले एक करोड र इनरजाइज नेपालले केयुलाई ४० लाख रूपैयाँ  उपलब्ध गराएको हो।

मंगलबारदेखि लगानीका लागि आवेदन दिन सकिने र ३१ डिसेम्बरसम्मका लागि आवेदन दिन समय राखिए पनि निवेदन दिएपछि दुई हप्ताभित्रै लगानी योग्य परियोजनालाई लगानी गर्ने व्यवस्था गरिएको  इनरजाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए।

‘नवीन सोचमा आधारित व्यापार र व्यवसायको प्रवर्द्धन गर्ने, यसमार्फत रोजगारी सिर्जना गर्ने र यसमार्फत विद्यार्थीदेखि लगानी गर्न चाहनेहरूसम्मका लागि अवसर सिर्जना गरी यसमार्फत देशको अर्थतन्त्रमा योगदान दिने उद्देश्यसहित कार्यक्रम सुरु गरेका हौं।’

उनले भने, ‘लगानी योग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र गरेर उनीहरूले सोचेको परियोजना लगानीयोग्य भए तुरुन्तै सहायता पाउनेछन्।’

प्रस्तावित परियोजना लगानीयोग्य नभए उनीहरूलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए। केयुले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीन सदस्यीय समिति समेत गठन गरेको छ।

केयु अन्तर्गत इन्कुबेसन सेन्टरले १०, इनरजाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरले १० वटा विभिन्न नवीन आइडियालाई लगानी गरिसकेको छ। विशेष गरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी  गरेका छन्। इनरजाइज नेपालका अनुसार यस आयोजना मार्फत दुई सय भन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइसकेका छन्।

प्रकाशित: २२ कार्तिक २०८० ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App