४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटन व्यावसायी भन्छनः रोकिएका आन्तरिक हवाई उडान सुरु गरौं

बिराटनगरमा जाउँ हे पोखरा अभियान अन्तरगतको छलफल। तस्बिरः नागरिक

पर्यटकीय सहर पोखराबाट नेपालका पूर्वी सहरसम्मको सिधा हवाई पहुँच नियमित गर्न व्यावसायीले सुझाएका छन्। यसअघि पोखरालाई पूर्वी सहरसम्म जोड्नेगरि हवाई सेवा सुरु भएपनि बीचमै रोकिएका थिए। आगामि दिनमा नियमित उडान थाल्न व्यावसायीले हवाई कम्पनिलाई आग्रह पनि गरेका हुन्।

पूर्वी सहरलाई पोखरासम्म हिधा हवाई सेवाले जोड्न सक्ने हो भने आन्तरिक र भारतीय पर्यटकको पोखरासम्मको आउजाउ बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ। पोखराको प्रवद्र्धन गर्न होटल संघ पोखराले चलाएको ‘जाउँ है पोखरा अभियान’ अन्तगर्त औद्योगिक शहर विराटनगरमा आयोजित छलफलमा व्यावसायीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हवाई सेवा अत्यावश्यक रहेको बताए।

यातायात पहुँच सहज नहुँदा चाहेर पनि पूर्वी भेगका कतिपय पर्यटक पोखरा आउन नसकेको व्यावसायीको गुनासो छ। पोखराबाट यसअघि नै विराटनगर र गएको फागुन महिनामा झापाको भद्रपुरसम्म सिधा हवाई उडान सुरु भएपनि ती उडान नियमित हुन सकेका छैनन। त्यस्तै पोखराबाट जनकपुर र सिमरासम्म पनि उडान सुरु भएकोमा ती पनि अहिले रोकिएका छन्। पोखरा बिराटनगर कोरोना संक्रमण अघि सुरु भएको उडान कोरोना त्रास बढेपछि रोकिएको थियो।  

पोखराबाट भद्रपुर, जनकपुर र सिमरा भने पछिल्लो समय सुरु भएका उडान पर्याप्त यात्रु नभएको भन्दै रोकिएका थिए। पोखरालाई जोड्नेगरि उडान सुरु हुने हो भने त्यसले पोखरामा थप आन्तरिक पाहुनाको चलायमान बनाउन सघाउने व्यावसायीको भनाई छ।

 ‘नेपालको पूर्वी सहरबाट पोखरा जोड्ने गरी सुरु गरिएका सिधा उडान सेवा पनि बीचमै रोकिए। उडान नियमित हुन नसक्दा त्यसले पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ,’ बिराटनगरका व्यावसायीसँगको छलफलको क्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भने, ‘पूर्वी नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा उडान सेवा र स्तरीय पर्यटक बस संचालन गर्न पुनः पहल गर्न जरुरी छ। स्थल र हवाई मार्ग सहज हुने हो भने पर्यटकीय गतिविवधि बढ्ने अपेक्षा हो।’ पर्यटनका लागि ‘कनेक्टिभिटी’ महत्वपूर्ण हुने कारण सिधा हवाई सेवा पुनः सुचारु गर्न जरुरी रहेको उनले बताए।  

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले आबश्यक तयारी गरी पूर्वबाट पोखरासम्मको सिधा उडान सेवा सुचारु गर्नुपर्ने बताए। उनले हवाई सेवा नियमित हुने हो भने पोखरामा नेपालको पूर्वी सहरका मात्र नभई भारतीय पाहुना पनि बढाउन सहज हुने बताए।

 ‘आन्तरिक मात्र नभई पूर्वी नाका हुँदै नेपाल भित्रिएका भारतीय र अन्य मूलूकका पर्यटकलाई पनि पोखरासम्म लैजान सकिन्छ। अहिले स्थलमार्गको झन्झटिलो यात्राले पूर्वी सहरबाट पर्यटकहरु पोखरासम्म घुम्न जान सकेका छैनन,’ पराजुलीले भने, ‘हवाई कम्पनिले मात्र चाँसो देखाएर हुँदैन, पोखरा र पूर्वी सहरका व्यावसायीले पनि हवाई सेवा दिगो बनाउन तत्परता देखाउनुपर्छ।’  

अहिले पोखराका व्यावसायीले पूर्वी सहरमा आन्तरिक पर्यटक बोलाउनकै लागि प्रवद्र्धन अभियान चलाएको भन्दै पराजुलीले भने, ‘यस्ता अभियानले पर्यटकीय आउजाउ बढाउँछ, पाहुनाको आउजाउ बढ्ने हो भने पर्यटन पनि चलायमान बन्नेछ।’ पोखरा घुम्न आउने पर्यटक अहिले लामो समय लगाएर स्थलमार्गबाट आउनुपरेकोले त्यो झन्झटपूर्ण रहेको पराजुलीको भनाई छ।  

होटल संघ कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पोखरासम्म सिधा हवाई सेवा संचालन हुन नसक्नुका कमी कमजोरीलाई समीक्षा गर्दै यसअघि थालनी भएका तर, अहिले रोकिएका सेवा पुनः सुचारु गर्न पहल गर्नुपर्ने बताए। हवाई सेवा सुरु गरेर मात्र नभई त्यो सेवाको भारतीय सीमावर्ति सहरमा पनि प्रवद्र्धन गर्न सके थप भारतीय पर्यटकलाई पोखरासम्म लैजान सकिने उनले बताए। भारतीय पर्यटकलाई पूर्वी नाकाबाट भिœयाएर हवाई माध्यमाबाट पोखरासम्म पठाउन सक्ने हो भने त्यसले पर्यटन क्षेत्रमा लाभ दिने उनले बताए।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको मूल आधार नै पर्यटन भएको बताउँदै पर्यटनका लागि हवाई र स्तरीय बस सेवाको आवश्यकता रहेको बताए। यसअघि यात्रु अभाव भन्दै केही समयका लागि उडान रोकेको भनिएपनि उडान नियमित नहुनुमा यात्रु नै अभाव भएको उनले बताए। अहिले पोखराबाट पूर्वी सहरसम्म जानुपर्दा कि त स्थलमार्गको लामो यात्रा नत्र पोखराबाट काठमाडौं हुँदै जानुपर्दा लागत बढ्ने गरेको उनले बताए।

‘पोखराबाट काठमाडौं हुँदै पूर्वी सहरमा हवाई मार्गबाट आउनुपर्दा निकै नै महंगो पर्छ। स्थलमार्गको समय पनि निकै नै बढी छ। त्यसैले पोखरालाई सिधै पूर्वी सहरसम्म हवाई माध्यमले जोड्ने हो भने त्यसले पर्यटनमा सकारात्मक साथ दिनेछ,’ श्रेष्ठले भने।  

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्दै होटल संघ पोखराले अहिले पूर्वी सहरमा जाउँ है पोखरा अभियान चलाएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघले झन्डै अढाई दशकदेखि यो अभियान चलाएको छ। आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउने गरि आयोजित पाँचदिने अभियान अन्तर्गत जनकपुर, बिराटनगर, बिर्तामोड, धनकुटा र चितवन लगायतका सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको संघले बतँएको छ।  

यो अभियान सुरु गर्दा (सन् २००१) पोखरामा आन्तरिक पाहुनाको हिस्सा मुस्किलले पाँचप्रतिशत रहेकोमा अहिले नियमित रुपमा ४० प्रतिशतसम्म उक्लेको व्यावसायीको भनाई छ। कुनै बेला त यो हिस्सा बढेर ६० प्रतिशतसम्म पनि पुग्ने गरेको व्यावसायीको भनाई छ।  

प्रकाशित: १९ कार्तिक २०८० ०८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App