७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

निउरो बेचेर घर खर्च

चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दिनचर्या आजभोलि पूर्व-पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ। टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बेच्दै आएकी उनी तीन वर्षदेखि यही पेसा गर्दै आएकी छन्।

विकसँगै अन्य आठ-दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ। विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विक सुरुआती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन्। सो काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनी निउरो बेच्न थालेकी हुन्।

‘दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नुपरेको छ’, उनले भनिन्।

दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन्।

‘घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनुपर्छ, दुःख छ’, उनले भनिन्, ‘दुःखै गरेर भए पनि आफ्नो दैनिकी सहज रूपमा चलेको छ।’ ५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीं जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फकिइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन्।

‘अगाडि नै गैँडा भेटिंदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु’, उनले भनिन्।

मासिक तीन सय रुपैयाँको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले बताइन्। उनले भनिन्, ‘ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरूले मूल्य घटाउँछन्।’

एक सय रुपैयाँको निउरो किन्दा १० रुपैयाँसम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकेकी  छ। उनको दिनचर्या पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ। पहिलापहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बेच्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन्।

‘अहिले उमेर ढल्किंदै गयो। अरू काम गर्न सकिंदैन। दिनभरि सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु’, उनले भनिन्, ‘सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बेच्ने गरेकी छु।’

आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो।

उनले गुनासो पोखिन्, ‘चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु। हामी ताजा तरकारी बेच्नेसँग १० रुपैयाँमा चित्त नबुझे फालेर हिंड्छन्।’

सरदरमा दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आएकी मगरले साँझ ७ः३० बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको बताइन्।

भरतपुर महानगरपालिका-८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बेच्दै आएकी छन्। विगत छ महिनाअघि देखि यो पेसामा लागेका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछिन्। घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नुपरेको उनले बताइन्। उनले भनिन्, ‘काम भनेको सानो ठूलो केही हुँदैन। पेट पाल्न काम त गर्नै पर्‍यो।’

पूर्व-पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बेच्न नपाइने बताइन्। उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताइन्। अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो।

प्रकाशित: ५ आश्विन २०८० ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App