५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

निःशुल्क ब्लड बैँकका लागि ५१ लाखभन्दा बढी रकम सङ्कलन

नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाले चलाएको एक अभियानमा ४० दिनमै ५१ लाख बढी रकम सङ्कलन भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले निःशुल्क ब्लड बैँक सञ्चालनका लागि चलाएको अभियानमा नागरिकस्तरबाट पहिलो चरणमै ५१ लाख बढी रकम सङ्कलन भएको रेडक्रसले जनाएको छ।  

गत साउन १० गतेबाट सिन्धुलीको ब्लड बैँक सञ्चालन तथा व्यवस्थापनसहित बिरामीलाई निःशुल्क ब्लड उपलब्ध गराउन एक करोडको अक्षयकोष स्थापनाका लागि सहयोग सङ्कलन अभियान चलाएपछि पहिलो चरणमा मङ्गलवारसम्म तीन सय तीस जनाबाट ५१ लाख ८५ हजार ५ सय ३५ रुपैया सङ्कलन भइसकेको रेडक्रस सभापति अशोक श्रेष्ठले जानकारी दिए।  

दुई चरणमा गरी रकम सङ्कलन गर्ने उदेश्य लिएको रेडक्रसले पहिलो चरणमा आम नागरिक र आम समुदाय तथा रेडक्रस उपशाखामा आवद्धता भएका व्यक्तिहरूबाट रकम सङ्कलन भएको जनाएको हो। असोज मसान्तसम्मको समयावधि कायम गरी १ करोडको अभियान पुरा गर्ने लक्ष्य राखिएको र अब दोस्रो चरणमा स्थानिय तह तथा विभिन्न सरकारी विद्यालय तथा अन्य सङ्घसंस्थासँग सहयोग माग गरिने रेडक्रसले जनाएको छ।  

रकम सङ्कलन गर्दै जाँदा असोज मसान्तसम्म १ करोड बढी सङ्कलन भएपनि त्यो मुल पुजिको रुपमा अक्षयकोषमा राखिने रेडक्रस सभापति श्रेष्ठले जानकारी दिए। रक्तदाताहरूबाट निःशुल्क प्राप्त रगतलाई वितरण योग्य अवस्थामा राख्न प्रयोग गरिने उपकरण व्यवस्थापन गर्न धेरै खर्च लाग्ने भएकाले यो अभियान चलाइएको उनको भनाइ छ।  

आर्थिक रुपले अति विपन्नहरू आउने भएकाले ब्लडका लागि आवश्यक न्यूनतम रकम समेत तिर्न नसक्ने विरामी तथा सेवाग्राही हुने भएकाले निःशुल्क ब्लड उपलब्ध गराउन यस्तो अभियान सञ्चालन गर्नु परेको रेडक्रसका मन्त्री रामकुमार कार्कीले बताए। सिन्धुलीमा विशेष गरि सुत्केरी तथा गर्भवती महिलाहरूलाई, दुर्घट्नामा परेका बिरामीलाई र रगतको मात्रामा कमी भएका बालबालिका तथा जेष्ठ नागरिकलाई धेरै रगत उपलब्ध गराउनु पर्ने अवस्था रहेको छ। 

नेपाल रेडक्रस सोसाइटीमार्फत जिल्लामा २०७३ साल असोजमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना भई सेवा दिँदै आएको रेडक्रसले जनाएको छ। रेडक्रसको तथ्याङ्क अनुसार वार्षिक सात सयभन्दा बढी बिरामीलाई ब्लड दिनुपर्ने अवस्था रहेकाले अक्षयकोष स्थापना गरी सोही कोषको ब्याजबाट सम्पूर्ण व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। कोषमा हालसम्मको अवस्थामा पचास रुपैयाँदेखि १ लाख २५ हजार रुपैयाँसम्म उपलब्ध गराउने व्यक्ति दाता रहेका छन्।  

पाँच हजारभन्दा बढी रकम जम्मा गर्ने दाताहरूको नाम सिलालेखमा लेख्ने रेडक्रसले जनाएको छ भने त्योभन्दा कम सहयोग गर्ने दाताहरुको नाम ठेगाना समेत रेडक्रसको वार्षिक पुस्तकमा अभिलेखिकरण गर्ने योजना रहेको जनाइएको छ ।  

प्रकाशित: २१ भाद्र २०८० ०४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App