५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

१० वर्षमा पाँच गुणाले बढ्यो सेयर पुँजीकरण

लगानीकर्ता भने निराश

अर्थतन्त्रको प्रमुख हिस्साका रूपमा रहेको मुलुकको सेयर बजारको पुँजीकरण एक दशकमै पाँच गुणाले बढेको छ। डिजिटल प्रविधिमा आएको विकाससँगै अनलाइनबाट हातहातमा कारोबार गर्न मिल्ने भएपछि लगानीकर्ताको आकर्षणले पुँजी बजारमा छोटो समयमै उछाल आएको हो।

आर्थिक वर्ष २०६९-७० मा ५ खर्ब १४ अर्ब रूपैयाँको सेयर बजार पुँजीकरण आव २०७९-८० मा आइपुग्दा ३० खर्ब ८२ अर्ब रूपैयाँमा पुगेको छ। यसरी हेर्दा नेपालमा सबैभन्दा दु्रत गतिमा विकास हुने क्षेत्रमध्ये पुँजी बजार पनि देखिएको छ।

प्रविधिको विकास, पुँजी बजारमा नयाँ कम्पनीहरू लिस्टेट हुने क्रमको वृद्धि, ठुलो पुँजी भएका कम्पनीहरू सेयर बजारमा आएकाले पुँजीकरणको आकार बढेको हो। कोभिड–१९ को महामारीसँगै अनलाइन कारोबारले अझ व्यापकता पाएपछि सेयर बजारमा आकर्षण ह्वात्तै बढेको थियो। आव २०७७-७८ मा सेयर पुँजीकरण औसत ४० खर्ब १० अर्ब रूपैयाँ पुगेको थियो। कोभिडको समयमा अन्य कारोबार नभएकाले सबै लगानीकर्ता सेयर बजारमा केन्द्रित भएका थिए। पछिल्ला दुई वर्षमा लगानीकर्ताले भने करिब १० खर्ब रूपैयाँ गुमाएपछि सेयर पुँजीकरण ३० खर्ब ८२ अर्ब रूपैयाँमा खुम्चिएको छ।  

१० वर्षमा नेप्से सूचकांक पनि चार गुणाले बढेको छ। आव २०६९-७० मा ५१३.३३ रहेको नेप्से आव २०७९-८० को अन्त्यमा आइपुग्दा औसत सूचकांक १,९५३.०६ अंकमा पुगेको थियो। एक वर्षमा नेप्से सूचकमा भने सामान्य वृद्धि भएको छ। धितोपत्र बजार मापन परिसूचक नेप्से सूचक समग्रमा ८७.६ प्रतिशत मात्र बढेको छ। २०७९ असार मसान्तमा २००९.५ रहेको नेप्से सूचक २०८० असार मसान्तमा २०९७.१ कायम भएको थियो। बुधबार नेप्से १,९९८.२८ अंक रहेको छ।

अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्थाले सेयर बजारमा गृहणी, विद्यार्थी, कर्मचारीदेखि ठुला लगानीकर्ता प्रवेश गरेका छन्। सेयर बजारमा लगानीकर्ताको संख्या ५६ लाख पुगेको छ।  

नेपालको सेयर बजारमा अराजकता देखिएको नेप्सेका अधिकारीहरू बताउँछन्। ‘मेरो लगानी डुब्यो भनेर नेता तथा मन्त्रीको घरदैलोमा चहार्ने चलन विश्वमा कहीँ छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘लगानीकर्ताले आफू डुब्यौं भने पनि तथ्यांकले त्यो पुष्टि गर्दैन।’

सेयर कारोबारमा टिएमएस चलाउनेको संख्या १८ लाख छ।सूचीकृत कम्पनीको संख्या २५४ पुगेका छन्। अहिले ७७ वटै जिल्लाबाट सेयर कारोबार हुन्छ। मुलुकभर मात्र नभएर हङकङ, मलेसिया, अस्ट्रेलिया, मलेसिया, खाडी मुलुकलगायतबाटै अनलाइनबाट सेयर खरिदबिक्री गर्न सक्छन्। सेयर कारोबार गर्ने ब्रोकरको संख्या ९० पुग्दैछ। पोखरामा मात्र १२ स्टक ब्रोकरका शाखा पुगेका छन्। क्यापिटलको संख्या ३० पुगेका छन्। यी सूचकले सेयर बजारमा धेरै सुधार भएको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए। ‘नीति नियम समयाअनुकूल आएका छन्,’ पराजुलीले भने, ‘कारोबारीमा केही निराश देखिए पनि सेयर बजारमा धेरै सुधार भएको छ।’ नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले पुँजी बजारलाई व्यवस्थित बनाउँदै लगे पनि सुधार गर्नुपर्ने पक्ष अझै धेरै रहेको लगानीकर्ता बताउँछन्।

आकार बढे पनि पुँजी बजारबाट प्रतिफल पाउन नसकेको भन्दै लगानीकर्ता भने निराश छन्। नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले नेपालको पुँजीबजार १० प्रतिशतभन्दा बढ्न नसकेको दाबी गर्छन्। ‘कम्पनीको संख्या र कम्पनीको पुँजी बढेका कारण पुँजीकरण बढेको हो,’पौडेलले भने, ‘तर लगानीकर्ताले पाउने प्रतिफल बढेको छैन।’फिक्स डिपोजिटमा राखेबराबरको रिटर्न पनि लगानीकर्ताले पाउन नसकेको उनले बताए। ‘जिडिपीको आकार बढे पछि बजार पुँजीकरण बढ्ने नै भयो,’ पौडेलले भने, ‘जति बढ्नुपर्ने हो त्यति बढ्न सकेको छैन।’

लगानीकर्ताको भनाइमा नेप्सेका अधिकारी भने सहमत छैनन्। नेप्से इन्डेक्स गत वर्ष पनि १८०० बाट २२०० सम्म पुगेको थियो। बाठा लगानीकर्ताले १८०० मा इन्ट्री गरेर २१०० माथि पुगेपछि एक्जिट गरेर नाफा पनि कमाउन सक्छन्। ‘एकैपटक धेरै नाफाको अपेक्षा गर्दा पनि निराशा देखिएको हो,’नेप्सेका ती अधिकारीले भने, ‘समग्रमा नेपालको सेयर बजारमा धेरै सुधार भएको छ।’सोचेजस्तो नकमाए पनि चिन्ताजनक नभएको ती अधिकारीको भनाइ छ।

‘कम्पनीको संख्या र कम्पनीको पुँजी बढेका कारण पुँजीकरण बढेको हो,’पौडेलले भने, ‘तर लगानीकर्ताले पाउने प्रतिफल बढेको छैन।’

सेयर लगानीकर्ता निराश भए पनि उनीहरूले गत वर्ष नाफाबाट ५ अर्ब पुँजीगत लाभकर तिरेका छन्। यसले लगानीकर्ताले राम्रो नाफा गरेको देखिन्छ। पुँजी बजारमा उतारचढाव आइरहने भएकाले आत्तिन नहुने नेप्सेका सूचना अधिकारी पराजुलीले बताए। ‘सेयर बजारमा जोखिम वहन क्षमतालाई हेरेर मात्र लगानी गर्नुपर्छ,’पराजुलीले भने, ‘नाफा र नोक्सानीका लक्ष्य आफूले बेहोर्ने क्षमताअनुसार लगानी गर्नुपर्छ।’

नेपालको सेयर बजारमा अराजकता देखिएको नेप्सेका अधिकारीहरू बताउँछन्। ‘मेरो लगानी डुब्यो भनेर नेता तथा मन्त्रीको घरदैलोमा चहार्ने चलन विश्वमा कहीँ छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘लगानीकर्ताले आफू डुब्यौं भने पनि तथ्यांकले त्यो पुष्टि गर्दैन।’ नेप्से बढेर ३२ सयसम्म पुगेको सत्य भए पनि तलबाटै एक्कासि बढेर माथि पुगेकाले झर्ने सम्भावना पनि उत्तिकै हुन्छ भन्ने लगानीकर्ताले कहिले पनि भुल्न नहुने ती अधिकारीको भनाइ छ।

२०२१ मार्च ३ मा दोस्रो बजारमा प्रतिकित्ता सेयर मूल्य १ हजार ३०९ रूपैयाँ २४ पैसा रहेको नबिल बैंकको प्रतिसेयर मूल्य सोमबार ५९१ रूपैयाँ ५० पैसा मात्र छ। त्यसैगरी २०२१ फेब्रुअरी १६ तारिखमा दोस्रो बजारमा प्रतिकित्ता २ हजार ९६७.६९ पुगेको फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य सोमबार १ हजार २६८ रूपैयाँमा झरेको छ। लघुवित्त कम्पनीका सेयर मूल्यमा भारी गिरावट आएको छ। लघुवित्तविरुद्ध आन्दोलन भइरहनु यसको कारण भएको बताइन्छ।

नेप्से उच्च बिन्दुमा पुग्दा लगानी गरेका लगानीकर्ताले भने रकम गुमाएका छन्। त्यसले पनि अहिले निराशा देखिएको हो। न्यून प्रतिफल दिने, जोखिम वहन गर्न नसक्ने क्षमताका कम्पनीको सेयर घट्नु स्वाभाविक भए पनि केही राम्रो प्रतिफल दिन सक्ने क्षमता भएका कम्पनीको सेयर पनि घटेकाले लगानीकर्ता चिन्तित भएका हुन्।

सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १३६ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, ६ लगानी कम्पनी, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेको नेप्सेले जनाएको छ। २०७९ असारमा सूचीकृत कम्पनीहरूको संख्या २३४ थियो। सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १३.२ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४.४ प्रतिशत, होटेलको ३.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.४ प्रतिशत रहेको छ।  

२०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ७ अर्ब ३९ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २८ अर्ब ९५ करोड रूपैयाँ छ। आव २०७९-८० मा १ खर्ब ७९ अर्ब ८८ करोड रूपैयाँ बराबरको साधारण सेयर, १ खर्ब ५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र र ४० अर्ब ५९ करोड रूपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको थियो।

यसैगरी ३५ अर्ब ५९ करोड रूपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब १४ करोड रूपैयाँ बराबरको मुचुअल फन्ड, ४ अर्ब १३ करोड रूपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड ७९ लाख रूपैयाँ बराबरको फर्दर पब्लिक अफरिङ (एफपिओ) गरी कुल ३ खर्ब ७२ अर्ब ३८ करोड बराबरको धितोपत्र सूचीकृत भएको छ।

प्रकाशित: ५ भाद्र २०८० ०१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App