६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल रिपब्लिक मिडिया’ को सेयर पहिलो दिनमै ९.९८ प्रतिशतले बढ्यो

कारोबार सुरु भएकै दिन करिब १० प्रतिशतले बढेको

सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) कम्पनी सेयर कारोबार सुरु भएकै दिन करिब १० प्रतिशतले बढेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारदेखि कारोबारमा आएको ‘एनआरएम’को सेयर आइतबार ९.९८ प्रतिशतले बढेको हो। कम्पनीको सेयर सुरुआती चरणमा २५०.४० रूपैयाँमा कारोबार सुरु भएको थियो। आइतबार कारोबार बन्द हुँदा कम्पनीको सेयर बढेर २७५.४० रूपैयाँ पुगेको छ।

कम्पनीको ९६ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबारदेखि यसको दोस्रो बजारमा एनआरएमका नामबाट कारोबार भएको छ। कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता सेयर निष्कासन गरेको हो।

कम्पनीको आइपिओमा मागभन्दा ३.७ गुणा बढीको आवेदन परेको थियो। बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइपिओमा १२ लाख ९९ हजार ७ सय २७ जनाको आवेदन परेको थियो। त्यसमध्ये ६ हजार ९ सय २० जनाको आवेदन रद्द भएको थियो भने १२ लाख २७ हजार ५ सय ६९ जनाको आवेदन योग्य भएको थियो।

मागभन्दा बढीको आवेदन परेकाले कम्पनीको सेयर गोला प्रथाबाट बाँडफाँट गरिएको थियो। जसमार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र सेयर पाएका थिए। यीमध्ये भाग्यमानी १ जनाले ११ कित्ता सेयर पाएका छन्।

कम्पनीले जारी पुँजी ९६ करोड ७६ लाख रूपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रूपैयाँको बराबरको आइपिओ निष्कासन गरेको थियो। उक्तमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १ सय २० कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३०० कित्ता निष्कासन गरेको थियो। 

प्रकाशित: २२ श्रावण २०८० ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App